|

डडेल्धुरा : रुस्लान थ्रीस्टार नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधबार भएको दोस्रो क्वाटरफाइनलमा जित हात पार्दै अन्तिम चारमा पुगेको हो।

पहिलो चरणमा वाइ पाएर क्वाटरफाइनल पुगेको थ्रीस्टारले सिमराको नव जन जागृति क्लबलाई २–० ले हराएको हो। ललितपुरे क्लब थ्री स्टारको जितमा संजोग राई र आशिष राईले एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्री स्टारले दुई गोल गरेको थियो।

खेलको ८०औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए। त्यसपछि खेलको ८१औं मिनेटमा आशिषले गोल गर्दै थ्री स्टारको जित सुनिश्चित गरे। आशिषले पनि निशान खड्काकै पासलाई सदुपयोग गरे। खेलको म्यान अफ दि म्याच थ्री स्टारका कप्तान विक्रम लामा चुनिए। उनले नगद १० हजारसहित ट्रफी पाए।

खेलपछि प्रतिक्रिया दिँदै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टीमले सोचेभन्दा राम्रो खेलेका कारण सुरुमा गोल हुन गाहे भएको भएपनि पछि गोल हुँदा जित हात पारेको बताए। ‘हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यो। त्यही भएर हामीलाई स्कोर गर्न गाह्रो भयो,’ प्रशिक्षक केसीले भने, लामो यात्रा गरेर आएका कारण पनि समस्या भयो। अवको खेलमा अझ राम्रो खेल्नेछौं।’

नव जन जागृति क्लबका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टीमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएका छन्। ‘अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो। टप कम्फीटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन्,’ प्रशिक्षक क्षेत्रीले भने, ‘अन्तिम १० मिनेटमा सम्हालिन सकेनौं। पहिलो हाफ जस्तो राम्रो खेल दोस्रो हाफमा खेल्न सकेनौँ।’

अब थ्री स्टारले फाइनल प्रवेशको लागि हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देहीबीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको तेस्रो क्वाटरफाईनलमा बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन्।

फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैयाँ तथा उपविजेतालाई १० लाख १ रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ। धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिनेछ।

सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो। ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित सुदूरपश्चिम-११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.