निरन्तर विवाद, पछि हट्दै ओली

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई पछिल्लो समय विवादले गाँजेको छ। पार्टीभित्र राष्ट्रियसभा सदस्य चयन, संविधान संशोधन, अमेरिकी परियोजना एमसिसी, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको टेप प्रकरण लगायतको विषयले गर्दा नेकपाभित्र विवाद गाँजिएको छ। विवाद मिलाएर जान नेकपा नेता माधवकुमार नेपालले केही दिनयता आफ्नो सक्रियता बढाएका छन्। 

मुख्यतयाःअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मत बाझिँदा पार्टीभित्र रडाको मच्चिरहेको छ। नेकपाको यसअघिको सचिवालय बैठकले राष्ट्रियसभामा वामदेव गौतमलाई लाने निर्णय गरेको थियो। तर, प्रधानमन्त्री ओलीले नै पार्टी सचिवालयको निर्णय अस्वीकार गरेपछि नेकपाभित्र विवाद बढेको थियो। 

तर, सचिवालय अन्य सदस्यहरूले भने निर्णय भइसकेपछि गौतमलाई राष्ट्रियसभा सदस्यमा रोक्न नहुने अडानमा देखिएका छन्। आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा जवाफ दिँदै नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको विषय टुंगो लागिसकेको बताए। 

यद्यपि, प्रधानमन्त्री ओलीले भनेर राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा देखिएका थिए। अध्यक्ष दाहालसहित नेकपाका अन्य नेताहरू र प्रधानमन्त्री ओलीसँग राष्ट्रियसभा सदस्यको विषयमा कुरा नमिलेपछि राष्ट्र्रियसभामा गौतमलाई नै लगेर, अर्थमन्त्री खतिवडालाई पनि निरन्तरता दिने पक्षमा पार्टी नेतृत्व पुगेको नेकपा निकट स्रोत बताउँछ। 

पार्टीभित्र गुट उपगुटमा शीर्ष नेताहरू नै लागेका कारणले विवाद सिर्जना भएको नेकपाको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। ‘केन्द्रीय कमिटीको बैठकमा गुटको कुरा त्याग्नुपर्नेमा जोड दिइएको थियो। तर, शिर्ष नेताहरूले त्यो गर्न सक्नुभएको छैन ’ उनले भनिन्। 

सरकारमा रहेको कम्युनिष्टको शक्तिशाली पार्टीभित्रले गुटको राजनीति नछोडेसम्म पार्टीको अगाडि बढ्न नसक्ने नेकपाको केन्द्रीय सदस्य शेरबहादुर तामाङ बताउँछन्। ‘दुई धारमा रहेका धेरै नेताहरू एकै ठाउँमा समायोजन हुन समस्या परेको मात्रै हो’ उनले भने, ‘तर, थोरै तेरो मेरो देखिनु सामान्य हो। त्यो विस्तारै हट्छ।’

नेताहरूले गुटउपगुट त्याग्‍नुपर्ने धारणा राखिरहेको भए पनि शीर्ष नेताहरूले गुटको राजनीति अझै त्याग्न सकेका छैनन्। तर, प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको एक कार्यक्रममा सरकार ढाल्न शक्ति सक्रिय भएको अभिव्यक्ति राखेपछि राजनीति तरंगित भएको थियो। 

तर, प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि तरंगित भइरहेको बेलामा अध्यक्ष दाहालले सिन्धुपाल्चोक पुगेर दुई अध्यक्षबीचको सम्बन्धमा चिसोपना नरहेको भन्दै आन्तरिक छलफलको क्रममा विमति देखिनु स्वाभाविक भएको तर्क गरेका थिए। 

भैँसेपाटी भेलाले संविधान संशोधन प्रस्ताव 

सचिवालयको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने प्रस्ताव ल्याएको बताइएको छ। सभामुख चयनको विषयलाई लिएर अध्यक्ष दाहालको नेतृत्वमा भैँसेपाटीमा भएको एकपक्षको भेलाबाट नै संविधान संशोधनको प्रस्ताव अघि सारेको स्रोतको दाबी छ। 

भैंसेपाटी भेलामा गौतमलाई प्रधामन्त्री बनाउने पक्षमा नेकपाको शीर्ष नेताहरूबीच सहमति भएको थियो। पार्टीभित्र विवाद चलिरहेका बेला संगठन विभाग प्रमुख गौतमको भैंसेपाटीस्थित घरमा दाहालको नेतृत्वमा एउटा गुट भेला भएको थियो। 

दाहालको नेतृत्वमा झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतको नेताहरूले वार्ता गरेका थिए। भैँसेपाटी भेलाकै कारण ओली दाहालले चाहेको नेता (अग्‍निप्रसाद सापकोटा)लाई सभामुख दिन बाध्य भएका थिए। 

दाहालप्रतिको ओलीको आक्रोश केन्द्रीय कमिटी बैठकमा पनि देखिएको थियो। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालले पार्टीभन्दा धेरै गुटको नेतृत्व गरेको आरोपसहितको लिखित दस्तावेजसमेत पेश गरेका थिए।

यद्यपि, सोही भेलाअनुरूपको निर्णयलाई सार्थकता तुल्याउन अध्यक्ष दाहालले कार्यदल गठन गर्ने प्रस्ताव गरेको बुझिएको छ। स्रोतका अनुसार अध्यक्ष दाहालको प्रस्तावमा नेता नेपालसहित झलनाथ खनाल, रामबहादुर थापा ‘बादल’ले पनि स्विकार गरेका थिए। तर, प्रधानमन्त्री ओलीले भने सचिवालयमा सबै एकमत भएपछि मौन सहमति जनाए। यस्तै ओली निकट मानिएका विष्णु पौडेल र ईश्वर पौखरेलले मौन समर्थन गरेका थिए। 

निरन्तर विवाद, कमजोर देखिँदै ओली

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टी एकतापछि श्रृंखलाबद्ध विवाद देखिँदै आएको छ। पार्टीभित्र विवादमा रहेको प्रायः सबै एजेण्डामा ओली र दाहालको मत बाझिएका छन्। पार्टीभित्र तीव्र चर्चामा पाएको सभामुख चयन, अमेरिकी परियोजना एमसिसी, निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, राष्ट्रियसभाको सदस्य चयन, संविधान संशोधन लगायको विषयमा अध्यक्ष दाहाल र प्रचण्डबीच मतभेत हुँदै आएको छ। 

पार्टीमा विवाद देखिएको विषयमा पछिल्लो समय अध्यक्ष दाहालले आफ्नो लय राखेका छन्। सभामुखमा पनि अध्यक्ष निकटका अग्‍निप्रसाद सापकोटालाई ल्याउन सफल भएका छन्। अमेरिकी परियोजना एमसिसी प्रधानमन्त्री ओलीले संशोधनबिना नै पास गर्ने पक्षमा देखिएका थिए। तर, अध्यक्ष दाहाल लगायतका शीर्ष नेताहरूले संशोधन विना अघि बढाउन नसक्ने अडान कसेपछि ओलीले एमसिसीको सम्झौता संशोधनमा सहमत भएका थिए। 

बाँस्कोटा प्रकरणदेखि गौतम प्रकरणसम्म आइपुग्दा पछिल्लो समयमा प्रधानमन्त्री ओली पार्टीभित्र कमजोर बन्दै गएको देखिन्छ। पार्टी एकतापछि प्रधानमन्त्रीनिकट मानिएका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका शीर्ष नेताहरू नै अध्यक्ष दाहालनिकट भएपछि पार्टीभित्र ओली कमजोर बन्दै गएको हुन्।  

मन्त्री खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यअवधि सकिनै लाग्दा शुक्रबार पनि अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनालले गौतमको पक्षमा शुक्रबार बिहान पनि दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका थिए। 

नेपालको मध्यमार्गी भूमिका

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टीभित्र विवाद देखिएपछि नेता नेपालले मध्यमार्गी भूमिका निर्वाह गरिरहेका छन्। पार्टीभित्र गुम्सिएको विवादलाई सम्याउनका लागि नेपालले ओली र दाहालबीच मध्यमार्गीको भूमिका निर्वाह गरेर भेटघाटलाई तीव्रता दिएका छन्। 

यद्यपी, नेता नेपाल पनि पछिल्लो समय अध्यक्ष दाहालसँग नजिक भएको ओली पक्षको आरोप छ। 

पार्टीभित्रको विवाद मिलाउन दैनिक पार्टीका शीर्ष नेताहरूबीच गुटगत भेटघाट भइरहेको छ। आइतबार बसेको सचिवालय बैठकअघि नेपालले अध्यक्ष दाहालसँग कोटेश्वर पुगेर भेट गरेका थिए। भेटघाटपछि अध्यक्ष दाहाल र नेता नेपाल बालुवाटारसँगै गएका थिए। 

आइतबार बिहानै उपाध्यक्ष वामदेव गौतमले पनि अध्यक्ष दाहाल निवास खुमलटार पुगेर भेट गरेका थिए। नेता नेपालले मध्यमार्गी भूमिकाबाट अर्थमन्त्रीमा युवराज खतिवडा र मन्त्रिपरिषद्को सिफारिसमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनीत गराउने कसरत गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.