|

बारा : बाराका विभिन्न स्थानीय तहमा लगाइएको हिउँदे हाइब्रिड मकैमा दाना नलाग्ने समस्या देखिएको छ। सयौं किसानले हजारौं हेक्टरभन्दा बढी क्षेत्रमा लगाएको मकैमा दाना नलागेको हो। 

घोगामा लाग्नुपर्नेमा बोटको टुप्पा धानजमरा मा दाना लागेपछि किसान अचम्मित भएका छन्। ‘जमरामा साना घोगाजस्तोमा दाना लागेको छ,’ जितपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वाका दिनेश गिरीले भने‚‘यसरी जमरामा दाना लागेको पहिलो पटक देखियो।’ 

जितपुरसिमरा, कलैया उपमहानगरपालिका, करैयामाई, कोल्हबीलगायतका विभिन्न स्थानमा लगाइएको मकैमा घोगा नलागेको हो। जितपुरसिमरा–१८ मा मात्रै २०० हेक्टरभन्दा  बढी क्षेत्रफलमा लगाइएको मकैमा यस्तो समस्या पाइएको छ।

ऋणको चिन्तामा किसान

ऋण गरेर महँगो मूल्य तिरेर लगाएको मकैमा दाना नलागेपछि किसानहरु चिन्तित भएका छन्। चन्दन, श्रेष्ठ, सिपीलगायत जातका मकैमा दाना नलागेको हो। दाना नलागेपछि बोट काटेर गाईवस्तुलाई घाँस हाल्न थालेका छन्।

दुःख गरेर लगाएको बालीमा फल नलाग्दा धेरै किसानको लगानी खेर गएको र मल, विउ खरिदको लागि साहुसँग काढेको ऋण अब कसरी  चुक्ता गर्ने होला भनेर चिन्ता थपिएको किसान गिरीले सुनाए।

तथ्याङ्क संकलन सुरु

मकैमा दाना नलागेपछि कृषि ज्ञान केन्द्र बाराले तथ्यांक संकलन सुरु गरेको छ। कार्यालयका अधिकृत राजवशी चौरसिया र कृषिविज्ञ गेनालाल प्रसाद मण्डलको टोली निरीक्षणमा खटिएको छ। 

प्राविधिक टोलीले शुक्रबारदेखि खेतमा पुगेर निरीक्षण गरिरहेको ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले बताए। उनका अनुसार ३५० बिघा क्षेत्रफलमा लगाइएको मकै बालीमा यस्तो समस्या देखिएको छ। बारामा ६ हजार हेक्टरमा हिउँदे मकै बाली हुँदै आएको छ।

मकैमा दाना नलाग्नुको कारण अझैं पत्ता लागेको छैन। एक साताभित्र प्राविधक टोली बारा आउने प्रमुख यादवले जानकारी दिए। बिउविजन गुण नियन्त्रणअन्तर्गतका संघ र प्रदेशका प्राविधिक टोलीसहित नेपाल कृषि अनुसन्धान परिषदका प्राविधिक टोली आएर अनुसन्धान गर्ने उनले जानकारी दिए।

तापक्रम अनुकूल भएन

तापक्रम अनुकूल नहुँदा मकैमा समस्या आएको प्राविधिकले प्रारम्भिक अनुमान गरेका छन्। ‘फूल फुल्ने बेलामा १५ डिग्रीभन्दा बढी तापक्रम आवश्यक हुन्छ,’ प्रमुख यादवले भने‚‘तापक्रम कम भएर पोलेन मरेपछि परागसेचन हुन नपाएर मकैमा दाना लाग्न सकेन।’

कात्तिक १५ देखि मंसिर अन्तिमसम्म रोप्नुपर्ने मकै समयभन्दा अगावै लगाएकाले यस्तो समस्या आएको हुन सक्ने उनको भनाइ छ। 

बाराका किसानले असोजमा धान काटेलगतै मकै लगाउँदै आएका छन्। त्यतिबेला मौसम चिसो हुने र बालीमा यसरी फल नलाग्ने समस्या आउन सक्ने कृषि प्रसार अधिकृत चौरसियालेल बताए। विशेष गरी चन्दन, श्रेष्ठा, सिपि, ३१२२, विराट ९२, सुपर ९५१ लगायतका मकैको जातमा धानजमरामा दाना लागेको पाइएको छ।

क्षतिपूर्ति माग

मकैको घोगामा दाना नलागेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन्। सरकारले पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुले बताएका छन्। किसानले प्रतिकिलो १५० रुपैयाँभन्दा बढीमा बिउ खरिद गरेर मकै लगाएका थिए।

सरकारले जभाभावी बिउ बेच्ने अनुमति दिएका कारण आफूहरुले नोक्सानी ब्यहोर्नु परेको किसानहरुको भनाइ छ। नौ वर्षअघि पनि मकैमा दाना नलागेपछि किसानहरु क्षतिपूर्तिका लागि आन्दोलनमा उत्रिएका थिए। यस्तै‚ दुई वर्षअघि उन्नत जातको मकैमा दाना नलागेपछि किसानले आन्दोलन गरेपछि सरकारले मलखाद, बिषादी, धानको बिउ र मालपोत मिनाहाका लागि १३ करोड रुपैयाँ क्षतिपूर्तिको ब्यवस्था गरेको थियो।

बारामा तीन सिजन मकै खेती हुँदै आएको छ। १३ देखि १५ हजार हेक्टर जमिनमा किसानहरुले हिउँद, बर्षा र वसन्त ऋतुमा मकै खेती गर्दै आएको छन्। बारामा प्रतिहेक्टर १० मेट्रिकटन मकै उत्पादन हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.