|

बैतडी : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार सुदूरपश्चिमस्थित बैतडी पुगिन्। भव्य स्वागतका बीच पुजाआजा र केही महत्वपूर्ण उद्घाटन गरेकी राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश आफैंमा सम्बृद्ध रहेको बताएकी छिन्। 

बैतडीको पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन उद्घाटन गर्दै राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक पक्षले भरिपूर्ण प्रदेश रहेको बताएकी हुन्। उनले भनिन्, 'प्रदेशको समग्र विकासको लागि सम्बन्धित पक्षको ध्यान पुग्नेछ।'

बैतडीले क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएकोमा प्रशंसा गर्दै राष्ट्रपतिले भनिन्, 'क्रिकेटको विकास र खेलाडी उत्पादनमा बैतडी जिल्लाका ठूलो भूमीका छ।'

प्राविधिक शिक्षाले यस क्षेत्रका युवाहरुलाई स्वदेशमै रोजगारी दिने बताउँदै राष्ट्रपति भण्डारीले उद्यमशीलताको विकास भई कुटीर उद्योग स्थापनामा शिक्षालयले योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। 

सांस्कृतिक पर्यटनको ठूलो सम्भावना रहेको सुदुरपश्चिम प्रदेशमा खेलिने डेउडा, छलिया नृत्य, र गौरा पर्वले आन्तरिक पर्यटन उद्योगमा टेवा पुग्ने राष्ट्रपति भण्डारीले उल्लेख गरिन्। यसैगरी पञ्चेश्वर बहुउद्धेस्यीय र पश्चिमसेती परियोजना लागु गरी रोजगारीका अवसर श्रीजना गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन्। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामूदायिक विद्यालयको गुणस्तर विकासमा शिक्षक बिद्यार्थी र अविभावकको उत्तिकै भुमिका रहने बताए। राष्ट्रपति समक्ष बैतडीका समसामयिक विषयबस्तु प्रस्तुत गर्दै संघीय सांसद दामोदर भण्डारीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणमा सरकारको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गरे। 

यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दाहालले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने मन्त्रालयको योजना रहेको बताए।
सोही समारोहमा पाटन नगरपालिकाका प्रमुख केशब बहादुर चन्दले राष्ट्रपति समक्ष नागरिक अभिनन्दनपत्र पेश गरे। 

यसअघि राष्टपति भण्डारीले बैतडीस्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजा गरेकी  थिइन्। त्रिपुरासुन्दरी भगवतीको दर्शनसंगै दशरथचन्द नगरपालिकाले राष्ट्रपतिलाई नागरिक अभिनन्दन समेत गरेको थियो। नगरपालिकाका तर्फबाट राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.