काम चलाउ भइसकेकाले मनलाग्‍दी गर्न पाइँदैन

|

यतिबेला नेपाली कांग्रेसमा आन्तरिक खिचातानी र गुटको राजनीति मौलाउँदो छ। शक्ति हत्याउने नाममा भएको गुटबन्दीले कांग्रेस थला जस्तै परेको टिप्पणी हुन थालेको छ। आन्तरिक विवादकै कारण कांग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताइन्छ। रामचन्द्र पौडेल समूहसँगको विवादबीच सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन गरेका छन्। पौडले समूहको तीव्र विरोधका बावजुद देउवाले विभागहरुमा मनोनीत गरेपछि कांग्रेसको किचलो झन्  बढेको छ। 

कांग्रेसको भद्रगोललाई लिएर उसका शुभचिन्तक र कार्यकर्ताले चिन्ता जनाइरहेका छन्। तर पनि नेताहरुबीच सानेपालाई छाडेर बोहोराटार, बूढानीलकण्ठ र चाक्सीबारीमा गुटभेला भइरहेको छ। सानेपामा बसेर निकालिनुपर्ने समाधान गुटभेलाले झन् जटिल बनेको छ। कांग्रेसमा बढेको जटिलता, नेताहरुबीचको विवाद र भावी महाधिवेशनबारेमा केन्द्रित भएर केन्द्रीय सदस्य बद्री पाण्डेसँग थाहा खबरकर्मी सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी :  

कांग्रेसको भद्रगोलबारे के भन्‍नुहुन्छ?

यो पार्टीको महाधिवेशनको कार्यतालिका बनाउने कुरामा ठूलो रस्साकस्सी नै चल्यो। छलफल पनि भयो। छलफलबाट एउटा निचोड पनि निस्कियो र पार्टीको महाधिवेशनको कार्यतालिका आयो। यतिखेर पार्टीको सम्पूर्ण शक्ति महाधिवेशनको तयारीमा खटिनुपर्ने बेला हो। पार्टीको विधानले पनि त्यही भन्छ।

महाधिवेशनमा जाने हाम्रो परम्परा र पद्दतिले पनि त्यही भन्छ। तर, नेतृत्वले विषयान्तर गर्ने प्रवृत्‍ति देखायो। अन्य प्रकारका कार्यक्रम बनाउने नियुक्तिहरू गर्ने। अब हामी काम चलाऊ हैसियतमा अधिवेशन गराउने केन्द्रीय कार्यसमिति मात्रै छौँ। त्यसको सभापति पनि त्यही रूपमा हुनुहुन्छ।

उहाँ नै विषयान्तर गर्नेतर्फ उन्मुख हुनुभयो। हामीले यसरी विषयान्तर गर्न भएन। अहिलेको सरकारले गर्दा जनताले बेहोरेको गोलमालमा पार्टी फस्‍नु हुँदैन। सबैको ध्यान पार्टीको महाधिवेशनमा हुनुपर्छ। हाम्रो सबै क्रियाकलाप, निर्णयहरू, भूमिकाहरू अधिवेशन केन्द्रित हुनुपर्छ भन्‍ने अहिलेको पार्टीभित्रको आवाज हो। यसलाई नेतृत्वले सुनेर अघि बढ्दा पार्टीमा नयाँ ऊर्जा पैदा हुन्छ पार्टी गतिशील हुन्छ। 

तपाईंहरू पार्टीमा विरोध गरिरहने उता सभापतिज्यूले धमाधम विभाग गठन र नियुक्ति गरिरहने भएको छ नि?

सभापतिज्यूले जे गरिरहनु भएको छ, त्यो एकदमै गलत गरिरहनु भएको छ। उहाँले जुन समयमा आएर जे गर्दै हुनुहुन्छ त्यो देखेर यस्तो लाग्दैछ कि १३ औँ महाधिवेशन भर्खरै सकिएको छ।

यो कुनै पनि हिसाबले राजनीतिक हिसाबले, वैधानिक हिसाबले, आवश्यकताको सिद्धान्तको हिसाबले र हाम्रो मूललक्ष्यलाई सहयोग पुर्‍याउने हिसाबले जहाँ जान पनि बाधा पुर्‍याउने खालले नियुक्ति भएका छन्, विभाग विस्तार भएका छन्। अहिले सभापतिज्यूले जे गरिरहनु भएको छ यसले पार्टीलाई बलियो बनाउन सहयोग पुर्‍याउने होइन कि अधिवेशनमा जान बाधा पुर्‍याउने, अवरोध खडा गर्ने खालका भएकोले उहाँका यस्ता क्रियाकलाप रोक्नुपर्छ भन्‍ने मेरो मान्यता छ। 

कांग्रेसमा प्रशिक्षण भएन, प्रशिक्षण दिन नसकेरै नयाँ पुस्ता पार्टीमा आएनन् भन्‍ने तपाईं नै अहिले जिल्ला उपसभापतिहरूका लागि बोलाइएको प्रशिक्षणमा नजान केही जिल्लाका उपसभापतिलाई उक्साउन लागि पर्नुभयो नि? 

यो सान्दर्भिक छैन। किन भने फागुनको १६ गतेका दिनदेखि क्रियाशील सदस्यता वितरण र नवीकरण प्रक्रिया प्रारम्भ भयो। त्यसको लागि जिल्ला जिल्लामा सदस्यता नवीकरण र वितरणका लागि फारामहरू गएका छन्। यतिखेर जिल्लाका उपसभापतिहरूलाई काठमाडौँमा बोलाउने र अन्त विषयान्तर हुन्छ। यो भनेको महाधिवेशनको कार्यतालिका प्रभावित हुनु हो।

त्यसैले दायाँबायाँ हुन विषयान्तर हुन जरुरी छैन। प्रशिक्षणको कुरा योभन्दा चार वर्ष पहिले, तीन वर्ष पहिले, दुई वर्ष पहिले किन नउठाएको? अहिले प्रशिक्षण त हामी अधिवेशनकै बेलामा गरिहाल्छौँ नि। अधिवेशनको बेलामा बन्द सत्र, खुल्ला सत्र हुन्छ। यही मौकामा प्रशिक्षण भइहाल्छ। त्यसैले यतिखेर छुट्टै प्रशिक्षण, अभियान जरुरी छैन। 

सभापतिलाई गुटको राजनीति गर्नुभयो, आफ्ना मान्छेलाई काखी च्याप्नु भयो भनेर बाहिर भाषण ठोक्ने अनि तपाईंहरू चाहिँ कहिले चाक्सीबारी, कहिले कता छुट्टै भेला गरेर बस्‍न थाल्नु भएको छ त? 

सभापतिज्यूले गुटको राजनीति गर्न मिल्दैनथ्यो। गुटहरूभन्दा उहाँ माथि हुनुपर्थ्‍यो। गुटको राजनीति उहाँले गरि नै रहनुभएकोले उहाँले त्यस्तो गर्न हुन्न, गुटहरूलाई निस्तेज पार्नुपर्छ, गुटको शक्तिले पार्टीलाई क्षति पुर्‍याउन हुन्‍न भन्‍ने दृष्टिकोणबाट वातावरण बनाउन, सुझाव दिन, दबाब दिन चाहिँ हामी यो खालको भेला गर्न बाध्य भएका हौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.