समिक्षकले 'झुर' भने पनि सेन्टिभाइरसको आक्रमक सुरुवात

|

काठमाडौं :  लामो समय भयो, दर्शकहरुले नेपाली चलचित्रलाई दिल खोलेर माया गर्न नपाएको। उस्तै कथामा बनेका चलचित्र दोहोरिइरहेपछि दर्शकहरु केही समयदेखि निराश छन्। यही निराशाबीच शुक्रबारदेखि प्रदर्शनमा आएका दुई चलचित्र 'सेन्टी भाइरस' र 'आमा'लाई केही राहत मिलेको छ। 

निर्माताको कुरा पत्याउने हो भने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण सहयोगार्थ भन्दै प्रदर्शनमा आएको चलचित्र 'सेन्टी भाइरस'ले दर्शकको राम्रो माया पाइरहेको छ।

निर्माताहरुले यो चलचित्रले दुई दिनमा २ करोड भन्दा धेरै रकम कमाउन सफल भएको बताएका छन्। तर यो चलचित्रले चलचित्र समिक्षकबाट प्रशंसा पाउन भने असफल भएको छ।

रंगशाला निर्माण सहयोगार्थको कार्ड फालेर चलचित्र चलाउन भने निर्माताहरु सफल भएका छन्। चलचित्र चलाउनकै लागि यो हल्ला गरेको आरोप धुर्मुस-सुन्तलीलाई लागेको छ।

चलचित्र हेरेर रमाइलो नलागे पनि रंगशाला निर्माणका लागि टिकटमा लगानी गरिदिएको प्रतिक्रिया अहिले दर्शकहरुले सामाजिक सञ्जालमा दिइरहेका छन्। चलचित्र हेरेपछि एकजनाले फेसबुकमा लेखेका छन्, 'चलचित्रमा हुनुपर्ने गुण त केही छैन। रंगशालालाई सहयोगस्वरुप पैसा बुझाएर आइयो।'

रामबाबु गुरुङको निर्देशनमा रहेको चलचित्रमा सीताराम कट्टेल 'धुर्मुस' कुञ्जना घिमिरे 'सुन्तली', दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, सन्दीप क्षेत्रीलगायतको अभिनय छ। यो चलचित्र राजनितिलाई विषयवस्तुमा केन्द्रित छ। कुमार कट्टेल र दीपक आचार्यले ‘सेन्टी भाइरस’को कथा लेखेका हुन्।

हाँस्यजोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले पहिलोपटक निर्माण गरेको चलचित्रको आम्दानीको ५० प्रतिशत रकम भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा खर्चिने घोषणा गरेका छन्।

उनीहरुको यही घोषणाकै कारण चलचित्र चलेको चर्चा नेपाली बजारमा चलिरहेको छ। यो चलचित्र पनि अन्य कमेडी चलचित्र निर्माण गरेका नेपाली कलाकाहरुझैँ पुरानै धङधङीबाट माथि उठ्न नसकेको देखिन्छ।

कलालाई व्यापार बनाउनु राम्रै हो। रंगशाला निर्माण गर्ने भन्दै चलचित्र हिटको सूचीमा राख्ने निर्माताको यो  तरिकालाई भने दर्शकले पनि गजबकै भनेका छन्।

यसअघिका धेरै निर्माताले पनि सामाजिक काममा प्रयोग गर्ने भन्दै चलचित्र चलाउने कोसिस गरेका थिए। यो पनि त्यही सूचीमा थपिएको छ।

नाम नबताउने शर्तमा एकजना कलाकार भन्छन्, 'सामाजिक कर्म एक ठाउँ होला। तर कलाको व्यापार यसरी गर्न पनि सकिँदो रहेछ भन्‍ने नजिर चाहिँ गज्जबले बन्यो।'

अर्का सामाजिक संजाल फेसबुक प्रयोगकर्ता व्यंग्य गर्छन्, 'चलचित्र हेरियो। राम्रो भनौं मन मान्दैन। नराम्रो भनौं। अरु दर्शक हलमा पुग्दैनन, त्यहीकारण रंगशाला निर्माण ठप्प होला भन्‍ने डर भो। मलाई यो पापमा पर्नु छैन।'

अब 'आमा'का कुरा

यस्तै, शुक्रबारबाट प्रदर्शन आएको चलचित्र हो 'आमा'। निर्देशन/कथा/छायांकनको जिम्मा दीपेन्द्र के खनालको नाममा छ।  शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनीष निरौलासहितले अभिनय गरेका छन्।

गम्भीर विषय वस्तुको यो चलचित्रलाई दर्शकले मन पराएका छन्। यो चलचित्रले शुक्रवार मल्टिप्लेक्समा ६० प्रतिशत र सिंगल थिएटरमा ४५ प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको छ।

यस्तै शनिवार बिहानैदेखि देशभरका चलचित्र घरमा हाउसफुलको भएको थियो।  चलचित्रमा आमा र छोरीको भावनात्मक सम्बन्धको कथा बोलेको छ। चलचित्रले दर्शक र समिक्षकको राम्रो प्रतिक्रिया पाएको छ।

तर चलचित्र रिलिज हुनुभन्दा पहिले फिल्को विज्ञापन गज्जबको देखियो। पात्रलाई न्याय गर्न भन्दै नायिका सुरक्षा पन्तले अधिकांश अन्तर्वार्तामा आफुले कपाल मुण्डन गरेको प्रसंग ल्याइन्। उनले हरेक अन्तर्वार्तामा कपाल मुण्डनको कुरालाई चलचित्र प्रचारकै माध्यम बनाइन्। 

नेपाली समाजमा महिलाको कपाल मुण्डन गर्ने संस्कार छैन। भूमिकालाई न्याय दिन भन्दै फालिएको कपाललाई पन्तले चलचित्र चलाउने फण्डा बनाएकी थिइन्।

चलचित्र चल्दै गर्दा पन्तलाई लागेको हुँदो हो, 'चलचित्र चल्न कथा गज्जबको हुनुपर्ने रहेछ। आफूले कपाल मुण्डन गरेको प्रसंग निकालेर दर्शकलाई भावुक बनाउने काम मात्र गरेछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.