जाजरकोट : दुर्गम गाउँमा उत्पादन गरिएको अन्नले ठूला सहरमा महत्व पाउन थालेको छ। स्थानीयले उत्पादन गरेको अर्गानिक खाद्यान्नले नेपालगन्ज, सर्खेत र काठमाडौंसम्म माग बढेको हो।
कुशे गाउँपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाबाट एक वर्षको अवधिमा करिब एक करोड रुपैयाँको मकै निर्यात भएको पाइएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार मकै, कोदो, भटमासलगायत अन्नको माग नेपालगन्ज, काठमाडौंलगायत ठाउँमा अत्यधिक माग बढेको छ। कुशे, नलगाड, जुनीचाँदे र छेडागाड नगरपालिकामा सबैभन्दा बढी मकै उत्पादन हुने गर्दछ।
एक वर्षको अवधिमा करिब एक करोडको मकै र करिब ५० लाख रुपैयाँको अन्य कृषिजन्य उत्पादन जिल्लाबाहिर निर्यात गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्रै एक करोड रुपैयाँको उत्पादन जिल्लाबाहिर गएको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ।
स्थानीय जातको मकै, कोदो, भटमास, सिमी, रातो चामललगायत अर्गानिक अन्नको माग सहरमा बढेको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले ताए। मधुमेहलगायत रोगका बिरामीले रोटी, च्याँख्ला, भात, ढिँडोलगायत परिकार खानका लागि अर्गानिक मकै र कोदो खोज्ने गरेका छन्।
काठमाडौंका बासिन्दाले पहाडको अर्गानिक मकै, रातो चामल र कोदोको माग कोसेलीको रूपमा पठाउन आफन्तलाई आग्रह गर्ने गरेको उनको भनाइ छ। खत्रीका अनुसार सहरका ठूला होटल र रेष्टुरेण्टमा भटमास र सिमी खपत हुने क्रम पनि बढिरहेको छ। गाउँमा उत्पादन गरेको अन्न बाहिर पठाउन लागेपछि कृषकको अर्थ उपार्जनमा समेत सहयोग पुगेको छ।
जिल्लाबाट नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा पठाइने मकै बोइलर कुखुराको दानामा पनि प्रयोग हुने गरेको छ। ओलीले यस वर्ष एक सय ३० मेट्रिक टन मकै, १५ मेट्रिक टन भटमास र १५ मेट्रिक टन कोदो नेपालगन्ज पठाइसकेको कृषि कार्यालयले जनाएको छ। स्थानीय बजारमा मकै ३५, कोदो ३८ र भटमास ७८ रुपैयाँ प्रतिकिलोमा खरिद बिक्री भइरहेको छ। जिल्लाका दुर्गम क्षेत्रमा २८ रुपैयाँ प्रतिकिलोमा मकै खरिद हुने गरेको छ।
जिल्लामा उत्पादन हुने रातो चामलको माग पनि बढिरहेको छ। यहाँको रातो चामल प्रतिकिलो तीन सय रुपैयाँमा नेपालगन्ज र काठमाडौंमा बिक्री हुने गरेको छ। तर, यातायातको असुविधाका कारण बारेकोट गाउँपालिकामा उत्पादन हुने अर्गानिक अन्नले बजार पाउन सकेको छैन। कुशे गाउँपालिकाबाट सबैभन्दा बढी मकै जिल्लाबाहिर गएको कृषि कार्यालयको तथ्यांक छ। कुशेको चाल्ना, जिन्ताला, चौराटा, पैक, लाता कफल्लालगायत ठाउँको मकै रोटी र ढिडोका लागि प्रख्यात मानिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।