४० प्रतिशत काम सकियो

|

हेटौंडा : धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला भरतपुरमा बनाइरहेको छ। भरतपुरमा जस्तै गरेर चन्दा संकलन गरेर हेटौंडामा नेपालका एक पूर्व-खेलाडीले कभर्ड हल बनाइरहेका छन्। नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर सुशील घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटेका छन्।

आफ्नो खेलजीवनमा नेपालका लागि चार अन्तर्राष्ट्रिय पदक घिमिरेले श्रीलंका सम्पन्न दसौं सागमा रजत बक्सिङमा रजत पदकसमेत जितेका थिए। सशस्त्र प्रहरीको एपिएफ क्लबबाट खेलेका उनले आफ्नो व्यावसायिक खेलजीवनपछि सात वर्ष वैदेशिक रोजगारीमा बिताएका थिए। घिमिरेले आफ्नै क्षेत्रमा योगदान गर्नका लागि आफुले यो कदम चालेको बताए।

४० प्रतिशत काम सकियो

हेटौंडा–५ पिप्लेस्थित बालज्योति माविको मैदानमा एक महिनायता चन्दा संकलन गरेर कभर्डहल निर्माण भइरहेको कभर्ड हलको ४० प्रतिशत काम सकिएको घिमिरेले बताएका छन्। उनका अनुसार ढलान भइसकेको छ भने छाना छाउने कामको तयारी भइरहेको छ।

कभर्ड हल फागुनसम्म बनिसक्ने सम्भावना छ। ४० लाखको लगानीमा बन्न लागेको कभर्ड हललाई हालसम्म ७ लाखभन्दा बढी रकम सहयोग आइसकेको र अरू रकम पनि आउने क्रममा रहेको घिमिरेले बताए। कभर्ड हलमा बक्सिङ मात्र नभई कराँते, भलिबल, व्याडमिन्टन जस्ता खेलहरू खेल्न तथा प्रशिक्षण गर्न मिल्नेछ।

८ हजार स्क्वाएर फिट क्षेत्रफल रहेको कभर्ड हलको २५० जना अट्ने क्षमता छ। अहिले छाना हाल्ने काम चलिरहेको र भुइँ ढलानको तयारी भइरहेको घिमिरेले जानकारी दिएका छन्।

कभर्ड हल निर्माणपछि हेटौंडाको खेल क्षेत्रको विकासमा सहयोग पुग्ने घिमिरे अपेक्षा गर्छन्। अहिलेका युवा पुस्ता धेरै कुलत र दुर्व्यसनमा फसेको भन्दै उनीहरुको फुर्सदको समय खेलकुदमा उपयोग गर्न पाए लागूऔषधको दुर्व्यसनबाट बचाउन सकिने घिमिरे बताउँछन्।

प्रशिक्षणको लागि कभर्डहल

कभर्डहल नहुँदा नयाँ खेलाडीहरूमा खेलप्रति वितृष्ण भइरहेको बेला व्यवस्थित प्रशिक्षणको लागि कभर्ड हलको योजना बनेको घिमिरेले बताए। 'पछिल्लो समय जुनियर खेलाडीको आकर्षण घटेका कारण व्यवस्थित रूपमा प्रशिक्षण गराउनका लागि कभर्डहल निर्माण सुरु गरिएको हो' उनले भने।

हालसम्म पूर्वखेलाडी तथा त्यस क्षेत्रका व्यवसायीबाट ६ लाख ५० हजार रुपैयाँ र ३ लाख बराबरको जिन्सी सहयोग प्राप्त भएको उनले जानकारी दिए। उनका अनुसार कभर्डहलको ५० मिटर लम्बाइ र ३५ मिटर उचाइ रहनेछ।

घिमिरेले अहिले हेटौंडामा बक्सिङको प्रशिक्षण गराइरहेका छन् । हाल दैनिक ७० खेलाडीलाई प्रशिक्षित गराउने घिमिरेले खेलाडी जम्मा गर्न पनि हम्मेहम्मे परेको बताउँछन्। उनी हेटौंडाको पिप्लेबाट प्रतिनिधित्व गर्छन्। उनीसहित पिप्लेबाट हालसम्म सुसन मानन्धर, सविन नेपाली, साजन ठकुरी तथा तिलकप्रसाद गौतमलगायत खेलाडीले बक्सिङको अन्तर्राष्ट्रिय रिङमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.