डेढ महिनासम्म भारतमा लुकेका थिए

|

सुनसरी : बलात्कार अभियोगमा थुनामा राख्‍ने अदालतको आदेशलगत्तै भारततिर भागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा हाजिर भएका छन्। 

गत माघ ९ गते उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीको आदेश उल्ट्याउँदै थुनामा राख्‍ने आदेश दिएलगत्तै सिद्धबाबा भारतमा लुकेका थिए। 

भारतमा लुकेर बसेको करिब डेढ महिनापछि उनी मंगलबार जिल्ला अदालत सुनसरीमा हाजिर भएका हुन्। बलात्कार मुद्दामा उनलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राखेर घटनाको अनुसन्धान गर्न आदेश दिएको थियो।

तर उच्च अदालतले आफ्नो विपक्षमा आदेश दिने सुइँको पाएका उनी माघ ९ मा सहयोगीसहित जोगवनी नाकाबाट भारततिर फरार भएका थिए। आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी 'सिद्धबाबा' लाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो। 

गत माघ ९ मा उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। 

जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए। सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पुर्पक्ष माग गर्दै निवेदन दायर गरेका थिए। 

उच्च अदालतमा मुद्दा चल्दाचल्दै सिद्धबाबा भारत भागेका थिए। अनुयायीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका सिद्धबावा उच्च अदालत परिसरबाटै भारततिर लागेका थिए।। 

नेपाल प्रहरीका हवल्दार अंगरक्षक र गाडी फर्काएर गिरी जोगवनी नाकाबाट भारत पसेका थिए।  प्रहरीले गिरी उपचार गराउन भारत हिँडेको बताएको थियो। सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले गिरी उपचारका लागि भन्दै भारत गएको हुनसक्ने बताएका थिए। 

गिरी भारततर्फ गएपछि सुरक्षा गार्ड हवल्दार मुकेश साहलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ तानिएको थियो। जगद्‍गुरु घोषणा भएपछि कृष्णदासलाई नेपाल प्रहरीका हवल्दारलाई उनको सुरक्षार्थ अंगरक्षक खटाइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.