७५ प्रतिशत जिल्ला सभापतिहरूकाे साथ पौडेललाई

|

हेटौंडाः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरू १४ औं महाधिवेशननजिकै गर्दा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध तिखो प्रहार गरिरहेका छन्।

आइतबार नेपाल प्रेस युनियन मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलसहितका नेताहरूले देउवाविरुद्ध आरोपै आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सभापतिले  विधानविपरित काम गरेर पार्टीलाई कमजोर बनाएको आरोप लगाए। उनले पार्टी सभापति देउवाले निर्वाचन आचारसंहिता विपरित १४ औं महाधिवेशन नजिकिँदै गर्दा पद र पैसा बाँडेर पार्टीलाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए।

वरिष्ठ नेता पौडेलले भने,' महाधिवेशनको मुखमा विभाग गठन गरेर आफ्नो व्यक्तिगत प्रभाव बढाउन खाजेकाे छ। यस्तो विधान विपरित कार्य हामी स्वीकार गर्न सक्दैनौं।' उनले सभापति देउवाले गठन गरेको विभागमा विधान विपरित भएकोले मान्न नसक्ने समेत बताए।

कांग्रेस महामन्त्री शशांक कोइरालाले आफू निर्वाचित भएपछि सभापतिले विभाग गर्न आनाकानी गरेको तर महाधिवेशन नजिकिँदै गर्दा विभाग गठन गरेर व्यक्तिलाई आकर्षित गर्न खोजिएको आरोप लगाए। उनले आफू खुशी विभाग बढाएर २८ बाट ४८ पुर्‍याएको दावी समेत गरे। महामन्त्री कोइरालाले देउवाले गरेको कुनै पनि गतिविधिमा आफ्नो सहमति नरहेको दाबी गर्दै पार्टीलाई नोक्सान हुने कार्यमा मात्र सभापतिले ध्यान दिएको बताए।

संस्थापनइतरका नेता रहेका पूर्व महामन्त्री प्रकाशमान सिंले देउवा एकलौटी ढंगले अगाडि बढेको स्वीकार्य नहुने बताए। उनले निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा प्रभावित पार्न गरिएको कुनै पनि कदममा सहमति नभएको प्रष्ट पारे। शेरबहादुर देउवाले समय अनुकूल अगाडि बढ्न नसकेकोले आगामी महाधिवेशनबाट देउवालाई रिप्लेस गर्ने बताए। अहिले त्यही अनुसार तयारी गरिरहेको पनि उनले बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री रामशरण महतले महाधिवेशनलाई प्रभावित पार्ने गरी विभागको पदाधिकारी नियुक्ति गरेको उनले बताए।महतले भने देउवाले 'कोड अफ कन्डक्ट' आचार संहित नै उल्लंघन गरेर एक पक्षीय ढंगले अगाडि बढेको बताए। उनले देश नै भ्रष्टाचारमा डुबेको बताए। संघीयताले नै नधान्ने गरी देशको अर्थतन्त्र असरल्ल अवस्थामा रहेको बताए। उनले सरकारले विधेयकमार्फत अधिनायकवाद ल्याउन खोजेको समेत बताए। 

नेपाल प्रेस युनियनका मकवानपुरका अध्यक्ष कुमार अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलबहादुर केसी, विभिन्न जिल्लाका जिल्ला सभापति लगायतको उपस्थिति रहेको थियो।

पौडेल पक्षको भेला, अधिकांश सभापति आफ्नो पक्षमा भएको दाबी

२०७२ फागुनमा भएको १३ औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाको नियमित कार्यकाल सोमबारबाट सकिँदैछ। त्यसपछि उनी काम चलाउ हैसियतमा आगामी एक वर्षसम्म रहने छन्। त्यही अनुरुप पौडेल पक्ष देश दौडाहामा निस्कीसकेको छ। आइतबार पौडेल पक्षका बागमती प्रदेश भरिका पूर्व जिल्ला सभापति, हालका आफ्नो पक्षका जिल्ला सभापतिहरूको भेला हेटौंडामा गरेको छ।

वरिष्ठ नेता पौडेलको दाबी अनुसार ७५ प्रतिशत भन्दा धेरै जिल्ला सभापतिहरू पौडेल पक्षमाछन्। पत्रकार सम्मेलनमा समेत उनले ७६ मध्ये ५५ भन्दा बढी सभापति आफूसँग भएको दाबी गरेका हुन्।

शेरबहादुर देउवाको नेतृत्व नेपाली कांग्रेस भइन्जेल कांग्रेस ठूलो पार्टी नबन्ने तर्क गर्दै पौडेल पक्षका शीर्ष नेताहरू तल्लो तहसम्म पुगिरहेको एक नेताले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.