‘तत्काल संविधान संशोधन हुँदैन, एमसिसी संशोधनपछि मात्रै पास हुन्छ’

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धमा चिसोपन नआएको बताएका छन्। 

सिन्धुपाल्चोकको सुकुटे महोत्सवको उद्घाटन गर्न सुकुटे पुगेका अध्यक्ष दाहालले शनिबार प्रेस संगठन नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। 

उनले पार्टीभित्रको आन्तरिक विषयमा छलफलको क्रममा विमति देखिनु स्वाभाविक भएको पनि बताए। ‘बाहिर चर्चामा आएजस्तो प्रधानमन्त्रीजीसँग मेरो सम्बन्धमा कुनै खटपट आएको छैन। तर, पार्टीभित्रको आन्तरिक विषयमा छलफलको क्रममा फरक मत देखिनु स्वाभाविक हो’ उनले भने। 

पार्टीभित्र देखिएका विवादको विषयलाई सम्याउनकै लागि प्रधानमन्त्रीसँग निरन्तर छलफल चलिरहेको अक्ष्यक्ष प्रचण्डले बताए। राष्ट्रिसभामा बामदेव गौतमलाई लाने कुरामा सचिवालयका निर्णय भएकै कारणले प्रधानमन्त्रीसमेत सहमतिमा आउने जिकिर गरे। 

‘सचिवालयमा हामी नौ सदस्य छौँ। त्यहाँ अहिले वामदेव मात्रै संसद्बाहिर हुनुभयो। त्यसैले हामीले उहाँलाई पनि राष्ट्रियसभामा लाने निर्णय गरेका हौँ’ उनले भने। 

गौतमलाई राष्ट्रियसभामा लगेर संविधान संशोधनमार्फत प्रधानमन्त्री बन्‍ने लडाइँ गौतम एक्लैको भएको तर्क गरे। ‘गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधनको चर्चा चुलिएको छ। तर, त्यो अहिल्यै हुन सक्दैन’ उनले भने। 

पार्टीले अमेरिकी परियोजना एमसिसी अध्ययन कार्यदलको प्रतिवेदनमाथि अध्ययन गरिरहेको जनाए। ५५ अर्ब देशका लागि ठूलो नभएकाले राष्टिय हितविपरीत पास नहुने बताए। ‘एमसिसीको सम्झौता संशोधन गराएर मात्रै पास गर्नुपर्ने अध्ययन कार्यदलले भनेको छ।

अहिले हामी त्यस विषयमा केन्द्रित भएका छौँ’ उनले भने, ‘सचिवालयमा एमसिसीको विषयमा छलफल भइरहेको भए पनि त्यसमा केही समयमै निर्णय लिन्छ।’  निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन अडियो प्रकरणमा छानविन भइरहेको भएकाले आफूले केही बोल्न नपर्ने तर्क गरे।

सुकुटेसँग पुरानै सम्बन्ध

सिन्धुपाल्चोकमा पनि सुकुटेसँग आफ्नो पुरानो सम्बन्ध गाँसिएको भएकाले सुकुटे आइरहन मन लाग्ने बताए। ‘सुकुटेसँग मेरो पुरानो सम्बन्ध गाँसिएका छ। त्यसैले म यहाँ बेला बेलामा आइरहन्छु’ उनले भने, ‘म आइरहने भएकाले पनि यहाँको विकासमा थप टेवा पुगेको  छ जस्तो लाग्छ।’

सिन्धुपाल्चोकको सुकुटेले नेपाल भ्रमण वर्ष २०२० मा समेत सधाउन पुग्ने बताए। देशको अर्थतन्त्रसँग जोडिएको तातोपानी नाका खुलाउन आफूले सक्दो पहल गरेको समेत जनाए। ‘चीनमा फैलिएको कोरोना भाइरसको कारणले अहिले नाकाबन्द भएको छ। अब कोरोनाको संक्रमण रोकिएपछि तातोपानी नाकालाई व्यवस्थित गरेर पूर्णरूपमा सञ्चालनमा ल्याउन पहल गरिरहेको छु’ उनले भने। 

नेपालमा करिब ७० वर्षपछि राजनीतिक स्थायित्व कायम भएको पनि उनले बताए। संघीय लोकतान्त्रिक गणतन्त्रले देशमा समृद्धिको बाटोमा लाग्‍न चुनौती भएको जनाए। नेकपाको सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नाराको बाटोमा अघि सरेको प्रष्टाए। पार्टीको केन्द्रीय कमिटीको बैठकपछि पार्टी जनपक्षीय कामको लागि देश दौडाहमा लागेको समेत स्पष्ट पारे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.