|

बारा : पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको तौलपुल (धर्मकाँटा) पुनः सञ्चालमा ल्याउन बाराका राजनीतिक दलका नेता, जनप्रतिनिधि र स्थानीय प्रशासन लागेका छन्। तराई यातायात व्यवसायी संघले एक दशकदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र सञ्चालन गर्दै आएको धर्मकाँटा गैरकानुनी रहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाराको पलहमा २०७५ फागुन २८ मा बन्द गरेको थियो। 

सोही धर्मकाँटा पुनः सञ्चालन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाराका अध्यक्ष, प्रधानमन्त्री केपी शर्मा ओलीका तत्कालीन जनसम्र्पक सल्लाहकार, जितपुरसिमरा उपमहानगरका प्रमुखसहित नेकपा प्रदेशसभा सदस्यहरु संघीय सरकारको राजधानीमा रहेका शक्तिकेन्द्र धाइरहेका छन्। नगरप्रमुख डा. कृष्ण पौडेलसहित दलका नेता कार्यकर्तालाई तराई यातायात व्यवसायी संघले सिमरा–काठमाडौं आउनेजाने हवाई भाडाका साथै खाने बस्ने प्रबन्ध समेत मिलाएको स्रोतको दाबी छ।

उपमहानगर प्रमुख पौडेलले धर्मकाँटा पुनः सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेकाले काठमाडौं गएको स्वीकार गरेका छन्। उनले भने, ‘बन्द रहेको धर्मकाँटा निकुञ्ज क्षेत्रमै पुनः कसरी सञ्चालन गर्न सकिन्छ, सहकार्य गरिदिनुप¥यो भन्नुभएकाले सरोकारवाला निकायसँग छलफलका लागि हामी आएका हौं।’

तराई यातायात व्यवसायी संघले भन्सारबाट छुटेका मालवाहक सवारीसाधन धर्मकाँटामा तौलेबापत व्यवसायीहरुसँग रकम उठाउँदै आएको थियो। त्यही बन्द धर्मकाँटा त्यसलाई खुलाउन प्रदेश २ का प्रदेशसभा सदस्य तथा दलका नेताहरुमार्फत संघका पदाधिकारीले यसअघि पनि गृह, भौतिक पूर्वाधार र वन मन्त्रालयमा पटकपटक डेलिगेसन गएको थियो। प्रदेश २ प्रदेशसभा सदस्य सुन्दर विश्वकर्माले संघका पदाधिकारीले आफूलाई पनि बोलाएको स्वीकार गरे। तर, प्रदेशसभा बैठकका कारण उक्त डेलिगेसनमा जान नसकेको बताए। 

‘उहाँहरुले मलाई पनि जानुपर्छ  भन्नुभएको थियो। तर, प्रदेशसभा बैठकका कारणले म जान सकिनँ,’ विकले भने, ‘धर्मकाँटा हामीलाई आवश्यक छ। तर, यो निजी व्यवसायीले  सञ्चालन गर्ने होइन, सरकारले चलाउनु पर्छ। यसका लागि जितपुरसिमरा उपमहानगरले सोच्नुपर्छ।’

राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रसम्बन्धी कार्यविधि २०६५ अनुसार नेपाल सरकारको राष्ट्रिय प्राथमिकताका आयोजनाबाहेक निजी व्यवसाय वनक्षेत्रभित्र सञ्चालन गर्न  पाइँदैन। पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमीर महर्जन सामुदायिक वन क्षेत्र निजी व्यवसायीलाई दिन नसकिने बताउँछन्। उनले भने, ‘उहाँहरुले विभाग, मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाटै निर्णय गराएर ल्याउनुभयो भने छुट्टै कुरा। तर, हामीले धर्मकाँटा सञ्चालनका लागि वन क्षेत्रभित्रको जग्गा दिन सक्दैनौं।’

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले गैरकानुनी रुपमा सञ्चालित धर्मकाँटा पुनः सञ्चालन गर्न गृह मन्त्रालयले कुनै सहयोग नगर्ने बताउँछन्। ‘उहाँहरु  धर्मकाँटा सञ्चालन गर्न सहयोग गरिदिनुप¥यो भनेर पटकपटक आउनुभयो। तर, यसमा हाम्रो प्रष्ट धारणा छ, नियमविपरीत भनेर बन्द भएको धर्मकाँटा पुनः सञ्चालनमा हुँदैन,’ प्रवक्ता शर्माले भने, ‘यसमा भौतिक पूर्वाधार मन्त्रालयले चासो देखाएको हामीले बुझेका छौं। तर, गृहले यसमा सहयोग गर्दैन।’ 

गृह मन्त्रालयका निर्वमान सचिव प्रेमकुमार राईले गैरकानुनी ढंगले सञ्चालन भएकाले बन्द गरिएको तराई यातायात व्यवसायी संघको धर्मकाँटा अन्यत्र सार्नुको विकल्प नभएको बताउँछन्। ‘म गृहसचिव हुँदा उहाँहरुले जिल्लाका माननीय, दलका नेता र जनप्रतिनिधिसहितको टोली आएर धर्मकाँटा पुनः सञ्चालन गर्न दवाव दिनुभयो। तर, मैले निकुञ्ज क्षेत्रभित्र सञ्चालित धर्मकाँटा पुनः सञ्चालन गर्न मिल्दैन, त्यसलाई आफ्नै जग्गामा सार्नुस् भनेको थिएँ,’ निवर्तमान गृहसचिव राईले भने, ‘तर उहाँहरु अझै पनि  पुरानै ठाउँमा सञ्चालन गर्न सकिन्छ कि भनेर दौडिरहनुभएको छ।’

तराई यातायात व्यवसायी संघको अम्लेखगञ्जमा रहेको करिब एक बिघा क्षेत्रफल रहेको जग्गामा धर्मकाँटा सार्न यसअघि गृह मन्त्रालयले पटकपटक निर्देशन दिएको थियो। तत्कालीन प्रमुख जिल्ला अधिकारी राजेश पौडेले २०७५ फागुन ७ मा धर्मकाँटा बन्द गराउन पर्सा राष्ट्रिय निकुञ्जलाई पत्र काटेको भोलिपल्ट नै संघको धर्मकाँटामा ताला लगाइएको थियो। दैनिक लाखौं रुपैयाँ आम्दानी हुने धर्मकाँटा बन्द भएपछि संघका पदाधिकारी त्यसलाई खुलाउन राजनीतिक, प्रशासक र प्रदेश सभा सदस्य, दलका नेताहरुको सहारा लिँदै आएको छन्। 

हाल देशभर २४ वटा धर्मकाँटा सञ्चालनमा छन्। तीमध्ये मकवानपुरबाहेक अन्य जिल्लामा  यातायात व्यवसायीले सञ्चालन गर्दै आएका छन्। नारायणी यातायात व्यवसायी संघले सञ्चालन गरेका हेटौंडाको धर्मकाँटा अहिले मकवानपुर नगरपालिका र यातायात व्यवसायीहरुको सहकार्यमा सञ्चालनमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.