चलनचल्तीको पात्रोअनुसार बुधबार माघ शुक्ल पञ्चमी। विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने दिन। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ। यसै दिन(बालबालिकालाई) विद्यारम्भ गराउने निर्देश पनि छ। श्रीपञ्चमी पनि भनिने यस दिन विद्या व्यसनलाई धर्म र कर्म बनाएका सनातनीहरूले गायत्री वा सावित्रीरूपी सरस्वतीको आराधना गर्छन्।
नाम अनेक
संस्कृत (अमर) कोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन्। पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ। यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई वाग्देवी (वाक् देवी) भनिएको छ।
सरस्वतीको उत्पत्ति
एक्लै सृष्टि सम्भव नभएका कारण ब्रह्माले आफ्नो शरीरलाई आधा गरी एक भाग पुरुष र अर्को भाग नारी बनाए, तिनीबाट मानिसहरूको सृष्टिप्रक्रिया अघि बढ्यो। आफ्नै शरीरबाट उत्पन्न गरी आफैंसँग संसर्ग गरेको भन्ने भावले लज्जित हुँदै नारी स्वरूपले मानिसको शरीर छोडी विभिन्न जीवजन्तुको शरीर धारण गर्दा पुरुष पनि त्यही–त्यही बनी सृष्टिप्रक्रिया अघि बढेको प्रसङ्ग आउँछ।
पुराणका कथाको अर्थ
पुराणका कथाका आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीन अर्थ हुन्छन् । भौतिक रूपले सोझो अर्थमा बुझ्दा कतिपय सन्दर्भहरू अनर्थ लाग्छ। सनातन धर्मका आलोचकहरूले सरस्वती ब्रह्माको छोरी भएको र ब्रह्माले छोरीसँग संसर्ग गरेको जस्ता अनर्थ लगाउने प्रयास गरेको पाइन्छ। यद्यपि श्रीमद्भागवत महापुराणमा मरीचि आदि यो विषयमा छोराहरूले बाबु ब्रह्मालाई सम्झाएको, ब्रह्माजीले लज्जित भई शरीर त्याग गरेको जस्ता प्रसंग नआउने होइन।
आफ्नै शरीरबाट उत्पन्न भएकी हुनाले सरस्वतीलाई छोरी भएको अर्थमा यस्तो व्याख्या गरिएको हो। तर सृष्टिप्रक्रिया अघि बढाउनुपर्ने सत्यलाई मनन गर्दै एउटै शरीर आधा पारी ब्राह्म र ब्राह्मी भएको तथ्य हो। मनुस्मृतिमा ‘द्विधा कृत्वाऽऽत्मनो देहमर्धेन पुरुषोऽभवत्\अर्धेन नारी तस्यां स विराजमसृजत् प्रभुः’ (१-३१) अर्थात् ब्रह्माले आफ्नो शरीरलाई दुई भाग लगाई आधा नारी आधा पुरुष भए। उनै स्त्रीबाट विराट् नामका पुरुषको सृष्टि गरे।
विद्या र सरस्वती परिपूरक शब्द हुन्। विद्या प्राप्त गर्न सरस्वतीको कृपा हुनैपर्छ भन्ने सनातन धर्मको मान्यता छ। विद्यावृद्धिका लागि ऋषिमुनिहरूले समेत सरस्वतीको आराधना गरेका पुराणहरूमा उल्लेख छ। देवीभागवतमा याज्ञवल्क्य मुनिले ग्रन्थ रचनाका लागि सरस्वतीको आराधना गरेको ऋनवम स्कन्ध पाँचौ अध्याय) उल्लेख छ। सेतो वस्त्रमा सुशोभित, चार हातमा स्फटिकको माला, वीणा र पुस्तक लिएर पद्म (कमल)को आसन बनाएकी, शान्त स्वरूपकी भगवती सरस्वतीले सदा सर्वदा बुद्धि–विद्या प्रदान गरुन् भन्ने विद्यार्थीको कामना हुन्छ।
विद्या र सरस्वती
केलाई विद्या भन्ने, विद्याको उपयोग कसरी गर्ने र कसलाई विद्वान् भन्ने विषयमा विवाद रहँदै आएको छ। वैदिक हिन्दु धर्मसंस्कृति (स्वाद्ध्यायशाला, २०६५) पुस्तकमा उल्लेख भएअनुसार जुनसुकै विषयको सुघटित ज्ञान नै विद्या हो। विद्या दिनेले त सकेसम्म सबैले नै बराबर पाऊन् भन्ने उद्देश्य लिएका हुन्छन् तर किन कोही मेधावी बनेर निस्कन्छन् कोही मुर्ख? विद्या ग्रहण गर्नेको क्षमता, बुद्धि र विवेक यहाँनिर आइपुग्छ। सरस्वतीले कतिको साथ दिन्छिन् भन्ने पनि यहीँ खुल्छ।
अरुलाई अन्याय र अत्याचार गर्नसमेत विद्याको प्रयोग हुँदै आएको उदाहरण वर्तमानमा मात्र होइन पुराणमा पनि पाइन्छ। रावण, कंस, मय आदिले आफूसँग भएको विद्याको दुरुपयोग गरी निरीहलाई दुःख दिएका थिए। अहिले पनि बिरामीको अंग नै झिकेर व्यापार गर्ने चिकित्सक, अनियमितता गरी कमसल खालको निर्माण गर्ने अभियन्ता, मानव र विश्वकै लागि संकट ल्याउन लागिपर्ने वैज्ञानिक नभएका होइनन्। तर एउटा सत्य के हो भने विद्याको सदुपयोग गर्नेलाई सरस्वतीले संधै साथ दिन्छिन्। विद्याको दुरुपयोग गर्नेहरू केही समय प्रगतिको मार्गमा देखिए पनि उनीहरूको अन्त्य दुःखद नै हुन्छ।
विद्याका प्रकार
वेदान्त (उपनिषद्) अनुसार विद्या भन्नाले उपासनारूप ज्ञान र ब्रह्मात्मज्ञानरूप ज्ञान भन्ने बुझिन्छ। जीवात्माको र परमात्माको अभिन्न रूपमा ज्ञान गर्नुलाई ब्रह्मात्मक ज्ञान वा आत्मज्ञान वा ब्रह्मज्ञान भनिन्छ। मोक्ष विषयक ज्ञानलाई ज्ञान र शिल्प विषयको ज्ञानलाइ विज्ञान भनिन्छ। परा र अपरा गरी शास्त्रमा विद्यालाई दुई भागमा बाँडिएको छ।
जुन विद्याले ब्रह्म वा परब्रह्मको ज्ञान हुन्छ त्यो परा हो। जगतका विषयमा ज्ञान हुने विद्या, अपरा । चार वेद र शिक्षा, कल्प आदि वेदाङ्गको शब्दराशिलाई लिएर अभ्यास मात्र गर्ने पक्षलाई मुण्डकोपनिषद्मा अपरा विद्या भनिएको छ। वेदद्वारा प्रतिपादित ब्रह्मज्ञान तत्त्व पराविद्या हो।(वैदिक हिन्दु धर्मसंस्कृति)।
प्रा.डा.दीर्घराज घिमिरे विद्यालाई मानसरोवरसँग तुलना गर्छन्, ‘जो निरन्तर बग्न सक्दैन त्यो विद्या होइन। सर भनेको तलाउ हो। निरन्तर धाराप्रवाहित हुने सबैभन्दा ठूलो तलाउ मानसरोवर हो। यत्ति फरक छ त्यो निरन्तर बाहिर बग्छ। विद्याको प्रवाह भने अन्तरआत्मामा बग्नुपर्छ। सरस्वती विद्या व्यसनीको भित्रभित्रै बहन्छिन्।(श्रीमद्भागवद्गीता तत्त्वप्रकाश,२०५६) फूल–अक्षता–पाती र धूप–दीप–नैवेद्यले मात्र सरस्वती खुशी हुन्छिन् त? घिमिरे लेख्छन्,' 'यसका लागि विद्या प्रवाह निरन्तर कायम गरिराख्नुपर्छ। स्वाध्यायोऽध्येतव्यः अर्थात् प्रमाद नगरी निरन्तर स्वाध्याय गरिरहनुपर्छ।’
पूर्वीय मान्यतामा विद्या
विद्या ददाति विनयम्...अर्थात् पूर्वीय मान्यताअनुसार विद्याले मानिसलाई विनय र विवेकशील बनाउनुपर्छ। अरुलाई चोट लाग्दा आफूलाई लागेको जस्तोगरी दुख्नुपर्छ। यसको विपरीत आज मानिसमा विनय, विवेक र परोपकारको भावना हराउँदैछ। भौतिक सुखभोगका लागि दौडाउने विद्याको प्रचुरता छ। एउटा मानिसले अर्कोलाई नगन्ने, अरुको अस्तित्व स्वीकार नगर्ने, आफू अघि बढ्न अरुलाई चोट दिन सिकाउने विद्याको बाहुल्य हुँदै गर्दा मानवीय मूल्य मान्यता हराउँदैछन्।
सत्य बोल्ने, देवतासरह आमा–बाबु–गुरुको मान राख्ने, अन्य मान्यजनलाई सम्मान गर्ने, सानालाई स्नेह गर्ने, आफ्नो धर्म–संस्कृतिको हर तरहबाट रक्षा गर्ने, कुलतमा नलाग्ने, जस्तोसुकै संकटमा पनि विचलित नभई समाज र मातृभूमिका लागि निरन्तर लाग्ने मान्यता पूर्वीय विद्यामा पाइन्छ। त्यसैले भौतिकताको अन्धो दौड सिकाउने विद्याभन्दा आत्मज्ञान दिने विद्यालाई बढावा दिनु आवश्यक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।