|

सोलुखुम्बु : उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ। पाइलट गुन्जमान लामाको नेतृत्वमा गठित ३ सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिए।

छानबिन समितिका संयोजक लामा सहित सदस्य एरोनोटिकल प्राविधिक रिकेश पन्त, कैलाश एयरका सेफ्टी म्यानेजर बरुण ज्ञावाली, प्रहरी प्रमुख प्रहरी नावय उपरीक्षक टेकुनन्द इवा लिम्बू, लुक्ला विमानस्थल प्रमुख इमनाथ अधिकारी, फाप्लु बिमानस्थलका प्रमुख प्रकाश शर्मासहितको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको हो।

तेञ्जिङ हिलारी बिमानस्थल लुक्लाका प्रमुख अधिकारीका अनुसार काठमाडौंबाट हवाइजहाजमार्फत लुक्ला आएको टोलीले घटनास्थल पुग्न कैलास एयरकै हेलिकोप्टर प्रयोग गरेको थियो।

घना जंगल भएकाले हेलिकोप्टर ल्याण्ड गर्ने ठाउँ नभएकाले अकाशबाटै जस्तापाता झरेको स्थानको अवलोकन गरेको टोली पुनः लुक्ला फर्केर बसेको छ। टोली भोलि काठमाडौं फर्केर केही दिनमा प्रतिवेदन बुझाउने नेपाल नागरिक उड्डयन प्रधिकरणका प्रबक्ता राजकुमार क्षेत्रले जानकारी दिए।

घटनाको विषयमा आफूहरू गम्भीर भएको भन्दै उनले प्रतिवेदनका आधारमा प्राधिकरणले थप निर्णय गर्ने बताए। बारम्बार यस्ता घटना घट्नुले हवाई उडानको समयमा असुरक्षित महशुस भएको स्थानीयको भनाई छ। शनिबार सोलुदुधकुण्ड नगरपालिका १ को टाक्सिन्दुबाट खुम्बु पासाङ ल्हमु गाउँपालिका ४ दिङ्बोचेको लागि डोरीमा झुण्ड्याएर निर्माणका सामग्री लाँदै गर्दा केही मिनेट पछि लुङ्दिङ जंगलमा झरेको थियो।

तर यस बिषयमा कैलाश एयर प्रालिका अपरेशन म्यानेजर प्रतापजंग पाण्डले भने कम्जोरीको बचाउ गर्न खोज्दै आफूलाई केही पनि जानकारी नभएको जवाफ दिए। उनले नेपाल बाहिर रहेको भन्दै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर उपलब्ध गराउने भने पनि अन्तिममा फोन समेत रिसिभ गरेनन्।

उडिरहेको हेलिकोप्टरबाट किन झर्छ बारम्बार सामग्री?

कैलाश एयरको हेलिकोप्टरले सामान झार्दै उडेको यो पहिलो घटना होइन। यस अघि गत भदौ १९ गते पनि सोही एयरको हेलिकोप्टरले सोलुदुधकुण्ड नगरपालिका २ फेरामा सिरकको पोकोसहितको सामग्री झारेको थियो। यस विषयमा नियमनकारी निकाय मौन बस्यो।

विभिन्न सञ्चार माध्यममा नियमविपरित हेलिकोप्टर कम्पनीको उडान शीर्षकमा समचार प्रकाशन प्रशारण भएको भए पनि निमयनकारी निकायले कुनै कदम चालेन।

स्थानीय प्रशासनको समन्वयमा सुरक्षा ग्यारेण्टी गरी उडान भर्नु पर्ने हेलिकोप्टरले हाल सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुको एकान्त ठाउँबाट सेवा प्रवाह गरिरहेको छ। यहाँ न त नागरिक उड्डयन प्राधिकरणका कर्मचारी नै पुग्छन् न त प्रहरी प्रशासन नै? त्यसैले के कति कसरी काम भइरहेको यहाँका प्रशासनलाई थाहा हुने कुरा पनि भएन।

टाक्सिन्दु पुग्नु भएका सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकनन्द इवा लिम्बूले अव्यवस्थित ढंगबाट कार्गो ढुवानी भएको पाइएको बताए। प्रहरी प्रमुख लिम्बूका अनुसार कार्गो ढुवानमा प्रयोग गरिने जाली च्यातिएपछि सामग्री खसेको हो। घटनालाई सामान्य रुपमा लिन नहुने भन्दै उनले तत्कालको लागि टाक्सिन्दुको प्रहरीले अनिवार्य रुपमा नगरानी राख्ने बताए।

प्रहरीले चेकजाँच नगरी कार्गो ढुवानी गर्न नपाउने व्यवस्था गर्न सकिने उनको भनाई छ। 'छानबिन समितिको रिपोर्ट केही दिनमा आउँला। त्यो कस्तो आउँछ हेर्न बाँकी छ' प्रहरी प्रमुख लिम्बूले भने, 'नागरिक उड्डयनको पाटोबाट गर्ने एउटा होला हाम्रो तर्फबाट तत्काल सुरक्षा समितिको बैठक बसेर निर्णय गर्छौ।' 

सानो ठाउँमा निर्माणका सामग्री त्यही फ्युल पनि त्यही एक दमै अव्यवस्थित ढंगबाट कार्गो ढुवानी भएकाले एयरपोर्टबाटै ढुवानी गराउँद सहज हुने बताइएको छ।मनोमानी ढंगबाट जथाभावी उडान तथा अवतरण गर्दा गैह्रकानुनी गतिविधि बढ्ने स्थानीयको भनाई छ।

प्राधिकरण र मन्त्रालयबाट जारी गरिने उडान अनुमतिमा कुन, कुन  वस्तु कुन क्षेत्र दैनिक कति पटक गर्न पाउने स्पष्ट खुलाएको हुन्छ। तर नागरिक उड्डयन प्राधिकरण र स्थानीय प्रशासनको उपस्थिति बिना गरिने ढुवानीले नियमको पालना नगरेको स्पष्ट हुने श्रोतको भनाई छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.