|

पाँचथर : प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागि परेको बताएका छन्।

पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

उनले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए। आफूले झण्डै ५० वर्षअघि  यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताए। 'हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो', प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटर बाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताए।

ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताए। 'विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुरासँग जनताको सुख सुविधा जोडिएको छ', प्रधानमन्त्री ओलीले भने, 'यिनै कुरामा हाम्रो ध्यान गएको छ।' 

उनले यहाँ महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गरे। प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताए।

प्रधानमन्त्री ओलीले सुख सुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गरे। 'उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिस आउँछन्', प्रधानमन्त्री ओलीले भने, 'तपाईंले त्यस खालको वातावरण निर्माण गर्नुहोस्।'

त्यस अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उनको ६९ औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए। शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे।

उनले आफ्नो उपचारमा सहयोग गर्ने डा रमेशसिंह भण्डारी, डा दिलीप शर्मालगायतलाई धन्यवाद ज्ञापन गर्दै सहभागीमाँझ परिचय गराएका थिए। 

कार्यक्रममा खानेपानीमन्त्री बीना मगरले मुलुकभर खानेपानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै समृद्धिका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रयत्‍नशील रहेको उल्लेख गरे।

'खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले यसको सही व्यवस्थापनलाई पहिलो खुड्किलोका रुपमा लिएका छौँ”, मन्त्री मगरले भनिन्, 'ठूला खानेपानी आयोजनाहरुलाई सफल बनाउन विशेष ध्यान दिएका छौँ।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.