|

सिमरा : मालपोत कार्यालय सिमराले प्रद्य्युम्नराज पाण्डेका नाममा किर्ते पुर्जा बनाएर भोगचलन गरेको बाराको २० बिगाहा सार्वजनिक जग्गा बिहीबार राज्यको नाममा घोषणा गर्ने अन्तिम तयारी गरेको छ। 

पुष २७ गते मालपोत कार्यालय सिमराले निकालेको ३५ दिने सूचनाको आधारमा आवश्यक प्रकिया पुरा गरी बिहीबार सो जग्गा राज्यको नाममा घोषणा गर्ने तयारी भएको हो। ३५ दिने सुचना अवधिभर पाण्डेले  निजको नाममा कायम गर्नसक्ने गरी आधार र प्रमाण पेश नगरेकोले सो जग्गा राज्यको नाममा घोषणा गर्ने अन्तिम तयारी भइरहेको मालपोत कार्यालय सिमराले जनाएको छ।

सार्वजनिक जग्गा किर्ते प्रकरण : वारेस अधिकृत तिमिल्सिना पक्राउ, मुख्य नाइकेविरुद्ध पुर्जी जारी

पाण्डेले बारा जिल्ला साविक रामपुरटोकनी गाविस वडा नं २,३,४ र ९ हाल जीतपुरसिमरा वडा नं २३ को कित्ता नं ३३ को ९ कठ्ठा,कित्ता नं ६१ को १ बिगाहा १७ कठ्ठा, कित्ता नं १४१ को ३ बिगाहा १० कठ्ठा कित्ता नं १२ को १४ कठ्ठा,कित्ता नं ३९२ को २ बिगाहा ४ कठ्ठा १० धुर, कित्ता २४३ को १२ कठ्ठा, कित्ता नं १ को ३ बिगाहा १५ कठ्ठा,कित्ता नं २ को २ बिगाहा, कित्ता नं १० र ११ को १० कठ्ठा र ६ कठ्ठा, कित्ता नं १७, १८ र २० को कम्रशं १ बिगाहा, ४ कठ्ठा र २ बिगाहा २ कठ्ठा सार्वजनिक जग्गा २०३५ सालदेखि पटक-पटकको प्रयासमा किर्ते पुर्जा बनाएका थिए।

‘यो जग्गा पाण्डेको नाममा के आधारमा दर्ता भयो भन्ने कहिँकतै निर्णय र प्रमाण नभएको पाण्डेले किर्ते पुर्जा बनाएर श्रेस्ता घुसाएको अनुसन्धामा देखिन्छ,’ मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले भने, ‘यो जग्गाको उहाँहरुसँग पुर्जा छ तर, त्यो पुर्जा कसरी बन्यो भन्ने आधार छैन, त्यसलै यो नेपाल सरकारको जग्गा हो भन्ने हाम्रो निर्णय हो’। 

सार्वजनिक जग्गा कीर्ते प्रकरण : भरिया समातिए, मुख्य नाइके कहिले ?

यसअघि २०६६ असोज ६ गते नै मालपोत कार्यालय कलैयाले सो जग्गा दर्ता प्रकिया शंकास्पद भएको भन्दै सार्वजनिक घोषणा गरेको थियो, तर पछि पाण्डेले सो निर्णयउपर सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सर्वोच्चले मालपोतले गरेको निर्णय त्रुटिपुर्ण भएको भन्दै दुवै पक्षको प्रमाणका आधारमा पुन: निर्णय गर्न मालपोत कार्यलयका नाममा निर्देशन दिएको थियो। सर्वोच्चको आदेशका आधारमा मालपोत कार्यालयले पछिल्लो पटक निकालेको सुचनाका आधारमा पाण्डे पक्षबाट वारेस अधिकृत सुरेश तिमिल्सेनाले हकदावी निवेदन दिएका थिए।

‘उहाँहरुको तर्फवाट यो जग्गा पाण्डेको हो भनि पुष्टि गर्ने थप प्रमाण केही नआएकोले यो जग्गा राज्यको सम्पति हो भन्ने हाम्रो बुझाई हो’ आचार्यले भने, 'पाण्डेले फिल्डबुकमा नहर, नदि, ऐलानी, प्रति भनि उल्लेख भएको जग्गाको किर्ते पुर्जा बनाएर बिच बिचमा श्रेस्ता घुसाएको अनुसन्धानको क्रममा भेटिएको छ।'

२० बिगाहा सार्वजनिक जग्गा राज्यको नाममा घोषणा गर्ने भएपछि केही दिनयता मालपोत कार्यालय सिमरामा सुरक्षाकर्मी चहलपहल समेत बढेको छ। विभिन्न मुद्दाको विषयमा कर्मचारी, मालपोतका श्रेस्ताको सुरक्षा र भुमाफियालाई निस्तेज पार्न एकसfतादेखि सुरक्षाकर्मी खटाइएको ईलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ। ‘हामीले सरकारी कर्मचारी, श्रेस्ताको सुरक्षा संवेदनशिलतालाई हेरेर सुरक्षाकर्मीको निगरानी बढाएका हौं,’ ईप्रका सिमराका प्रमुख डिएसपी पुरीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.