साहित्य

कथा : वनपाले

फागुन १७, २०७६

    धर्तीमा म जन्मेको दिन ठूलो जहाज खस्यो। धेरै मान्छे मरे। साउनको महिना, ठूलो झरी पर्‍यो, मान्छेका आँसु त्यही झरिले बगायो। झरीसँगै बगेका आँसुको कसले मतलब गर्ने! दुनियाँ आँसुमा डुबे पनि म खुसी थिएँ। मैले यस धर्तीमा जन्म लिन पाएको थिएँ। मैले संसार देख्न पाएँ। आमालाई धन्यवाद, यस्तो दुःखद् घडीमा पनि मलाई जन्म दिइन्।

    आकाश मडारियो। धर्ती पानीले भरियो। खोलापारिको जंगल हरियो भयो। जंगलभरि अनेक झार उम्रे। म पनि झारसँगै उर्मेँ।  हुर्केँ। बढेँ। दौडेँ।

    म जन्मेपछि आमाले नौलो चिज चाखिन्, गड्यौंलाको झोल। बाले आमालाई जिस्काउन पर्‍यो भने त्यही गड्यौंलाको झोल सम्झाउँदै जिस्काउँथे। आमासँग ठाकठुक पर्दा पनि सुनाइरहन्थिन्,  ‘गड्यौंला खाइखाइ हुर्काको पाजीले पनि धाक लाउँछन्!’  त्यसपछि मेरो मुखमा बुझो लाग्थ्यो। 

    बाजेले भूतका कथा टेपरेर्कडले भने जसरी भन्थे। घण्टौं सुनाउँथे बाजेले कथा। बाजेले भूतका कथा आफूले भोगेजस्तै, देखेजस्तो गरेर सुनाउँथे। भूत सम्झेर निकै डर लाग्थ्यो। झन् त्यो पारिको जंगल हेर्दा खुब डर लाग्थ्यो। कतै त्यही जंगलबाट भूत आयो भने? म सिरकमा गुटीमुटी पर्थें। जंगलबाट भूत कहिल्यै आएन। तर जंगलको  वनपाले आइरहन्थ्यो।

    वनपाले  अनुहार  डर लाग्दो थियो। भूतभन्दा पनि हुने। म मात्र होइन, गाउँका सबै मान्छे उसलाई देखेर डराउँथे। उसले जे भने पनि चल्थ्यो यो गाउँमा। जे पनि गर्थ्यो। जे पनि बोल्थ्यो।  रक्सी खाएर बेला बेलामा बौलाउँथ्यो। गाउँभरि तथानाम गाली गर्दै हिँड्थ्यो। उसको चित्त नबुझेको दिन वनभित्र बसेका गाईवस्तुलाई पनि छोड्थेन। खुब पिट्थ्यो।

    गाउँ, उसको चित्तमा टिकेको थियो।  उ हाम्रो घर सधैं आउँथ्यो। उसका लागि रक्सी खाने सानदिदीको निःशुल्क पसल थियो।  रक्सी मात्र खान्थेन, दिदीलाई दुःख पनि दिन्थ्यो। दिदी ऊबाट कसो कसो गरेर उम्किन्थिन्। सानदिदी केही भन्न सक्थिनन्, मात्र उसलाई पछाडिबाट आँखा तर्थिन्। यो सब हामीले देखे पनि नदेखे जस्तै गर्थ्यौं।

    बोल्ने के? बोल्यो भने भोलिदेखि दाउरा नपाएर पसल बन्द हुन्थ्यो। जसको साहाराले घर चलेको थियो। हाम्रो मात्र होइन। उसले दश दिन जंगलभित्र छिर्न दिएन भने धेरैको रोजीरोटी बन्द हुन्थ्यो। ऊ राजा थियो राजा! यो गाउँको र पूरा जंगलको।

    कहिले काँही रक्सी नखाएर पनि बौलाउँथ्यो। हप्तौं जंगलभित्र मुसो पनि छिर्न दिन्थेन। लोभ देखाए पनि ऊ आफ्नो अड्डी लि बस्थ्यो। अनुरोध गर्दा ऊ यत्ति भन्थ्यो ‘माथिको आदेश छ।’ मैले त्यही दिन थाहा पाएँ साला! शिवराम खत्रीभन्दा पनि ठूलो मान्छे हुँदो रहेछ। वनपाले शिवरामभन्दा ठूलो मान्छे झन् कस्तो होला? के त्यो शिवराम भन्दा बढी डर लाग्दो हुन्छ होला? शिवरामले जस्तै गाउँका मान्छेलाई सताउँछ होला?  के हरेक मान्छे ठूलो हुन अरुलाई दुःख दिनुपर्छ? 

    शिवराम आफ्नो घर दाङतिर हो भन्थे। श्रीमती र छोराछोरी उसलाई भेट्न आइरहन्थे। ऊ घर निकै कम जान्थे। उसले एकदिन पनि गाउँ छोड्यो भने निकै घाटा लाग्थ्यो। ‘जंगलको कमाइले दाङको लमहीमा ठूलो घर हालेको छ रे’ सविर काकाले भनेको सुनेको थिएँ। कतै जान परे पनि जासुस राखेर जान्थ्यो। यो गाउँमा जासुस भनेपछि सबैले कल्लुलाई चिन्थे। शिवरामको जासुसको काम कल्लुले गर्थ्यो। शिवरामको काम कल्लु निकै बफादारसँग गर्छ। हरेक कुराको रिपोर्ट गर्थ्यो।

    ‘शिवरामले त कल्लुलाई आफ्नो बुढीभन्दा बढ्ता विश्वास गर्छ। साला! कल्लु शिवरामको कान्छी बुढी हो।’ जोगीराम दाइले भनेको सुनेको थिएँ। गाउँमा कल्लुलाई कसैले देख्न सक्दैनन्। तर उसलाई गर्न कसैले केही सक्दैन। सबैलाई थाहा थियो यो शिवरामको नजिकको मान्छे हो। शिवरामको आडमा ऊ यो गाउँमा बाँचेको थियो।

    गाउँमा कसैले जंगलको रुख काटेको थाहा पायो भने शिवराम तेब्बर फाइदा लिन्थ्यो। उसले काठ पनि गायब गर्थ्यो। र पैसा र रक्सी पनि खुब खान्थ्यो। गाउँमा एउटा कहावत थियो ‘शिवरामले पैसा नपाए जुँगा पनि हल्लाउन्न।’

    गाउँले र शिवरामको सम्बन्ध नङ र मासुको जस्तो थियो। तर नङ उक्किए दुख्ने त मासुलाई हो भने जस्तो थियो। शिवराम बौलायो भने घाटा गाउँलेलाई हुन्थ्यो। शिवराम नङ र हामी मासु थियौं।

    शिवरामले हिजो राति रक्सीले मातेपछि सुकेको घरमा छिर्‍यो। सुकेकी श्रीमतीलाई समात्न खोजेछ। आफ्नै श्रीमती  हातपात गर्न आएको शिवरामलाई सुकेले चौकीमा लगेर सुतायो। सुकेले नसोचेको होइन, शिवरामलाई लातैलात हानेर चौकीभित्र हुलम  र भोलि  कालो मोसो दलेर सारा गाउँ डुलाउँ। तर उसकी श्रीमतीमाथि उठ्ने प्रश्न कसरी सामना गर्ने भन्ने सोच्यो। उसलाई थाहा छ पानी सधैं ओरालो बग्छ। यो रतनपुरको हो। यहाँ नखाएको विष पनि लाग्छ। 

    सुकेले कुरा घरभित्रै लुकायो। उसले केही नभए जस्तो गर्‍यो। शिवरामको यो गाउँमा धेरैसँग केही न केही लफडा परेको छ। जोगीरामसँग भट्टीमा लफडा काठको मुद्दासँग जोडेर एक महिना थुनायो।  जोगीरामले उसको रिसले गाउँ छाडे।  जोगीरामले चुपचाप सहनभन्दा केही गर्न सकेनन्। शिवराम यो गाउँमा सबैको टाउको दुखाइ भइसकेको थियो। 

    घामसँगै म जंगलतिर पुगिसक्थेँ। मेरोजस्तै भक्तेको पनि आधा समय जंगलतिर बित्थ्यो। हामीलाई पढ्न खासै मन थिएन।  बस! जिन्दगीमा शिवराम जस्तो वनपाले बन्न पाए हुने भन्ने मनमा थियो। जसले सारा गाउँलाई थर्काउँछ। भक्ते सधैं हाँगामा बसेर भन्थ्यो, ‘जागिर खाए, यही वनपालेको खाने हो।’

    मलाई त वनपाले हुन्छु भन्ने आँट थिएन। शिवरामलाई त दाङमा राजा आएको बेला बिन्ती भाउ गरेर यो जागिर बक्सिस पाएको हो रे। तर हाम्रो गाउँमा त राजा कहिल्यै आए पो बिन्ती भाउ गर्न जानु। अनि कसरी खानु वनपालेको जागिर?

    ‘राजा २० वर्ष पहिले एकपटक बर्दियामा शिकार खेल्न आए। राजाको आदेशमा सबै गाउँलेलाई बाघ लखेट्न आउनु भन्ने उर्दी भयो। सारा गाउँ बाघ लखेट्न बेघारी गयो। त्यही बेला राजाको दर्शन ५०० मिटरबाट गर्न पाएको। हात्तीमाथि बसेका राजाले जंगलमा पनि कालो चश्मा लगाएका थिए। पाँचवटा बाघ मारेर राजा गए।  त्यसपछि यो गाउँमा केही वर्ष बाख्रा खाने बाघ आउन हरायो। आनन्द भयो।' चक्रे काकाले राजाको कुरा भाका हालेर सुनाउथे। उनले त यो उमेर भइसक्दा एकचोटी देखे राजा, हामीले त कैले देख्न पाउनु? अनि कसरी गर्नु बिन्ती?  

    हाम्रो राजा उही शिवराम थियो। उसलाई नपुजेर सुखै थिएन। उसको एक इसारामा गाउँ थर्किन्थ्यो। राजाको हात शिवरामको शिरमाथि छ भन्ने डरले मुखिया पनि ऊसँग केही बोल्न सक्थेनन्। कस्ता राजा होलान् जसले शिवरामको शिरमाथि मात्र हात राखे। राजालाई सम्झेर रिस उठ्यो। तर बाजेले भनेको सम्झेँ ‘राजा विष्णुका अवतार हुन्।’ राजादेखि उठिसकेको रिस मनमनै फिर्ता लिएँ। 

    समय फेरियो। राजाविरुद्ध चोकचोकमा कुरा हुन थाल्यो। ‘को राजा? अब जनताको छोरा हो राजा।’ नन्दराम चौधरीले चिया पसलमा भनेको सुनेँ। ‘अब हामी पनि हेरौंला कसरी चल्दो रहेछ, यो गाउँमा कसैको दादागिरी?’

    चिया पसलमा सबैले मुखामुख गरे। शिवरामले पनि सुन्यो तर आज केही बोल्न सकेन। कहिले नबोल्ने नन्दराम चौधरी बोलेको देख्दा सबै दंग परे। यसरी गर्ज्यो, मानौं लमकलीको जगलमा बाघ गर्जिएको हो। ऊ बौलाहा हात्तीभन्दा डरलाग्दो देखिएको थियो। नन्दाराम थारु कराएपछि बिजुलीको तारमा बसेका काग भुर्र उड्यो। उसको कुरोले शिवराम मात्र होइन, काग पनि तर्स्यो। 

    नन्दरामको कुरो चिया पसल, जंगल, खोलानाला, खेतखलियान,गाउँले र शिवराम सबैले सुने।

    ‘थाहा छ, नन्दराम थारु माओवादी हो। नत्र यसरी बोल्न कोही सक्छ?’ भक्तेले मेरा कानमा भन्यो। मान्छे बोल्नका लागि माओवादी हुनुपर्दो रहेछ! मनमनै सोचेँ।

    शिवराम खत्री गाउँबाट हरायो।  रतनपुरको चौकीमा ताला लागेको एक महिना भइसक्यो। केही दिनलाई घर गयो होला भन्ने लाग्यो। त्यो नन्दराम थारुको धम्कीले त के डराउँथ्यो! तर डराकै हो क्या! छ महिना हुँदा पनि ऊ यो गाउँमा देखिएन। त्यसपछि नन्दराम थारुलाई सबैले फरक नजरले हेर्न थाले। मान्छेले सोचे, अब शिवरामले चौकी छाड्यो। चौकीको वरिपरी ठुलठूलो घाँस उर्मियो।

    रतनपुरको चौकीमा नयाँ वनपाले आयो। चौकीमा प्रहरी मात्र बस्दैन‚ हाम्रोतिर वनपाले बस्छन्।  अर्को कुरो पनि सुनियो। रतनपुर चौकीमा फेरि  शिवराम आयो तर हाकिमको खाना बनाउने भान्से बनेर। कस्तो रवाफसँग बसेको मान्छे। साले भान्से पो रहेछ! म मात्र होइन सारा गाउँले छक्क परे।

    नयाँ वनपाले बोलीमा एकदम मिजासिलो थियो। उसले गाउँका मान्छेका भेला पारेर भेटघाट कार्यक्रम राखे। उसको भाषण एकदम मिठो थियो। कुनै दम्भ थिएन। उसको भाषणमा एउटा शब्द दोहोरिरह्यो– पर्यावरण। उसको घरिघरि दोहोरिएको यो शब्दले सबैले एकअर्कालाई हेर्दै  मुसुमुसु हाँसे। हाम्रो जंगललाई उनीहरुको भाषामा पर्यावरण भन्दा रहेछन्। शिवराम जस्तो राजाको थमौतीले जागिर खाएको होइन! लोकसेवा पास गरेर आएको हो अरे।

    वनपाले फेरियो भने उसलाई कसरी रिजाउने भन्ने अनेक उपाए लागाइन्थ्यो यो गाउँमा। यो पर्यावरण वनपालेलाई मुखियाले फकाउन अनेक उपाए गरे। सकेनन्। सबैलाई लाग्यो, 'एकदुई महिनापछि ठिक होला।' ऊ ठिक ठाउँमा आएन। उसले हामीलाई ठिक ठाउँमा ल्यायो। यो गाउँमा पहिलोपल्ट यस्तो भएको थियो।

    जंगलतिर हेरेँ। सुसाइरहेको जंगलले मलाई पर्खेको जस्तो लाग्यो। जंगलभित्र जाने सबै बाटो बन्द भए। भुरुङ बनाउन भक्तेले काठ पाउन छाड्यो। उसको भुरुङ व्यवसाय धरापमा पर्‍यो। उसको भुरुङ व्यापार डुबेकोमा म भित्रभित्रै खुसी थिएँ।  गाउँले गाईभैंसी इन्डियाबाट आउने मुसलमानलाई बेच्न थाले। सस्तो भाउमा गाईभैंसी पाएपछि मुसलमानले खुसी हुँदै लगे। हामीले पनि फुर्के गोरु र भैंसी बेच्यौं।  धेरै खेतबारी हुनेले घरको पराल र खेतको घाँसले एउटासम्म भैंसी पाले। वर्षभरि खेतको घाँस परालले पाल्न धौधौ हुन्थ्यो। दाउरा पनि घर वरिपरि भएका रुख र तिनका हाँगा काट्दै गुजार गर्न थालेका थिए। खोलाले नदीको धार मोडेजस्तै यो पर्यावरण वनपाले गाउँलेहरुको दैनिकी मोडिदिएको थियो। गाईभैंसी पालेर गुजारा गर्नेहरु इन्डिया जान थालेका थिए। म र भक्ते जंगलभित्र छिर्न नपाएपछि कहिले खोला कहिले घर गर्थ्यौं। जंगलबाट हामीलाई हावाबाहेक केही मिलेन। 

    ‘यो पर्यावरण वनपालेभन्दा शिवराम धेरै जाती हो।’ चिया पसलमा यस्तो कुरो गर्न थाले। हेर! मान्छेले धर्म बिर्सिएका। त्यस्तो हरामी शिवराम कसरी ठिक हुन्छ? जसले सानदिदीलाई हरेक दिन चिमोटी रहन्थ्यो। जसले गाउँलेलाई नोकरजस्तै ठान्यो। गाउँका मान्छेसँग बोल्दा इज्जत गर्दैनथ्यो। जसले पैसाका लागि गाउँका धेरै मान्छेलाई फसायो। त्यो कसरी ठिक हुन सक्छ?  मान्छे पनि कति छिटो बिर्सन सकेका! होइन, शिवरामले कहिले काहीँ जंगल जान त दिन्थ्यो। त्यसको बदलामा चुकाउनुपर्ने मूल्य? त्यो जे होस्। तर मान्छेको गुजारा त चलेको थियो! 

    पर्यावरण वनपाले मारियो। त्यो पनि बगौरा फाँटमा, गैंडाको साथमा। गाउँलेहरु उसलाई हेर्न बगौरातिर दौडे। छ महिनापछि गाउँले जंगल छिर्न पाएका थिए। त्यसका लागि पर्यावरण वनपाले मर्न पर्‍यो। ऊ बाँञ्चुन्जेल चरो मुसो छिर्न पाएन।  

    बगौरा फाँटमा मान्छेले भरिएको थियो। जनावर बस्ने फाँटमा मान्छेको मेला थियो। भिडतिर गयौं। ठूलो गैंडा लडेको थियो। गैंडा लडेको अलि पर मान्छेको लास थियो। पर्यावरण वनपालेले लगाइरहने रातो रिर्सट देखें। उही रहेछ। घाँसमा घोप्टो परेका थिए। उसको अनुहार। घोप्टे परेको लास पुलिसले सुल्टो बनायो। अनुहार सुन्निएर ठूलो भएको थियो, भुँडी फुलेको थियो। हिजो राति सबेरै मारिएछ! पुलिसले लास उठायो। मान्छेहरु घर फर्के।

    मान्छे मर्दा पहिलोचोटी खुसी लाग्यो। वनपाले मान्छे इमान्दार त हो! राम्रो मान्छे मर्दा दुःखी हुनुपर्ने। तर मलाई खुसी लाग्यो। भक्तेलाई हेरें‚ उसको अनुहार पनि उज्यालो देखिन्थ्यो। याने कि यो पनि खुसी थियो। तर ऊ मरेको हामीले खुसी देखाउन भने सकेनौं। चिया पसलमा गएँ सबै गाउँलेको अनुहार उज्यालो देखिन्थ्यो। मतलब गाउँले पनि खुसी छन्। 

    घर आएँ। आमाबाले भैंसीको पाडो भए पनि किन्ने सल्लाह गर्दै थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]