|

इटहरी : बलात्कार मुद्दामा अदालत समक्ष आत्मसमर्पण गरेर पुर्पक्षका लागि कारागार चलान भएका कृष्णबहादुर गिरि उर्फ सिद्धबाबालाई सर्वोच्च अदालत जाने बाटो समेत खोलिएको छ। उच्च अदालतले आफ्नै अनुयायीलाई बलात्कार आरोपमा ४० दिनपछि पुर्पक्षका लागि कारागार चलान भएका सिद्धबाबाको मुद्दा सर्वोच्च जाने बाटो खुलेको हो।

जिल्ला अदालतमा हाजिर भएसँगै सिद्धबाबाको सुनुवाइका लागि पेसी समेत तोकिएको छ। आफ्नै अनुयायीलाई बलात्कार आरोपमा मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका सिद्धबाबाको मुद्दामा सुनुवाइको लागि फागुन २८ को पेसी तोकिएको हो।

सिद्धबाबालाई जिल्ला अदालत सुनसरीमा चल्दै गरेको ’केश’ लाई सोही अदालतले थुनछेक बहस सकिएपछि धरौटी खुलाएर छोडेको थियो। मंसिर १६ गते जिल्ला अदालतले प्रचलित कानुन अनुसारको गम्भीर मुद्दामा धरौटीमा छाडेको भन्दै सुनसरीको सरकारी वकिल कार्यालय उच्च अदालतमा पुनरावेदन गर्न पुगेको थियो।

जिल्ला अदालत सुनसरीले धरौटीमा छोड्ने आदेशकाविरुद्ध पीडित तर्फबाट मुद्दा लड्दै आएका सरकारी वकिल एक तह माथिको उच्च अदालत गएको थियो। मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ७३ को प्रावधान अनुसार पुर्पक्षको लागि थुनामा पठाउने माग सरकारी वकिलले गरेको थियो।

नियम अनुसार उच्च अदालतले गरेको मुद्दाको आदेशको विषयमा सिद्धबाबाले पनि सहजै पुनरावेदन गर्न (रिकल) सक्दछ। संहिताको दफा ७३ भनिएको छ ’यस परिच्छेद बमोजिम भएको थुनछेक वा तोकिएको धरौटी, जमानत वा बैंक जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्नेछ।’ सोही प्रावधानअनुसार सिद्धबाबा पक्षका वकिलहरू उच्च अदालतले पुर्पक्षको लागि दिएको आदेशविरुद्ध सर्वोच्च अदालत जाने बाटो खुलेको हो।

मुद्दाको पेसी समेत तोकिसकेको अवस्थामा सिद्धबाबा सर्वोच्चमा उच्चको आदेशविरुद्ध जाने संकेत पीडित तर्फका वकिलले दिएका छन्। सर्वोच्चमा मुद्दा लिएर जाँदा जिल्ला अदालतको सक्कल मिसिल झिकाएर निर्णय गर्न सक्ने भएकाले जिल्ला अदालतको पेसी स्थगित हुन सक्ने हुन्छ।

उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरेर माघ ९ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पुनरावेदनपछि जिल्लाको आदेश उच्च अदालतले उल्ट्याएर पुर्पक्षको लागि कारागार चलान गर्ने आदेश दिए पनि सिद्धबाबा ’फरार’ थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.