|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुलप्रसाद बाँस्कोटाको अडिओकाण्डले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा कति लिप्त छ? भन्ने कुरा पुष्टि भएको स्पष्ट पारेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महतले वर्तमान सरकारको भ्रष्टाचारबारे बाँस्कोटाको टेप प्रकरण त सानो इपिसोड मात्रै भएको टिप्पणी गरे।

उनले भने, ‘यो सरकारको अरू धेरै काण्डहरू छन्। अहिले एकपछि अर्को काण्ड बाहिरिएसँगै नेपाली जनताले पनि अब त भूल गरिएछ भनेर सोच्न थालेका छन्। सरकारले जनतालाई नारा मात्रै देखाएको रहेछ भन्ने कुरा अहिले आएर पुष्टि भयो।’

उनले वर्तमान सरकार फोरजी काण्ड, यति काण्डदेखि अनेकौं काण्डमा फसेको आरोप लगाए। उनले भने, ‘गोकुल बाँस्कोटालाई माथिबाट निर्देशन र संरक्षण भएको छ। यो प्रकरणमा गम्भीर छानबिन हुनुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जवाफ दिनुपर्छ। हामीले यो प्रकरणमा विरोध गरिरहेका छौँ। प्रधानमन्त्रीले यो प्रकरणमा मात्रै होइन, सबै भ्रष्टाचारका काण्डबारे संसदमा स्पष्ट जवाफ दिनुपर्छ। समग्र काण्डमा निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ।’

बाँस्कोटाको बारेमा प्रधानमन्त्रीले तुलोको एकातिर गोकुल र अर्कोतिर सबै राख्दापनि गोकुल नै भारी हुने भनेर बोलेको कुराबाट पनि भ्रष्टाचारमा गोकुल एक्लैको हात नभएको उनको टिप्पणी छ। उनले भने, ‘अहिले त प्रधानमन्त्रीलाई आफ्नो बोली आफैंलाई भारी भएको छ। यो सरकार काम चाहीँ उल्टो उल्टो गरिरहेको छ। कामभन्दा बढि गफ गरिरहेको छ।’

महतले एमसिसी नेपालको हितमा रहेको बताउँदै यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने आफूहरूको भनाइ रहेको सुनाए। अमेरिकी सहयोग एमसिसीमार्फत नेपालमा आउने सहयोग अनुदान भएको सुनाउँदै यो नेपालले प्राथमिकता गरेको क्षेत्रमा खर्च हुने महतको भनाइ राखे।

उनले एमसीसीको अनुदानले नेपालको प्रशारण लाईनमा ठूलो टेवा पुग्ने विश्वास दिलाए। उनले एमसीसीको बारेमा अनावश्यक विरोध गर्न नहुने धारणा राखे। उनले एमसीसीमा कुनैपनि कुरा आपत्तिजनक नभएको जिकिर गरे। उनले भने, ‘यसलाई संशोधन गर्नुपर्छ भन्ने हामीलाई लाग्दैन्। हामीले त्यो अनुदान सहयोगलाई सदुपयोग गर्नुपर्छ। यसमा पारदर्शीता अपनाउनुपर्छ।’

विगतमा अरुण तेस्रो विद्युत परियोजना तुहाइएको जस्तै एमसीसी पनि गुमाउने खतरा आएको उनको भनाइ छ। उनले अहिले एमसीसी तुहाउने प्रपञ्च भइरहेको गम्भीर आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.