|

काठमाडौं : पछिल्लो समय विश्वमा कोरवना भाइरसको जोखिमले तरङ्गित बनाइरहेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको बताएको छ। सरकार, प्रशासन र स्वास्थ्य मन्त्रालयले पनि सभा सम्मेलन नगर्न र भिडभाडमा नहिँड्न सर्वसाधरणलाई आह्वान गरिसकेको छ।

कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकारले तदारूकता देखाइरहँदा बढी मानवीय गतिविधी हुने सडकका चोक-चोकमा खटिइने ट्राफिक प्रहरीको सुरक्षामा चाही के हुँदैछ? ट्राफिक प्रशासनलाई दक्ष, अनुशासित, मेहनती र सुझबुझ ढंगले काम गर्ने चुस्त र दुरुस्त बनाउने अभियान कहाँ पुग्यो? उपत्यकाभित्र रहेको ट्राफिक व्यवस्थापनबारे थाहा खबरकर्मी राजु पौडेलले ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालसँग बुझ्ने प्रयास गरेका छन्।

कोरोनाको जोखिम उच्च रहेको बेला नेपालीहरू त्रसित बनिरहेका छन्, सडकमा खटिइने ट्राफिक प्रहरीलाई यो जोखिममा पर्न नदिन के काम भइरहेको छ?

कोरोना भाइरसको जोखिम बढिरहेको कुरा बाहिर आइरहेको छ। यसलाई ध्यान दिइरहेका छौं। प्रहरी प्रधान कार्यालयबाट पनि यस सम्बन्धनमा कोरोनाबाट बचेर आफ्नो काम गर्ने निर्देशन आइसकेको छ। जसरी आम सर्वसाधारणलाई सरकारले कोरोनाबाट बच्न आह्वान गरिरहेको छ, त्यस्तै हामीले पनि ट्राफिकका विभिन्न पदमा रहेका जवानहरूलाई सुरक्षित भएर काम गर्न सुझाव दिइरहेका छौं। आम जनमानसको हकमा जे सुचित भइरहेको छ, त्यो अवस्था ट्राफिकहरुमा लागु गर्न हामी अगाडी बढेका छौं।

ट्राफिक दोबाटोमा देखिन्छन्, ट्राफिकहरुले कपडाको मास्क लगाउने गरेका छन्, महाशाखाले सर्जिकल मास्क, एन ९५ मास्क उपलब्ध गराउन किन लोभ गरेको हो?

लोभ गरिएको छैन। हामीसँग सरकारी नियम अनुसार खरिद गरेर सरकारले दिएको मास्क सबैलाई नपुग्ने अवस्था भएकोले यो देखिएको हो। सम्बन्धित निकायसँग सबै ट्राफिकहरुलाई चाहिने आधारभुत किसिमका पुर्वाधार माग  भइरहेको छ। हरेकलाई ट्राफिक प्रहरीलाई हामीले मास्क वितरण गरेका छौं। नपुगको हकमा चाहीँ अन्य मास्क पनि लगाइरहनु भएको छ। सरकारले दिएको मास्क हामीले सकेसम्म वितरण गरेका छौं, गरिरहन्छौं। 

भिडमा नबस्न स्वास्थ्य मन्त्रालयले आह्वान गरिसकेको छ, तर ट्राफिक प्रहरीको काम नै भिडभाड र मानिस आवतजावत गर्ने स्थानमा हुन्छ, जोखिम त बढी नै छ नि !

हामीले सार्वजनिक कार्यक्रम गरेका छैनौं। अहिले त्यस्ता कार्यक्रम पनि संचालन गर्ने हाम्रो योजना छैन। प्रशासनले पनि भिडमा नबस्न आग्रह गरिसकेको छ। तर काम नै भिडभाड व्यवस्थापन गर्ने जिम्मा हाम्रो भएकोले सतर्कता अपनाउनु नै हाम्रो पहिलो काम हो। यहाँ प्रशासनले नै भिडभाड नगरिदिन आग्रह गर्दागर्दै नागरिकहरू भिड गर्छन् भन्ने मलाई लाग्दैन। किनभने यहाँ आम नागरिक पनि आफ्नो स्वास्थ्यमा सचेत छन्। 

मादक पदार्थ सेवन (मापसे) जाँच गर्दा यसको जोखिमलाई कसरी व्यवस्थापन गरिएको छ?

सामान्यतया: मादक पदार्थ सेवन गरे या नगरेको पत्ता लगाउन प्रहरीले 'ब्रेथलाइजर'को प्रयोग गर्छ। तर चाप बढ्दो र ट्राफिकसँग सीमित ब्रेथलाइजर भएकोले मुख सुँघेर मापसेको जाँच गरिँदै आएको छ। हाल महाशाखासँग ७२ वटा ब्रेथलाइजर छ। थप्ने क्रममा पनि छौं। कोरोनाको त्रासमा ट्राफिकले मापसे चेक गर्दैन भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ। हामी कोरोनाबाट बच्न आवश्यक सक्षम छौं। यसकारण मापसे चेकिङमा कुनै अवरोध सिर्जना हुँदैन। हाम्रो अनुरोध के छ भने कृपया ट्राफिक नियम पालना गरेर असल नागरिकको परिचय दिनुस।

यो कोरोनाको विषय भयो, अब ट्राफिक व्यवस्थापनमा कडाई गर्नु भएको छ, तर मापदण्ड विपरीत मालवाहकले सामान बोकिरहेका छन्, ट्राक्टर टिप्परबाट बालुवा ढुवानी गर्दा पानी चुहाउँदै हिँड्छन्, यसमा तपाइहरूको ध्यान नपुगेको हो?

हामीले यो विषयमा लगातार काम अगाडी बढाइरहेका छौं। सामान्यतया: काठमाडौं उपत्यकामा भौतिक पुर्वाधार निर्माणका लागि चाहिने गिटी र बालुवा बोक्ने टिप्पर, ट्याक्टर, जीपहरूलाई निगरानी गरिरहेका छौं। मापदण्ड विपरीत सामान बोक्ने, सामान छर्दै हिँड्ने र पानी चुहाएर हिँड्ने सवारी साधनलाई कारबाही गरिरहेका छौं। कारबाही मात्र गर्ने हाम्रो उद्देश्य छैन। तर, सरकारले तोकेको समयमा र तोकेको मापदण्ड विपरीत कुनै पनि काम गर्नेलाई ट्राफिकले कारबाही गरिरहेको छ।

कारबाही गरिएका सवारी साधनको तथ्यांकबारे केही बताइदिनुस्‌ न !

यो आर्थिक वर्षमा हामीले ४२७२ ट्रिपरलाई कारबाही गरेका छौं। यो ट्राफिक नियम र मापदण्ड विपरीत काम गर्ने सवारीको संख्या हो।

काठमाडौं महानगरपालिकाले ब्रुमर चलाउँछ, तर सडक सफा नहुनुको कारण त तपाईंहरूले कडाइ नगरेर पनि त होला नि! समन्वय नपुगेको हो?

यो महानगरपालिकाको विषय हो। तर सडकसँग सम्बन्धित विषय भएपछि महानगरसँग पनि यस विषयमा बृहद्‌ छलफल अगाडी बढाइएको छ।

अचेल ट्राफिक व्यवस्थापन केही सुद‌ृढ भएको महशुस गरिएको छ ?

म महाशाखामा आएपछी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन एक महिनासम्म अध्ययन गरिएको थियो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उपत्यकाको ट्राफिक व्यवस्थापनमा कुनै अवरोध नहोस् भनेर निर्देशन दिनुभएको थियो। त्यसपश्चात् उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि समिति गठन भएको थियो। उक्त समितिले ३७ बुँदे कार्ययोजना तयार पारेको छ। ट्राफिकमैत्री भौतिक पूर्वाधार व्यवस्थापनका लागि अल्पकालिन योजना बनाइएको छ। ती कार्ययोजनामा रहेर विभिन्न काम भइरहेका छन्। त्यहाँ काठमाडौंको खाल्डा पुर्नेदेखि लिएर आकाशेपुल निर्माण सम्मका लक्ष्य राखिएको छ। जसले गर्दा केही राहत मिलेको भन्न मिल्ला कि!

तपाईंको कार्यकालमा ट्राफिक महाशाखाबाट पछिल्लो समयमा के-कस्ता काम र सफलता हासिल भए?

हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौं। केही न केही उपलब्धी पनि भएका छन्। उपलब्धी नभएसम्म काम पनि गरिरहेका छौं। अहिले उपत्यकाभित्रको सवारी आवगमनलाई व्यवस्थित बनाउन धेरै उपायहरू अवलम्बन गरिरहेका छौं। यसबीचमा हामीले ४०० भन्दा बढी स्वयंसेवक परिचालन गरेका छौं। त्यसपश्चात् दोस्रो चरणमा कानुन संकायका विद्यार्थीहरूसँग साझेदारी गरेर परिचालन गरेका छौं। अब पद्मकन्याका विद्यार्थीहरूसँग समन्वय गरेर पुन: परिचालन गर्दैछौं। यहाँ समस्या सवारी चालकहरुमा मात्र छैन। आम नागरिक पनि जथाभावी सडक प्रयोग गर्नुहुन्छ। उहाँहरुलाई २० मिनेटको कक्षा लिने काम पनि भएका छन्। जनचेतना फैलाउन गन्धर्व साथीहरूको सहयोगमा संगीतमार्फत जनचेतना फैलाउने काम पनि गरिरहेका छौं। ट्राफिक उज्यालो अभियान पनि पुष १ गतेबाट निरन्तर संचालन गरेका छौं। अहिले सम्म ९० हजार नागरिकलाई कक्षा दिइसकेका छौं। ट्राफिक लाइट पनि पूर्ण संचालनमा आएका छन्। 

तस्विर : श‍ीला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.