पुराना संस्कृति संरक्षणमा जुटे पाल्पाली युवा

|

पाल्पा : भारतीय पेन्सन क्याम्प। भारतीय सुरक्षाकर्मीको जागिर सकाएर फर्किएकाहरू पेन्सन बुझ्न जाने ठाउँ। जुन ठाउँ हो बगनासकाली गाउँपालिका–१ को चिलाङ्दी भञ्ज्याङ। प्रायः यो ठाउँ सुनसानजस्तै देखिन्छ।

कहिलेकाँही पेन्सन बुझ्नेहरूको भीड लाग्ने गर्दछ। अन्य दिनहरूमा भने यहाँ मान्छेको खासै चहलपहल देखिदैन्। तर, बिहिबार भने यहाँको माहोल फरक देखियो। जहाँ डम्फु र मादलको तालमा धेरै मानिसहरू झुमेको दृष्य देखिएको थियो।

सेता घलेक पहिरेका पुरुषले डम्फु र मादल भिरेका थिए भने महिलाहरू रातो घलेकीसँगै मगर पोषाकमा सजिएका देखिन्थे। पुरुष महिलाको भेषमा सजिएका देष्य पनि थिए। सयौको भीड रहेको चउरमा हेर्दा निकै रमाइलो माहोल थियो।

अगाडितर्फ एउटा स्टेज। जुन स्टेजमा पुगेर डम्फु, मादल घन्किन थाल्यो। त्यहि तालमा बगनासकाली गाउँपालिका–१ चिलाङ्दीका ५४ वर्षीय मानबहादुर रानाले लय मिलाउदै गीत गाउन थाले।

हा...नचरी लाइदेउ बाबै, नचरी लाइदेउ

हाहै...हरिज्यूको यो दुवारैमा, हामी आयौं खेलन्

हे राजैज्यूको यो दुवारैमा, हामी आयौ खेलन्। 

गलामा तिहारे फुलको माला भिरेका मानबहादुर र उनका साथीहरूले जब मारुनी गीत गाउन थाले युवायुवती चकित परे। पूरानो र मौलिक भाका मानबहादुरले डम्फु र मादलको तालमा सुनाइरहे।

हा... घर हिड हो रानी, घर हिड हो,

बनमा बिचा परौली, घर हिड हो।

आकाशैको सूर्यले शिर हे फुल्यो,

रानी घर हिड हो।

आकाशैको चन्द्रले शिर हे फुल्यो,

रानी घर हिड हो।

आकाशैको शुक्रले शिर हे फुल्यो,

रानी घर हिड हो।

जब दर्शकले अचम्म मानेर गीत सुन्नुका साथै नाच हेरिरहेका थिए। मानबहादुरले फेरि गीतकै भाकामा थपे।

हा...विरहले मत विरहले

हाहै... बैशैंमा जोगेनी भए मत,

हे न मेरो बाबा, न मेरो आमा

नर छोरो कोहि छैन्।

न मेरो दाजु, न मेरो भाई

नर मेरो कोहि छैन्।

आफू सानो छँदा निकै गाइने गीत पछिल्लो समयमा लोप हुन थालेकोप्रति मानबहादुरले चिन्ता प्रकट गरे। जुन बेला भगवानलाई नै अप्ठ्यारो परेको हुन्थ्यो त्यसैलाई गीत बनाएर गाइन्थ्यो उनले भने जुन गीतले आफ्ना दुःख बिर्सिन्थे।

७४ वर्षीय झमानसिं रानाको बुझाइमा मारुनी र सोरठी नाच राजा र रानीको विवाहको घट्नालाई जोडेर गाइन्थ्यो। १२ वर्षको जैसिगें राजा र १० वर्षकी हेमन्ती रानीको विवाहलाई लिएर हजुरबुवाले मारुनी गीत गाउने गरेको उनले सुनाए।

सानो उमेरमा विवाह गरेका यी राजारानीलाई पेट पाल्न समेत धौ भएको बारेमा गीतमार्फत बाहिर ल्याउने गरेको भनाइ छ। सानो उमेरका राजा रानीले पेट पाल्नको लागि रानीले लगाएका गहनासमेत बेच्नु परेको बाध्यतलाई मारुनी गीतमार्फत उजागर गरेको उनले बताए।

यस्तो मौलिक संस्कृति बोकेका पुराना भाकाहरूलाई संरक्षण गर्न उनले माग गरे। ‘पछिल्ला पुस्ता आधुनिक गीतसंगीतमा रमाउन थाले, जसलेगर्दा समाजमा विकृति भित्रिदै गयो’ उनले भने ‘पुराना संस्कृतिको संरक्षण गर्न सके समाजमा अनुशासन रहन्छ। कसैले सामाजिक रुपमा दुख भोग्नु पर्दैन्’।

‘विहानै पखको झुलुके घाम....५

तीतरीको चरीको प्वाँखैमा....५

मैना चरीको प्वाँखैको ....५

विहानै पखको झुलुके घाममा।

ढुकुरे चरीको प्वाँखैमा ..५

विहानै पखको झुलुके घाममा।

यसरी गीत गाउँदै बगनासकालीको गोपाल्दीका ५० वर्षीय बीरबहादुर रानाले भने जब घर अगाडिको रुखमा बसेका चराको प्वाँखमा घाम लाग्थ्यो तब मेलोपात जाने बेलाको जानकारी हुन्थ्यो। हजुरबा र बाले गाउने गरेका गीत सम्झीदै उनले भने पछिल्ला समयमा आएका तडकभडक गीतले घरघरमा विकृति मौलाएको छ।

यस्तो विकृति रोक्नको लागि पुरानो संस्कृतिलाई संरक्षण गरी युवापुस्तामा हस्तान्तरण गर्नुपर्ने उनले सुझाव दिए। बीरबहादुर भन्छन् मानिसको जीवन ब्यवहारसँग मेल खाने गीतले व्यक्तिलाई मेहनती र अनुशासित बनाउछ।

बगनासकाली गाउँपालिकाले ३८औं मगर दिवशको अवसरमा पुराना लोक संस्कृति संरक्षण गर्न भन्दै झाम्रे, सालैजो, सोरठी र मारुनी नाचको प्रतियोगिता आयोजना गरेको छ। बगनासकाली गाउँपालिका–३ का वडा अध्यक्ष तथा आदिवासी जनजाती समन्वय समिति बगनासकालीका संयोजक टीकाबहादुर थापाले हराउँदै गएको संस्कृतिलाई बचाउन प्रतियोगिता नै आयोजना गरेको बताए। उनका अनुसार प्रतियोगितामा ७ समुहको सहभागिता रहेको थियो।

सहभागीमध्य गोपाल्दी झाम्रे तथा सालैजो समुह प्रथम, खोरबारी आमा समूह दोस्रो र चिलाङ्दी मगर समुह तेस्रो भएका छन्। उनीहरूलाई क्रमश: ५ हजार, ३ हजार, २ हजार र सहभागी सबै समुहलाई प्रोत्साहनस्वरूप १/१ हजार प्रदान गरेको अध्यक्ष थापाले बताए।

‘अन्य समुदायको तुलनामा बढी मगर समुदायका युवा गीतसंगितमा रमाउने गरेको देखिन्छ’ उनले भने ‘यी युवालाई आधृनिक गीतमा भन्दापनि पुराना सँस्कृतिमा जोडन् सके समाजमा सकारात्मक विकासको लागि सहयोग पुग्ने थियो।’ स्थानीय सरकारले कुनै पनि समुदायको विशेष संस्कृति र रितिरिवाजलाई संरक्षण र प्रवद्र्धन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा अध्यक्ष थापाले जोड दिए।

सदियौंदेखि पछाडी परेको समुदायका नागरिक सचेत नहुँदासम्म समाजको विकास नहुने बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले बताइन्। मानिसको चेतनामा सकारात्मक परिवर्तन नहुँदासम्म भौतीक विकासले कुनै अर्थ नराख्ने उनले बताइन्। ‘अझै केहि वर्ष निश्चित समुदायका नागरिकलाई सचेतनामुलक कार्यक्रमको आवश्यकता छ’ उपाध्यक्ष चिदीले भनिन् ‘केवल दिवश मनाउने मात्र नभई सम्बन्धित समुदायको कला, संस्कृति र रितिरिवाजको वास्तविक संरक्षण गर्न राज्यले ध्यान दिनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.