समाज

मिथिला माध्यमिकी परिक्रमा सुरु, प्रचण्डले बोके डोला (फोटो फिचर)

फागुन ११, २०७६

    जनकपुरधाम : धार्मिक तथा ऐतिहासिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ। मिथिला बिहारी नगरपालिका–८ कचुरस्थित मिथिला विहारी मन्दिरबाट नोपल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोला बोकेर उद्घाटन गरेका हुन्।

    प्रचण्डसँगे नेकपा नेतृ जुली महतो र साधुसन्तले डोला बोके। डोला बोक्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड हेलिकप्टरबाट आइपुगेका थिए। सोही हेलिकप्टरबाट मन्दिर क्षेत्रमा पुष्पवृष्टि गरिएको थियो। हजारौंको घुइँचोमा प्रचण्ड डोला बोकेर मन्दिरबाट निस्केपछि साधुसन्त तथा सर्वसधारण जयजयकार गरेका थिए।

    बाजाका साथमा भजन किर्तनसहित निस्केको मिथिला माध्यमिकी परिक्रमामा हजारौं साधुसन्त तथा सर्वसधारण सहभागी भएका छन्। मिथिला पञ्चकोशी परिक्रमामा सहभागी हुन भारतबाट समेत साधुसन्त आइपुगेका छन्। उनीहरु खाली खुट्टा नेपाल र भारतका १३३ किलोमिटर मिथिला परिक्रमा गर्छन्।
     
    सुख, समृद्धि र शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने विश्वाससाथ गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा गर्ने जनविश्वास छ । मिथिला महात्मअनुसार अठारौं शताब्दीदेखि माध्यमिकी परिक्रमाको रुपमा मनाइँदै आएको यस धर्मयात्राका सहयात्रीले भजन कीर्तन गरी १५ दिन बिताउने गर्छन् ।

    मिथिला विहारीको डोलाको नेतृत्वमा सुरु भएको परिक्रमाका यात्रु भारतको कलना, फुलहर, करुणा र नेपालको बिसौल मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुँदै धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् । 

    पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा पश्चात होली खेलेर १५ दिने यात्रा सम्पन्न गरिन्छ । धार्मिक एवम् पारस्परिक सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ र भारतमा दुई गरी १५ धार्मिक स्थलमा रात्रि विश्राम गर्ने गरिन्छ ।

    विद्यार्थीले प्रचण्डको स्वागत गर्न पाएनन्

    परिक्रमाको उद्घाटन गर्न आएका प्रचण्डलाई स्वागतका लागि लाइन लागेका विद्यार्थी र शिक्षकहरु स्वागत गर्न पाएनन्। स्वागत गर्न शिक्षकले हरेक विद्यार्थीको हातमा फूलको माला दिएर सडकमा सयौं छात्र–छात्रालाई उभ्याएको थियो। तर, प्रचण्ड आएपछि अत्यधिक घुइँचो लाग्यो । 

    जसका कारण ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले समेत प्रचण्डलाई मन्दिर पु¥याउन हम्मेहम्मे भएको थियो। नेकपाका नेता तथा कार्यकर्ताले मात्र उनलाई स्वागत गर्न भ्याए। 

    यहाँ आएर अत्यन्त खुसी लाग्यो : प्रचण्ड

    मिथिलाको पाग लगाएर हिन्दीमा संक्षिप्त मन्तव्य राखेका अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको परिक्रमाको उद्घाटन गर्ने मौका पाएर यहाँ आएपछि अत्यन्त खुःशी महसुस भएको बताएका छन्।

    उनले आफू प्रधानमन्त्री भएको बेला पनि परिक्रमामा पर्ने सडकहरु निर्माण गरेको र अगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले यहाँ धर्मशाला बनाइदिने उद्घोष समेत गरे। 

सन्तोष यादव

यादव थाहा खबरका धनुषा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]