|

ललितपुर : खोकनाका न्वाच्छुमाया महर्जन खोकनाबस्तीको गल्लीमा सुकुल बुन्दै थिइन। उनले बुनेको सुकुल हेर्न भीडभाड उत्तिकै थियो। उनको वरिपरी बजेको बाजागाजाको माहोललाई बिर्सेर पर्यटक उनको कलात्मक सीपलाई नियालिरहेका थिए। ६८ वर्षीय महर्जन नेवारी भेषमा सजिएकाले झनै पर्यटक उनीप्रति झुम्मिएका देखिन्थे।

उनले खोकना पर्यटन महोत्वसको अन्तिम दिन अर्थात् आइतबार सुकुल बुनेर नेवारी कलालाई पर्यटकमाझ देखाएकी हुन्। उनले मुस्कुराउदै भनिन,‘सुकुल बुनेको तीन दिन भयो। महोत्वसमा आउने पर्यटकलाई परम्परागत कला देखाउन सुकुल बुनेकी हुँ। आफ्नो कला सबैलाई देखाउँन पाउँदा धेरै खुशी भएकी छुँ।’

अहिलेका पुस्ताले सुकुल बुन्‍न कलालाई सिक्न नखोजेकोमा दुखेसो व्यक्त गर्दे उनले थप्छिन्, ‘सानो छँदाबाटै मेलै सुकुल बुन्‍न सिकेको थिएँ। पछि जानेपछि सुकुल बुन्दै गएँ। अहिलेसम्म धेरै बुनिसकेको छु। यो परम्परागत सीप हो। अहिलेका युवतीले सिक्न खोज्दैनन्। हामी नरहेपछि यी परम्परागत सीप पनि हराउँछ होला?’ उनका अनुसार मकैको खोस्टाबाट सुकुल बुनिन्छ। पाहुनालाई धेरै सहज हुन्छ। तर, संरक्षण हुन नसक्दा यो पनि अहिले लोप हुँदै गएको छ। 

महोत्वसमा परम्परागत नेवा संस्कृति र कला 

खोकना पर्यटन महोत्सव फागुन ९ गतेबाट सञ्चालन भई आज अन्तिम महोत्सव हो। महोत्सवमा नेवारी परिकारहरू बनाइएका छन्। खोकनाको गल्लीहरूमा ऐतिहासिक मुकुन्डो,ढकी (खोस्ता), थो सोमा (रक्सी थाप्ने भाडो), सिँ फ (पाथी) लगायत सामग्री नेवा संग्रहालय बनाइ सजाइएका छन्। कलात्मक घरका भित्ताहरूमा ऐतिहासिक पूराना तस्बिरहरू टासिएका छन्।

महोत्सवभित्र छिर्ने प्रवेशद्वारमा विभिन्‍न नेवारी कलात्मक आकृतिहरू सजाइएका छन्। कोही नेवारी भेषमा भजन गाउँदै छन्। कोही नेवारी भेषमै धान कुटेर चिउरा बनाउन व्यस्त छन्। यी दृश्यले महोत्सवमा पुग्‍ने जो कोही मग्नमुग्ध हुन्छ नै। महोत्सव हेर्न आउने पर्यटक नेवारी कलात्मक संस्कृतिले मन लोभ्याएको बताउँछन्। 

ललितपुरको ठेचोगाउँबाट महोत्सवमा आएका तुलसी गोविन्द डंगोलले महोत्सवमा परम्परागत नेवारी संस्कृति देख्न पाउँदा खुसी लागेको बताए। ‘खोकनामा पुरानो संस्कृति अझै रहेको छ, ’उनले भने, ‘ती संस्कृति हेर्नकै लागि म आएको हुँ। ऐतिहासिक महोत्सवमा घुम्‍न पाउँदा साह्रै भाग्यमानी ठानेको छु। यस्ता परम्परागत संस्कृति सधै बचाइराख्नुपर्छ।’

खोकना पर्यटन महोत्सव मूल समारोह समितिका सदस्य विनोद श्रेष्ठले खोकनाका नेवारी परम्परागत संस्कृति अहिले सम्म संरक्षण गर्दे आएको सन्देश सबैमा जानकारी पुर्‍याउन खोकना पर्यटन महोत्सवको आयोजना गरेको बताए।

‘२०७२ सालको भूकम्पले खोकना पूर्णरूपमा क्षति भएको थियो, ’उनले भने, ‘तै पनि हामीले आफ्नो संस्कृति जगेर्ना गर्न उद्देश्यले घर भत्किँदा पनि पूराना कलात्मक सामग्री बचायौँ। जतनका साथ राख्यौँ। ती सामग्री सबैमाझ देखाउँन महोत्सव राखेका हौँ।’

उनका अनुसार पहिले पनि खोकना महोत्सव हुन्थ्यो। अहिले भने करिब १२ वर्षपछि खोकना पर्यटन महोत्सव भएको हो। उनले भने, ‘महोत्सवमा पर्यटकले टिपिकल नेवारी परम्परागत, सामग्री, लवाइख्वाई हेर्न पाउँने छन्। नेवारी भजनहरू गाएर सुनाइन्छ। नेवारी परिकार खान पाउँछन।’

‘फाष्ट ट्रयाक खोकनामा नछोए संस्कृति बच्थ्यौँ’

सदस्य एवं स्थानीय श्रेष्ठले सरकारले बनाउन लागेको फाष्ट ट्रयाक खोकनामा नछोई अरू ठाउँमा लगेको भए सम्पदा र संस्कृति नमासिने बताए। ‘काठमाडौं उपत्यकाको दक्षिणी भेगमा अवस्थित खोकना एक विशुद्ध नेवारी परम्पराद्वारा सुसज्जित ऐतिहासिक एंव सांस्कृतिक नेवार बस्ती हो,’ उनले भने, ‘सरकारले परियोजना ल्याउन स्वाभाविक हो। हामी फाष्ट ट्रयाक विरोधी होइनौँ। तर, हाम्रो संस्कृति मास्ने खालका योजना ल्याइयो। किन नेवारी कला संस्कृति मास्नलाई मात्रै फाष्ट ट्रयाक,करिडोर योजना ल्याउनु पर्ने?’ 

सरकारले नेवारी जात्रा,पर्व,कला र संस्कृति बचाउनको साटो उल्टै यस्ता विभिन्न परियोजना ल्याएर मास्न खोज्दा खोकनाबासी दुखीत् भएको गुनासो गरे। ‘हामी नेपालको पर्यटनलाई बचाउन लागि परेका छौँ। प्रवद्र्धन गर्न ऐतिहासिक मठमन्दिर संरक्षणमा जुटिरहेका छौँ। तर, सरकारले बुझेको छैन,’ उनले थपे।

फोटो : शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.