|

पर्वत : सरकारले नै महत्व दिएको राष्ट्रिय प्राथमिकता प्राप्त नयाँ मोदी–लेखनाथ प्रसारणलाइन विस्तारको काम पछिल्लो ६ महिनादेखि रोकिएको छ।

प्रसारणलाइनको प्रभावित क्षेत्रमा पर्ने जिल्लाको मोदी गाउँपालिका १ शेराबेँसीका बासिन्दाले बस्ती, विद्यालय र खेतीयोग्य जमिन नै खतरामा परेको भन्दै अवरोध गरेपछि रोकिएको काम अझै सुचारू हुन सकेको छैन।

१२० केभिए प्रसारणलाइन विस्तार गर्न थालिएको प्रभावित क्षेत्रमा १५ घरधुरी रहेको बस्ती छ। सोही बस्तीका बासिन्दाले प्रसारणलाइनका कारण गाउँ, विद्यालय र खेतीयोग्य जमिनसहित व्यक्तिका घरहरू नै उच्च विद्युतीय जोखिममा पर्ने भन्दै काम रोकिरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए। उनका अनुसार देउपूरमा सबस्टेशन निर्माणको काम सकिए पनि शेरावेँसीबासीहरुको अवरोधकै कारण त्यस ठाउँमा निर्माण हुने भनिएको टावर नम्बर ११, १२ र १३ को निर्माण कार्य रोकिएको हो।

‘हाम्रो सिङ्गो बस्ती, विद्यालय र खेतीयोग्य जमिन नै खतरामा परेका छन्। यहाँबाट लाइन जाँदा हाम्रो गाउँ नै विस्थापित हुन्छ। यस्तो अवस्थामा हामी कसरी काम अगाडि बढाउन दिन सक्छौँ ?’ स्थानीय नवीन पौडेलले भने, ‘आयोजना पक्षले स्थानीयसँग छलफल समेत गरेको छैन, पीडितहरूलाई पेलेर जान खोजेर त काम कसरी पूरा हुन्छ?’

हाईटेन्सन तारको सीधा मुनि नवज्योती थम माध्यमिक विद्यालय पर्ने भएका कारण विद्यालयमाथिबाट खतराको तार विस्तार गर्न नदिने गाउँलेहरूको अडान रहेको विद्यालयकी प्रधानाध्यापक मिनाकुमारी गुरुङले बताइन्। ‘हरेक दिन सयौँ जना विद्यार्थीको उपस्थिति रहने विद्यालयको छानाको सीधा माथिबाट कसरी हाई भोल्टेजको तार बिस्तार गर्न मिल्ला?’ उनले भनिन, ‘बर्खाको बेलामा पर्ने चट्याङ, करेन्ट चुहावट लगायतका हिसाबले विद्यालयमाथिबाट तार बिस्तार गर्नु जानाजान खतरालाई घरभित्र बोलाउनु हो।’

पर्वत भएर बग्ने मोदी खोला तथा कास्कीमा बग्ने सेती नदी र मार्दी खोलामा बन्‍ने विद्युत आयोजनाहरूबाट उत्पादित विद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारणलाईमा जोड्न नयाँ मोदी लेखनाथ प्रसारणलाइन विस्तार गर्न लागिएको हो। सहज वातावरण बनाइदिन स्थानीयले मोदी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारका ऊर्जा मन्त्री समेतलाई गुहार्दा समेत आयोजना पक्षले प्रसारणलाइन बिस्तारको नक्सा परिवर्तन नगरेको भन्दै उनीहरूले गुनासो गर्दै आएका छन्। लाइन विस्तारमा अन्यत्र कतै समस्या नरहेको तर शेराबेँसीका ३ वटा टावरलाई मात्रै कि त गाउँको सिरान कि त गाउँको पुछारबाट लगेमा ६ महिनादेखि रोकिएको काम सुचारु हुने वडाध्यक्ष भुलबहादुर पौडेलले बताए।

नयाँ मोदी– लेखनाथ प्रसारणलाइनका आयोजना प्रमुख अग्रवालले भने स्थानीय बासिन्दासँग आवश्यक छलफल र सहमति गरेर नै कामलाई अगाडि बढाउने पक्षमा आफूहरू रहेको बताए। ‘लाइनले स्थानीयलाई कुनै असर पार्दैन भनेर हामीले धेरै पटक उहाँहरूलाई कुरा बुझाउने प्रयास गर्दै आएका छौँ। तर पनि उहाँहरूले हाम्रो कुरामा विश्वास नगरी लाईनले असर गर्छ भनेर काम अगाडि बढाउन दिनुभएको छैन,’ उनले भने, ‘अहिले डिजाइन भएको स्थान भन्दा माथिबाट लैजाँदा भीर र घर पर्छन्, तलबाट लैजाँदा मोटरेबल पुल र झोलुङ्गे पुलका कारण 'क्लियरिङ्ग एरिया' नपुग्ने अवस्था छ। तर काम नगरी नहुने अवस्था रहेकोले स्थानीयसँग आवश्यक छलफल र सहमति गरेर काम अगाडि बढाउँछौँ।’

भारतीय एक्जिम बैङ्कको सहयोग र नेपाल सरकारको समेत लगानीमा २ अर्ब २५ करोड रुपैयाँको लागतमा निर्माण शुरू भएको हो। प्रसारणलाइन बनेपछि देउपुरस्थित सबस्टेशनमा मोदी खोला र आसपासका नदीबाट उत्पादित विद्युत जोडिनेछन् भने कास्कीको लाचोक सबस्टेशनमा सेती नदी र मर्दीखोलाबाट उत्पादित विद्युत यसैमा जोडिने छन्।

मोदी गाउँपालिका २ देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथ सम्म १ सय ३८ ओटा टावर निर्माण गरेर पूरा हुने प्रसारणलाइन ४२ किलोमिटर लामो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.