|

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकामा जारी तेस्रो संस्करणको मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। लिग चरणको अन्तिम खेलमा दनपा ६ थालिगडा  अन्तिम चारमा पुगेसँगै सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लागेको हो।

 यसअघि दनपा, ११ नागार्जुन, दनपा ४ खलंगा र दनपा १० बाराकोट सेमिफाइनल प्रवेश गरिसकेका छन्। बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा सम्पन्न खेलमा थालिगडाले दनपा ९ ग्वाल्लेक ९ विकेटले पारेको  छ। टस जितेर पहिला ब्याटिंग गरेको ग्वाल्लेक १५.५ ओभरमा ५४ रनमा अलआउट भयो। उसका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

थालिगडाका जितेन्द्र रावलले ४ तथा शौरभ चन्दले २ विकेट हात पारे। ५५ रनको लक्ष्य थालिगडाले ८.३ ओभरमा १ विकेटको क्षतीमा लक्ष्य पूरा गर्‍यो। जसमा शेखर चन्दले ३४ तथा जितेन्द्र रावलले १२ रनको योगदान गरे। ग्वाल्लेकका महेश जोशीले १ विकेट लिए। जितेन्द्र रावल म्यान अफ द म्याच भएका नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।

सेमिफाइलनका खेल बिहीबार

यसैबीच प्रतियोगिताअन्तर्गत सेमिफाइलनका खेल बिहीबार हुने भएका छन्। पहिलो खेलमा दनपा ६ थालिगडा र दनपा ४ खलंगा भिड्दा दोस्रो खेलमा दनपा १० बाराकोट   र दनपा ११ नागार्जुन  प्रतिस्प्रर्धा गर्नेछन्। थालिगडा समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने खलंगा समूह 'सी' को विजेता बन्दै अन्तिम चारमा पुगेको हो। यस्तै समूह 'बी' को विजेता बन्दै बाराकोट सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह 'डी' को शीर्ष स्थानमा रहँदै नागार्जुन अन्तिम चारमा सुरक्षित भएको हो।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगिता दशरथचन्द नगरपालिकाको आयोजना र नगरक्रिकेट समितिको व्यवस्थापनमा जारी रहेको हो। प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र म्यान अफ द सिरिजले १० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.