भव्य स्वागतको तयारी, कडा सुरक्षा व्यवस्था

|

बैतडी : राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि सुदूरपश्चिम प्रदेशको भ्रमणमा आएकी छिन्। तीनदिने भ्रमणका क्रममा उनी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ।

उनको भ्रणमका क्रममा स्वागतका लागि भन्दै प्रदेशका दुई जिल्लामा चार स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा दिएका छन्।  राष्ट्रपति भण्डारीको स्वागतका लागि  बैतडीको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन्।

बुधवार प्रदेशको कैलाली आएकी राष्ट्रपति भण्डारी बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी र दार्चुला आउने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। बिहीबार दिउँसो २ बजे बैतडीको दशरथचन्द नगरपालिकामा त्रिपुरासुन्दरी मन्दिरमा राष्ट्रपति भण्डारीको विषेश पुजाआजा हुने प्रजिअ पौडेलले बताए।

यसका साथै सोही अवसरका दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उपप्रमुख मिना चन्दले बताएइन्। उनको नागरिक अभिनन्दन कार्यक्रम रहेकोले नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रमुख चन्दको भनाइ छ।

त्यसपश्चात दिउँसो ३ बजे पाटनमा रहेको भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सोही कार्यक्रममा  पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट नागरिक अभिनन्दन गरिने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए। 

त्ससअघि  बिहीबार बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्ने कार्यक्रम रहेको छ।  साथै मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ।

यस्तै, १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी १७ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

भव्य स्वागतको तयारी

राष्ट्रपति भण्डारीको बैतडीसहित सुदूरपहाडमा भव्य स्वागत गरिँदैछ। बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायतले स्वागत गर्ने कार्यक्रम छ।

पूजाआजा तथा दर्शन गर्ने त्रिपुरासुन्दरी मन्दिरमा सरसफाइ गरिएको छ। साथै स्वागतद्वार पनि निर्माण गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन्। 'बाजागाजा र पुष्पगुच्छासहित नागरिक अभिनन्दन गछौं' उनले भनिन्।

यस्तै, पाटन नगरपालिकाले पनि उनको स्वागतका लागि सार्वजनिक बिदा दिँदै भव्य तयारी गरेको जनाएको छ। बाजागाजासहित स्वागत गरिनुका साथै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए। 

त्यसअघि दार्चुलामा पनि भव्य स्वागतको तयारी भएको छ।  राष्ट्रपति भण्डारीलाई मालिकार्जुन गाउँपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिए। 'गाउँपालिकाले राष्ट्रपतिलाई अभिनन्दन गर्ने भएपछि मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय भएको छ' उनले भने।

शैल्यशिखर नगरपालिकाले पनि राष्ट्रपतिको भ्रमणमा स्वागतको लागि भन्दै एक दिन सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ। राष्ट्रको प्रमुख आउने भएकोले नगर कार्यपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। राष्ट्रको सातौँ धामको रूपमा मालिकार्जुन मन्दिरमा भण्डारीले विशेष पूजापाठ गर्ने कार्यक्रम छ।

बिहान १० बजे हेलिकोप्टरमार्फत राष्ट्रपति भण्डारी सीधै मालिकार्जुन मन्दिरस्थित हेलिप्याडमा अवतरण हुने छिन्। त्यहाँ प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत जिल्लाका सुरक्षा निकाय प्रमुखहरूले स्वागत गरेर भण्डारी सीधै मन्दिर प्रवेश गर्ने कार्यक्रम तय भएको छ।

मन्दिरमा पूजापाठ सकिनेबित्तिकै राष्ट्रपति भण्डारीलाई मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी र दार्चुलाबाट प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले स्वागत गर्दै नागरिक अभिनन्दन स्थलसम्म पुर्‍याउने कार्यक्रम छ। नागरिक अभिनन्दन कार्यक्रम सोही मन्दिर परिसरमै राखिएको छ।

यस्तै,  फागुन १६ गते बिहान डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शनका लागि पुग्ने कार्यक्रम छ। दिउँसो कञ्चनपुरमा जाने कार्यतालिका रहेको छ। त्यहाँ पनि भव्य स्वागत हुने जनाइएको छ।

सुरक्षा व्यवस्था कडा

यसैबीच राष्ट्रपति भण्डारी सुदूरपश्चिममा आएपछि यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। राष्ट्रपतिको सुरक्षाका लागि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो।

सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी गरी आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.