नेपाली भाषा विश्वको उन्नत भाषा : राष्ट्रपति भण्डारी

|

डडेल्धुराः कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ। नेपाली भाषा साहित्यलाई विश्वभर परिचित गराउने र विश्वका नेपाली साहित्यकारहरूको अनुभव साट्ने उद्देश्यले धनगढीमा बुधबारदेखि विश्व नेपाली साहित्य महोत्सव सुरु भएको हो।

सुदूरपश्चिम साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रवद्र्धनमा आयोजित साहित्य महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। फागुन २० गतेसम्म चल्ने महोत्सवमा विश्वभरका साहित्यकारहरूले भाग लिएका छन्। सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीकाअनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किमलगायतका ठाउँबाट साहित्यकारहरू धनगढी आएका छन्।

महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारको सम्वाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव शेयरिङ र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति भइरहेको छ। महोत्सवमा ५० वटा सेसनमा करिब डेढ सय जना साहित्यकारको सम्वाद तथा प्रस्तुति रहने कार्यसूचि छ।

उद्घाटन कार्यक्रममा शताब्धी पुरुष सत्यमोहना जोशी, वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकार मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, वद्रीनाथ भण्डारी, तुल्सीराम जोशी, निर्माण व्यवसायी मदन कुँवरलाई सम्मान गरिएको छ। राष्ट्रपति भण्डारीले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेकी थिइन्।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र जातजातिहरूको संस्कृति झल्किने सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो। पञ्चेवाजा, हुड्के, भुवा, होरी, छलिया, सखिया, झुम्रा, मुग्रहुवा लगायतका नाचको झाँकी प्रदर्शन गरिएको थियो। उद्घाटन कार्यक्रम सुरु हुनुपूर्व धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्ट्स्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको थियो।

नेपाली भाषा विश्वको उन्नत भाषा : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवि भण्डारीले विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्दै नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताइन्।

उनले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रूपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन्। उनले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन्।

‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउन्छ’ उनले भनिन्, ‘यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरूलाई सुदृढी गर्नुपर्ने मैले महशुष गरेकी छु।’

उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन्। उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरूको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको श्रीवृद्धि भएको छ।’

उनले मानव जातीको अथक परिश्रमद्वारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन्। ‘साहित्य समसामहिक समाजको ऐना समेत हो उनले भनिन्, ‘साहित्य र समाजबीचको एक आपसमा अनुन्याश्रित सम्बन्ध हुन्छ। साहित्यले युगयुगसम्म प्रभावित पारिरहेको हुन्छ।’

उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भइरहेको बताइन्। उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम रहेको बताइन्। उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा राष्ट्रले योग्दान पुर्‍याउनु पर्दछ।’

उनले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरूमा भाषीक तथा भावानात्मक एकता प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन्। उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउँदै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने बताउँदै भनिन्, ‘असल साहित्य सृजनामा साहित्कार क्रियाशिल हुन जरुरी छ।’

उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवद्र्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन्।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधिसभा सदस्य नारदमुनि राना, वरिष्ठ साहित्यकार तथा शताब्धी पुरुष सत्यमोहना जोशी, पूर्वमन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका नगरप्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.