|

धनकुटा : धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको कार्यालयमा लागेको अनिश्चितकालीन तालाबन्दी ८० दिनपछि बुधबार खोलिएको छ।

धनकुटा उद्योग वाणिज्य संघको ४५ औँ साधारण सभाको क्रममा गत मंसिर २३ गते असन्तुष्ट व्यवसायीले सदस्यता पाउनु पर्ने र नविकरण गरिनुपर्ने माग गर्दै संघको उद्घाटन सत्र र वन्द सत्र सम्पन्न भएको भोलिपल्ट अर्थात मंसिर २३ गते निर्वाचन समितिको समेत रहेको संघको कार्यालयमा तालावन्दी गरेका थिए।

त्यसको केही दिनमै अर्थात मंसिर २८ गते लोकतान्त्रिक पक्षधरले साधारणसभा समेत सम्पन्न भई विधिसम्मत संघको निर्वाचन प्रक्रिया अगाडि वढिसकेकोले निर्वाचन प्रक्रियालाई तत्काल सुचारु गर्न माग गर्दै तालावन्दी गरेका थिए। त्यसकारण उद्योग वाणिज्य संघको कार्यालयमा दोहोरो तालावन्दी भएको थियो।

दुवै पक्षधर व्यवासायी विच पटक-पटक बैठक बसेपछि सहमति भएपछि तालाबन्दी खुलेको हो। सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्ने सहमति भएपछि तालाबन्दी खुलेको उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्ष उमेश घिमिरेले जानकारी दिए। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा असन्तुष्ट व्यवसायीको तर्फबाट बलदिप राई, लोकतान्त्रिक व्यवसायीको तर्फबाट श्रीराम रायमाझी र उद्योग वाणिज्य संघ धनकुटाको अध्यक्ष उमेश घिमिरेले हस्ताक्षर गरेका छन्। 

तालावन्दी नखुलेकै कारण विज्ञप्ति प्रकाशन गरेर स्थगित भएको निर्वाचन प्रक्रिया तालावन्दी खुल्नासाथ नयाँ निर्वाचनको कार्यतालिका प्रकाशित गरेर सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्य खगेन्द्र घिमिरेले जानकारी दिए। 

तालाबन्दीका उद्योग वाणिज्य संघको भवनमा रहेको यूवा तथा साना व्यवासयी स्वरोजगार कोषको सचिवालयद्वारा संचालित जिल्ला संयोजन तथा अनुगमन समिति धनकुटाको कार्यालय  र उद्योग वाणिज्य मन्त्रालय र विदेशी दातृ निकायको सहयोगको संयुक्त लगानीमा तथा साझेदारीमा रहेको समृद्धि परियोजनाको कार्यालयको काम पनि ठप्प भएका थिए।

ताला खुलेसँगै कार्यालयको काम सुचारु भएको समृद्धि परियोजनाका धनकुटा संयोजक बलबहादुर पौडेलले बताए। 

ताला खोल्ने विषयमा के हुँदैछ सहमति?

उद्योग वाणिज्य संघमा लागेको तालाबन्दी खोल्ने विषयमा व्यवसायीबीच पटकपटक छलफल भएको भए पनि कुनै सहमति नभएपछि राजनीतिक दलका जिल्ला तहका नेतृत्व नै छलफलमा जुटेका थिए।

व्यवसायीले तालाबन्दी गरिएको भनिए पनि कुन पार्टी पक्षले नेतृत्व लिने भन्ने विषयमा विवाद हुँदा तालाबन्दी भएको थियो। लोकतान्त्रिक र बाम शक्तिको बीचमा पटकपटक वार्ता भएको सहमतिका आधारमा नेतृत्व चयन गर्ने भनेर सहमति भएपछि ताला खुलेको नेपाली कांग्रेस धनकुटाका उपसभापति नविनकिशोर शाक्यले बताए। उनले नितिगत विषय धेरै अगाडि टुंग्यिएको र प्राविधिक विषय टुंगिन समय लागेकाले ढिलो हुन गएको बताए।

यता नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगानाले बजार व्यवस्थापन समिति र व्यवसायीसँग समन्वयकारी भूमिका खेलेर निकास दिएको बताए। उनले अध्यक्षसहित ८ जना सदस्य लोकतान्त्रिक पक्षले लिने र वरिष्ठ उपाध्यक्षसहित महासचिव र सचिवसहित ९ जना बामपक्षले लिने सहमति भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.