काठमाडौं : बहराइनमा पनि केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको भन्दै नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन आग्रह गरेको छ।
मनामास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बहराइनको स्वास्थ्य मन्त्रालयबाट कोभिड-१९ को संक्रमणको जानकारी पाएको भन्दै नेपालीहरूलाई सजग र सचेत रहन अनुरोध गरेको हो।
दूतावासले ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, मांसपेशी दुख्ने, थकाइलगायतका प्रारम्भिक लक्षणहरू देखा परेमा बहराइनको स्वास्थ्य मन्त्रालयको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न पनि भनेको छ।
नेपाली कार्यरत रहेका कुवेत र बहराइनमा पनि कोरोनाका संक्रमण देखिएको छ। कुवेतमा ७० हजार र बहराइनमा २५ हजार नेपाली रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।