साहसी र आत्मविश्वासले दृढ नेता

|
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपण कार्य सफलतापूर्वक पूरा गरेका हुन्। 

प्रधानमन्त्री ओलीको पहिलो पटक २०६४ साउनमा प्रथम पटक मिर्गौला प्रत्यारोपण भएको थियो। भारतको ओपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका  ओलीले दोस्रो पटक नेपालकै सरकारी अस्पताललाई रोजे। उनले मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन थिएटरमा जानुअघि भनेका थिए, 'म आफ्नै भूमिमा उपचार गर्दैछु, मेरो आफ्नै माटोमा मिर्गौला प्रत्यारोपण हुँदैछ, त्यसैले आत्तिनुपर्दैन।'

प्रधानमन्त्री ओलीलाई भाञ्‍जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। अहिले प्रधानमन्त्री ओली र मिर्गौला दाता संग्रौलाको स्वास्थ्य सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  ओलीलाई पहिलोपटक भाइबुहारी अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन्। समीक्षा उनकै भाञ्‍जी हुन्। 

पछिल्लो सयम मन्त्री र नेताहरु सामान्य रोगका लागि पनि उपचारको बहानामा विदेश जाने प्रचलन बढेको छ। तर त्यो क्रमलाई ब्रेक लगाउँदै प्रधानमन्त्री ओलीले नेपालमै मिर्गौलाको प्रत्यारोपण गराएका हुन्। 

उपचार श्रृंखला

पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका थिए। २०६४ सालमा मिर्गौलाको प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओली २०७० मंसिरमा स्वास्थ्य परीक्षणकै लागि भारतको मेदान्त मेडिसिटीमा पुगेका थिए। 

त्यसलगत्तै प्रधानमन्त्री ओलीमा २०७० फागुन हातखुट्टामा संक्रमण देखिएको थियो। हातखुट्टाको संक्रमण भएपछि उनले ग्राण्डी इन्टरनेसनल अस्पतालमा उपचार गराएका थिए। 

हातखुट्टाको संक्रमणको बेलामा नेपालकै अस्पतालमा उपचार गराएका प्रधानमन्त्री ओलीले २०७० फागुनमा भारतको  नयाँदिल्ली नै स्वास्थ्य परीक्षण गराएका थिए। 

एकपछि अर्को रोगको शिकार बन्दै आएका प्रधानमन्त्री ओलीको छातीमा २०७५ कात्तिकमा संक्रमण देखियो। छातीको संक्रमण भएपछि प्रधानमन्त्रीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान सेन्टरमा उपचार गराएका थिए।  

स्वास्थ्य परीक्षणका लागि ओली २०७६ साउन ६ मा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल पुगेका थिए। केही दिन उपचार गराएर फर्किएका प्रधानमन्त्री २०७६ साउन १८ फलोअपका लागि पुनः सिंगापुर गएका थिए। २०७६ भदौमा प्रधानमन्त्री ओलीले सिंगापुरको त्यही अस्पतालमा ६ चरणसम्मको प्लाजमाफेरेसिस गरेका थिए। 

तर सिंगापुरमा गराइएको प्लाज्मा फेरेसिसले काम नगरेपछि ओलीले गत कात्तिकदेखि नियमित डायलाइसिस गराइरहेका थिए। त्यसपछि २०७६ मंसिर १० मा  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान सेन्टरमा एपेन्टिसाइटिसको शल्यक्रिया गरिएको थियो। इपेन्टिसाइटिसको शल्यक्रिया गराएपछि ओलीले मिर्गौलाको निरन्तर डायलाइसिस गराउँदै आएका थिए। 

साहसी, आत्मविश्वासले दृढ 

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न पनि दरिलो आत्मविश्वासका साथ गएका थिए। अस्पताल भर्ना हुनुअगावै ओलीले देशवासीको नाममा सम्बोधन गरेका थिए।

ओलीले आफू मिर्गौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भइ नियमित काममा फर्कने बताएका थिए। प्रधानमन्त्री ओली राजनीति र स्वास्थ्य दुवैमा साहसी भएको प्रमाणित उनी आफैँले गरिसकेका छन्। 

‘मेरो सिंगो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ', उनले केही दिनअघि भनेका थिए, 'विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ,’ उनले भनेका थिए। 

गत फागुन ४ गते प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भनेका थिए, ‘०६४ सालमा मैले किड्नी बदलेको थिएँ। ‘मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादी शक्तिहरुसँग लडेर, जनविरोधी शक्तिहरुसँग लडेर यत्तिकै बित्या छ।’

उनले आफ्नो पेट चारपल्ट राम्रैसँग चिर्‍या समेत बताएका थिए। ‘मेरो शरीरका केही अंग फालिएका छन, केही अंग काटिया छन्। केही अंग फेरिया छन्। मलाई यो बानी परिसकेको छ। शरीरभित्र तार, यन्त्रसन्त्र राखेर चल्नुपर्‍यो भने पनि चल्न सक्छु’, उनले भनेका थिए। प्रधानमन्त्री ओलीले आफूलाई इलेक्ट्रोनिक सामाग्री रेडियो र व्याट्रीहरुसँग पनि तुलना गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.