घटनाले लियो राजनीतिक रुप, कांग्रेस-समाजवादी टकराव

|

बारा : बाराको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादव एकपछि अर्को विवादमा मुछिँदै आएका छन्। महागढीमाई-२ मैनी टोलमा नाला निर्माणको विषयमा प्रतिक्रिया लिएको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि आक्रोशित नगर प्रमुख यादवले एकपछि अर्को उपद्रो गरिरहेका छन्।

गाउँमा निर्माणाधीन नालाबारे स्थानीय मुकेश महतोले गत सोमबार आफ्नो फेसबुकमा पोष्ट गरेको निहुँमा उनका बाबु हरेन्द्र महतो कोइरीलाई नगर प्रमुखले नगर प्रहरी लगाएर शौचालयमा थुनिदिए।

पटक-पटक ध्यानाकर्षण गराउँदै आएको मुकेशले अनुगमनमा पुगेका नगर प्रमुख यादवलाई मोबाइलको क्यामराबाट भिडियो खिच्दै प्रतिक्रिया लिएका थिए।

सातादेखि तनाव

भिडियो सार्वजनिक भएपछि आक्रोशित बनेका नगर प्रमुख यादवले भिडियो पोष्ट गर्ने युवकका बुवा कोइरीमाथि कुटपिट र दुर्व्यवहारपछि महागढीमाई नगरपालिकामा दुई पक्षबीच एक सातादेखि तनाव छ।

भिडियो पोष्ट गरेको आरोपमा कोइरीका छोरा मुकेश कुवाहमाथि पनि कुटपिटपछि नगरमा दुई पक्षबीचको तनाव थप बढेको हो। कोइरीले भेदभाव तथा अपमानजन्य कसुरमा नगर प्रमुख यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएपछि मुकेशमाथि गत बिहीबार सांघातिक आक्रमण भएको थियो।

नगर प्रमुख यादवका मान्छेको कुटपिटबाट गम्भीर घाइते उनको काठमाडौं उपचार भइरहेको छ। घटनामा उनका गाडी चालक  साहेबप्रसाद यादव, स्वकीय सचिव साजन गुप्ता, सुचेन्द्र बैठा, धीरेन्द्र लहेरालगायत पनि घाइते बनेको बताइएको छ।

घटनाले राजनीतिक रुप लिँदै

नेपाली कांग्रेस पार्टीबाट यादव नगर प्रमुख निर्वाचित भएका हुन्। भिडियो सार्वजनिक गर्ने युवक समाजवादी पार्टी नेपालनिकट समाजवादी युवा संघका केन्द्रीय उपमहासचिव हुन्। दुवै पक्षका कार्यकर्ता र समर्थक प्रदर्शन र झडपमा उत्रिन थालेपछि घटनाले राजनीतिक रूप लिन थालेको अनुमान छ।

दुईबीच जारी विवाद र सम्भावित झडपका घटनाबारे प्रहरी सचेत रहेको उपरीक्षक कृष्ण पंगेनीले बताए। उनले घटनालाई प्रहरीले नजिकबाट नियाली रहेको र दुवै पक्षलाई सयमित हुँदै आपसी समझदारीबाट निकास खोज्न आग्रह पनि गरेको जनाए।

दुवै पक्षविरुद्ध उजुरी

घटनापछि एउटाले अर्को पक्षलाई विपक्षी बनाएर प्रहरीमा जाहेरी दिएका छन भने कारवाहीको माग गर्दै प्रर्दशन र जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन जाने क्रम दिनहुँ जसो भइरहेको छ। 

मुकेशले नगर प्रमुख यादवका मान्छेविरुद्ध ज्यानमार्ने उद्योगमा र नगर प्रमुख यादवले पनि उनीमाथि अभद्र व्यवहारसम्बन्धी र नगर प्रमुखका मान्छेले ज्यान मार्ने उद्योगमा अर्को जाहेरी पनि दिएका छन्। मुकेशलाई कुटपिट गरेको आरोपमा आइतबार प्रहरीले नगर प्रमुखका सहयोगी सुचेन्द्र बैठालाई पक्राउ गरेको छ।

यता, नेपाली कांग्रेस पार्टी जिल्ला सभापति भोला चौरसियासहितको टोलीले सदरमुकाममा प्रदर्शन गर्दै प्रहरी कार्यालयमा पुगेर अर्को पक्षका मान्छेलाई पनि तत्काल पक्राउ गर्न उपरीक्षक पङ्गेनीलाई दवाव दिएको छ।

यसअघि नगर प्रमुख यादवमाथि पनि कार्वाही हुनुपर्ने माग गर्दै बरियारबाट आएका सर्वसाधारणले जिल्ला प्रशासन कार्यालय अगाडि यसअघि शुक्रबार प्रदर्शन गरेका थिए।

नगर प्रमुखविरुद्ध कार्वाही अघि बढेन

नगर प्रमुख यादवविरुद्ध मुकेशले ज्यानमार्ने उद्योगमा र यादवले पनि उनीमाथि अभद्र व्यवहारसम्बन्धी परेको जाहेरीमा प्रहरीले अहिलेसम्म कुनै कार्वाही अघि बढाएको छैन। जनप्रतिनिधि तथा स्थानीय अगुवासँग बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले शुक्रबार छलफल गरेका थिए।

प्रमुख जिल्ला अधिकारी पोखरेलले मुकेश कुशवाहामाथि आक्रमण गर्नेको पहिचान गरी कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए।

घटनाको छानबिन गरी कारवाही प्रक्रिया अघि बढाउन प्रजिअ पोखरेलले प्रहरी उपरीक्षक पंगेनीलाई निर्देशन दिएको तीन दिनपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

नगरपालिकामा कार्यरत सचेन्द्र बैठा पक्राउ परेको प्रहरी उपरीक्षक पँगेनीले जानकारी दिए। उनका अनुसार आठजनाविरुद्ध किटानी जाहेरी परेको छ। प्रहरीले नगर प्रमुख यादवविरुद्ध उजुरी दर्ता गरेको छैन।

प्रमुख जिल्ला अधिकारी पोखरेल भने शुक्रबार नै राजधानी लागेका छन्। शुक्रबार छलफल काठमाडौं गएको प्रमुख जिल्ला अधिकारी पोखरेलले टेलिफोनमा भने, 'अहिले म अपडेट छैन।'

नगर प्रमुखको राजीनामा माग

बाराको महागढीमाई नगरपालिकाका स्थानीयले नगर प्रमुख यादवको राजीनामाको माग गरेका छन्। छोराले विकासको सवालमा प्रश्‍न गर्दा बुबालाई शौचालयमा थुन्ने नगर प्रमुखलाई कार्वाहीको माग गर्दै बाराको कलैयामा बरियारपुरका स्थानीयले प्रदर्शन गरेका थिए।

बारा क्षेत्र नं. ३ का सांसद रामबाबुकुमार यादव, क्षेत्र नं. २ को सांसद रामसहाय यादव, प्रदेशसभा सदस्य बच्चा यादव, शारदाशंकर साह, बच्चा यादव राजपा नेता तथा गढीमाई मन्दिर तथा संचालक समितिका अध्यक्ष रामचन्द्र साह, उपाध्यक्ष बिसनाथ कुशवाहा, कोषाध्यक्ष महेश जयसवाल नेकपाका प्रदेश २ का सदस्य जितेन्द्र तिवारीलगायत नेताहरूले प्रदशर्नमा ऐक्यबद्धता जनाउँदै अभद्र व्यवहार गर्ने नगर प्रमुख र कुटपिटमा संलग्नमाथि कार्वाहीको माग गरेका छन्।

अझै तनाव हुन्छ : नगर प्रमुख

कार्यकर्ताबीचको सामान्य झगडालाई सत्ताको आडमा प्रहरीले मुद्दा दर्ता गरेको नगर प्रमुख यादवको आरोप छ। उनले मुकेशलाई के भएको छ? सिभिल अस्पतालमा उपचार गरेको भए अवस्था नबुझी प्रहरीले आठजनाविरुद्ध ज्यान मुद्दा दर्ता गरेकोमा आपत्ति जनाए।

कर्मचारीलाई निर्घात कुटिएको पनि उनले बताए। घटनाले अझै तनाव हुने प्रतिक्रिया उनले दिएका छन्। प्रशासनले यो प्रकरण सामान्य बनाउनेभन्दा बढाउने काम गरेको आरोप उनले लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.