|

हेटौंडा : देशकै एक मात्र मानव निर्मित ताल इन्द्रसरोवर अर्थात कुलेखानी जलविद्युत आयोजनाको जलाशय हेर्न तथा घुम्न आउने आन्तरिक पर्यटक बढ्दै गएका छन्।

कवानपुरको मार्खुमा निर्माण भएको जलाशयसम्म काठमाडौंबाट मोटरसाइकल वा गाडीमा करिब दुई घन्टामा पुग्न सकिन्छ। यस्तै, हेटौँडादेखिको दूरी पनि बराबर छ। छोटो दूरी हुनाले सहर तथा ग्रामीण क्षेत्रका व्यक्ति सरोवर घुम्न आउन लालयित देखिन्छन्।

यहाँ पछिल्लो समय डुंगा सवार गर्दै पिकनिकमा रमाउनेको संख्या बढ्दै गएको छ। काठमाडौं तथा हेटौंडाबाट नजिक भएकाले स्कुल र क्याम्पसका विद्यार्थीले यसलाई पिकनिक स्पटका रूपमा रोज्ने गरेका छन्।

यहाँ पोखराको फेवातालमा जस्तै डुंगा सवार गर्न पाइने भएकोले काठमाडौं आसपासका पर्यटक आउने गरेका छन्। माछाको लागि पनि चर्चित हुँदै गइरहेको इन्द्रसरोवरमा पिकनिक मनाउन  धेरै मान्छे आउने गरेका छन्।  तत्कालीन राजा वीरन्द्र शाहको पालामा विद्युत उत्पादन गर्न पानी सञ्चय गर्ने लक्ष्यले जलाशय निर्माण भएको थियो।

अहिले जलाशयको पानीबाट ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो आयोजना सञ्चालनमा छन्। २०३४ सालमा निर्माण सुरु भई २०४३  सालमा दुई आयोजना पूरा भएका थिए। दुवै आयोजना करिब ११ करोड ८० लाख अमेरिकी डलर लागतमा पूरा भएका थिए। अहिले १४ मेगावाटको तेस्रो आयोजना निर्माणाधीन छ। आगामी ६ महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

पानी जम्मा गर्न १ सय १४ मिटर अग्लो र १० मिटर चौडा रक फिल  ड्याम निर्माण भएको छ। ७ किलोमिटर लामो र करिब २ किलोमिटर चौडा जलाशयमा ८ करोड ५३ लाख घनमिटर पानी सञ्चित हुन्छ। यसमध्ये ७ करोड ३३ लाख घनमिटर पानी मात्र विद्युत उत्पादन गर्न प्रयोग गर्न मिल्छ। जलाशयमा १५३० मिटरसम्म पानी भण्डारण गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.