|

बागलुङ : बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा निर्माण भएको भूमिगत शालीग्राम संग्रहालय पछिल्लो समय बागलुङ घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। सँगै रहेको रंगबिंकटेश्वर मुक्तिनारायण मन्दिरको कलाले पर्यटकको थप मन जित्ने गरेको छ। 

मानव निर्मित दुवै संरचनाको प्रचारका लागि आगामी बैशाखमा दुइसय महात्मा सहितको धान्यान्चल महामहोत्सव गरिने भएको छ। यो महामहोत्सवले छिमेकी देशमा समेत प्रचार प्रसार हुने अपेक्षा छ। 

नेपाल र भारतका गरी २ सय धार्मिक महात्माको उपस्थितिमा महामहोत्सव गरिने संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए। आगामी बैशाख १० देखि १९ गतेसम्म चल्ने धान्यान्चलसँगै यहाँ निर्मित नेपालकै ठूलो मानिएको प्यागोडा मन्दिरको उद्घाटन पनि हुनेछ।

६ करोडमा बनेको रंगबिंकटेश्वर मुक्तिनारायण मन्दिरमा ९ फिट अग्लो गजुर र मूर्तिको प्राण प्रतिष्ठा समेत गरिनेछ।

 मुक्तिनाथ जाने हरेक पर्यटक र धार्मिक व्यक्ति प्रवेश गर्ने वातावरणका लागि महामहोत्व आयोजना भएको समेत प्रपन्नाचार्यले बताए। यहाँ एकलाख २५ हजार वटा शालीग्राम संग्रह गरिएको छ। ती शालीग्राम टिकट काटेर हेर्न पाउने व्यवस्था सुरु भइसकेको छ। यहाँ सानादेखि ५ क्विन्टलसम्मका शालीग्राम पनि संग्रहित छन्।

सुरुङमा राखिएको संग्रहालयसँगै कालीगण्डकी नदी उत्पति भएको दामोदर कुण्डदेखि त्रिवेणीधाम सम्मका धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्रको नक्शांकनसहित कालीगण्डकी सभ्यता समेत देखाउने गरी संग्रहालय बनाइएको छ। यहाँ सरकारी तह र निकायको तीन करोडसहित १४ करोड लगानी भइसकेको छ। 

बाँकी रकम दानमुठी र चन्दाले संकलन भएको हो। कतिपयले यहाँ श्रमदान र जिन्सी पनि सहयोग गरेका छन्। यहाँ भूमिगत संग्रहालयदेखि मन्दिर र अन्य संरचना निर्माणका लागि झण्डै १४ करोड खर्च भएको व्यवस्थापन बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.