|

कहिलेकाहीँ यो दुई पाउको दिमागलाई दुई टन भन्दा पनि ठुलो दुःख दिन मन लाग्छ। अक्सर यस्तै बेला सोची बस्छु। कस्को होला यो सारा भूगोल? मान्छे को कि देउता को? कसले सुरु गर्याे होला राष्ट्रियता भन्ने भ्रम। देश ले कि सिमाना ले? मान्छेले स्वाभिमान र बिरासत त्यागिदियो भने राम्रो हुन्छ कि नराम्रो? मलाई यो थाहा छ यी प्रश्नहरु उत्तर आउने प्रश्न नै होइनन्। यिनीहरु केवल तर्कका प्रश्नहरु मात्र हुन्।

तर्क जे सुकै होस् तर माथिबाट मेरो आत्मालाइ चिठ्ठीमा राखेर पठाउने बेला खाममा ठेगाना लेखिएको थियो, भारतवर्ष, हिमाल नगरी, चिसापानी फाँट। सायद पठाउनेवालाले कित्ताकाँट गर्दा चाँही कम्तिमा हाम्रो जस्तो नाम बनाएको छैन होला। उसको ठेगाना बताउने शैली अर्कै होला। म मात्र होइन, म जस्तै अहिले यतै वरपर रहेका पौने तीन करोड आत्माहरु मिल्दोजुल्दो ठेगानामा खसेका हुन्। यहाँ आएपछि सबैले थाहा पाए - नेपाल भन्ने देशमा पर्दाे रहेछ हामीलाई खसालेको ठाँउ।

'तर कस्तो अचम्म यहाँ त भारत भनेर एउटा भारत मात्र भन्दा रैछ। भारत वर्ष भनेको हाम्रो माथितिरको भाषामा त धेरै फराकिलो छ।' यसरी पनि सोचे होलान् केहि दिमाग तेजिला भएका आत्माहरुले। हामी कम तेजिलो दिमाग हुनेहरु बाले बजार पठाको बेला बजारसम्म पुग्दा समान त भुलिजान्छौं, त्यत्रो सम्झने खुबी कसरी आओस्।

यो मेरो नितान्त निजी आंकलन हो। अनुमान जे भएपनि अहिले हामी नेपाल भन्ने सार्वभौमसत्ता सम्पन्न मुलुकमा बसेका छौं भन्ने चाहिं सत्य हो। हाम्रो शरीरमा यही देशको रगत बगेको कुरा पनि यथार्थ हो। अझ खास कुरा त हाम्रो छातीको एउटा कुनामा यहि देशको नामको राष्ट्रियता  छ। त्यहि राष्ट्रियताले नै हामीलाई धेरै पटक निभ्न लाग्दा जगाइदिन्छ, जसरी आमा जोगाउनुहुन्छ हावाबाट दियो। उ हाम्रो शरीरको चौकीदारी गर्छ। यो संसारको भीडमा हामीलाई आफ्नो छातीमा टेकाएर उचाई दिलाउँछ।

यहि हाम्रो छातीमा बसेको राष्ट्रियता बेलाबेलामा अर्काको पैतालामुनि पर्छ। अब तपाइँ आफैं अनुमान गर्नुस : त्यो बेला हामी कहाँ हुन्छौं। अक्सर यस्तै बेला परेली भत्काएर बग्छ देश। अमिलो मुख लगाउछ माटो को आकृति। ग्यास च्याम्बर भित्र थुनिन्छ मन। अनि गालि गर्न मन लाग्छ आफैंलाई। प्रश्न सोध्न मन लाग्छ आफैंसँग। किन हेपियो मेरो देश? कसले गर्दा कुल्चियो छात्ती? को हो त्यो, जो जहाँ जादा पनि हेपिरहन्छ हामीलाई?

मैले जीवनमा पहिलो पटक छातीमा देश बोकेर हिँड्नुको पीडा महसुस गरेँ। सोचेँ, हाम्रो नजिक रहेको छिमेकी देशकाले त यति हेप्छन्‌ भने सात समुन्द्र काटेर गएका हाम्रा आफन्तहरुको छाती दिनमा कति पटक अर्काको खुट्टामुनि पर्दो होला।

एउटा उखान छ 'आफु नमरी स्वर्ग देखिदैन'। त्यस्तै भयो यसपाला। आफु पनि मारियो, तर स्वर्ग होइन नर्क देखियो। नियमित आकस्मिकताको क्रममै केहि महिनाअघि भारत पुगेको थिएँ। त्यो बेला नै मेरो राष्ट्रियता बोकेको मुटुको कचौरा अलिकति कुच्चिएको थियो। भारत जाँदा साथमा भारतीय साथी भएकाले पनि सायद त्यति धेरै कुच्चिन पाएन, थोरै कुचियो। त्यसको केहि समय पछि नै चीन पनि जाने मेसो मिल्यो। केहि छलफल पछाडी सिल्दुजुरेको पहिरो पनि हेर्ने र सिमानाको देश पनि छाम्ने उद्देश्यले हाम्रो टोली गुड्यो काठमाडौँबाट।

हामीहरु सबै जसो इन्जिनियरिङ्गका विद्यार्थीहरु भएपनि मेरा एकजना कवि साथी रहरले हामीसँगै गएको थियो। हामीहरु अघिल्लो दिन नै तातोपानी गएर बसिसकेका थियौं। कवि साथी बिहान अलिक छिटो उठेर हामीहरुलाई पनि उठायो। तातोपानीमा नुहाई धुवाई गरिसकेपछी हामी चार जना अरू ग्रुपभन्दा अलि पहिले नै खासा छिर्ने निधो गर्‍यौं। केहि सामान किन्दै गरौँ, फर्कदा के कसो हुने हो भन्ने सोचेर अलि अगाडी गएका थियौं।

हामीले नेपालतर्फ रहेको अध्यागमन कार्यालयबाट भिसा हानेको एउटा कागज पायौं। जब उक्त कागज लिएर हामी मितेरी पुलमा पुगेका थियौं, पुलको बीचमा बसेका दुई जना प्रहरीहरुले बन्दुकको नाल तेर्साे पारेर हाम्रो बाटो छेके। म सबै भन्दा अगाडी थिएँ र सबैको डकुमेन्ट मै सँग थियो। मैले अध्यागमनले भिसा हानेको कागज देखाए। उसले त्यो हेर्न नमाने जस्तो गर्याे। उ केहि बोलिरहेको थियो, तर हामीहरुमध्यको कसैले पनि त्यो बुझेनौं। मैले पहिला नेपालीमा सोधें 'के भयो र सर?' उसले बिरालाकाजस्ता आँखा ठुलो पारेर खाउला झैँ गरेर हेर्‍यो र केहि गाली गरे जस्तो बोल्यो।  

यो सबै सोच्दा र देख्दा लाग्छ : यो उनीहरुले नसकेर भएको, होइन नचाहेर भएको हो। उनीहरु हामीमाथि निरन्तर हेप्ने आदतको अम्मली भएका छन्। अझ भनौं हामीलाई हात ताक्दा वा हिर्काउँदा उनीहरुलाई खुब रमाइलो लाग्छ।

सोचें नेपाली बुझ्ने रहेनछ अनि भनें 'सर ह्वाट्स अ प्रब्लम' मैले यति भनिसक्दा छेवैमा सिभिल ड्रेस लगाएर बसेको एकजना प्रहरीले हात उचालिसकेको थियो। अब चाँहि हामीलाई थाहा भयो, एक शब्द बढी बोलेर एक सेकेन्ड मात्र बढी बसियो भने त्यो हात हामी माथि नै बज्रने छ। म पछाडी सरेर साथीहरुलाई हेरें, साथीहरु त कुदिसकेका रहेछन। म पनि निलो अनुहार लगाएर पछाडी फर्किएँ।

हामीहरु पुलवारि आएर एक जना सशत्रको प्रहरी दाइलाई सबै बेलिबिस्तार सुनायौं। दाइले भन्नु भो 'यिनीहरु यस्तै हुन् भाइ सन्की छन्, कहिले केहि नहेरी यत्तिकै जान दिन्छन्‌, कहिले सबै मिल्दा पनि जान दिँदैनन्। एकपटक नागरिकता पनि निकालेर बिचार गर त, जाउ तर एकछिन पछि है।' अलिकति आशाको बाटो देखाइदिनु भयो। हामीहरु एउटा महिला समूह पच्छ्याएर फेरि त्यहीँ गयौं।

अघि लंगुर बाँदरको जस्तो कालो मुख पारेको त्यही पुलिस अहिले मस्की-मस्की केटिहरुलाई हेरेर हाँसिरहेको थियो। यसपाली हामीहरुले कुनै अपराधीले बिल्ला भिरे जसरी अगाडी छातीमा त्यो भिसा हानेको पेपर र नागरिकता देखाउँदै गयौं। उसले सुरुमा मेरो नागरिकता हेरे जस्तो गर्‍यो र अरु तीन जना साथीहरुको नहेरी जान दियो। हामीहरु ठुलै युद्द जितेको महशुस गरेर पुल तर्‍यौं। पारी पुगेपछि खास डकुमेन्ट चेक गर्ने ठाउँ त बल्ल पो रहेछ, त्यहाँका चाइनिज प्रहरीहरू राम्रो नेपाली पनि बोल्दा रहेछन्। एकजनाले 'नागरिकता देखाउनुस्' भन्यो, हामी सबैले देखायौं। उसले एकछिन हेरेर हामीलाई उता पठाइदियो।

मैले जीवनमा पहिलो पटक छातीमा देश बोकेर हिँड्नुको पीडा महसुस गरेँ। सोचेँ, हाम्रो नजिक रहेको छिमेकी देशकाले त यति हेप्छन्‌ भने सात समुन्द्र काटेर गएका हाम्रा आफन्तहरुको छाती दिनमा कति पटक अर्काको खुट्टामुनि पर्दो होला।

हामीहरु सामान्य बाँच्न पनि घरिघरि नजान्ने मान्छे। छिमेकी मुलुकहरूसँग सरकारको कूटनीतिक गणित हामी जान्दैनौं। मात्र हामीले भोगेका व्यवहारिक सम्बन्ध नै हाम्रो धारणाको आधार हो। अब दिमागमा एउटा के धारणा बनेको छ भने देश दक्षिणको सिमानामा मात्र दुखेको रहेनछ।

हामीहरु चीनको भूमीमा भित्र छिरिसकेपछि पनि पटक-पटक हेपिनु पर्‍यो। माथिल्लो खासामा पुग्ने गाडीको रेट कति छ? भनेर सोधेको एकजना नेपाली दाइले भन्नु भयो, 'जाँदा ३०० आउँदा ५००।'  पछि थाहा भयो कि उनीहरु जाँदा फकाई-फकाई सस्तोमा लैदिने र आउँदा हाम्रो बाध्यतामा 'ब्ल्याक मेल' गरेर महंगोमा ल्याउने गर्दा रहेछन्‌। अनि उनीहरुको यति ठुलो दादागिरी रहेछ कि कुनै समान हेरेर मूल्य सोधे पछाडी किन्नै पर्ने, नत्र लौरीसम्म उठाउँदा रहेछन्‌।

हामीहरु फर्कंदासम्म मेरो दिमागमा धेरै कुराहरु गम्भीर बनेर आए। चीनको प्रशासनलाई राम्रोसँग थाहा छ कि उसको र हाम्रो देशको भाषिक र संस्कृतिक रुपमा ठूलो भिन्नता छ। र पनि उसले किन सिमानाको मुख्यद्वारमा अलिकति भए पनि नेपाली बुझ्ने प्रहरी राख्दैन? उनीहरुलाई थाहा छ, हामीले भोगेको घटना त्यहाँ प्रत्येक मिनेटमा हुन्छ। यसलाई बुझेर भाषिक सहजताको लागि कुनै बेबस्था गर्नु त कता हो कता, उनीहरु हान्ने राँगो जसरी हेरेर हात उठाउँछन्। के यति सस्तो छ हाम्रो शरीर? के यति कम्जोर छ हाम्रो विरासत? एउटा सामान्य 'नागरिकता' भन्ने शब्द उनीहरुसँग बुझ्न नसकेर हामीले त्यो अपमान खेप्नुपर्‍यो। के केवल नागरिकता भन्ने शब्द भन्न सक्दैनन् कुनै चाइनिज प्रहरी? यदि जान्दैनन् भने किन राम्रो नेपाली बोल्यो भित्रको चाँहि?

यो सबै सोच्दा र देख्दा लाग्छ : यो उनीहरुले नसकेर भएको, होइन नचाहेर भएको हो। उनीहरु हामीमाथि निरन्तर हेप्ने आदतको अम्मली भएका छन्। अझ भनौं हामीलाई हात ताक्दा वा हिर्काउँदा उनीहरुलाई खुब रमाइलो लाग्छ। हाम्रो राष्ट्रियता मितेरी पूलबाट खसाल्दा खुब मजा आउँछ।

अर्काे मूख्य कुरा मलाइ त्यो सशत्रको दाइले भनेको लाग्यो। हामी उनीहरुको मुड अनुसार भित्र छिर्न पाउने रहेछौं।  हामीहरु कमजोर छौं भन्ने कुराको यो एउटा बलियो प्रमाण हो। 

यो बिषयलाई हामीले एकपटक भारतको सिमानासँग पनि तुलना गरेर हेर्‍यौं। हामी चार जनामध्येको एउटा साथी नेतागिरी गर्छ। उसले भन्यो, 'आजसम्म हाम्रो राष्ट्रियता कुल्च्यो भनेर भारतलाई खुब गाली गरियो, यता चीन पनि त कम रहेनछ।' एउटा सामान्य नागरिक सिमानामा गएर पीडित हुनुको नाताले मलाइ पनि उसको कुरा कता-कता हो जस्तो लाग्यो। मेरो पनि हिजो भारतले अलिकति मात्र कुच्याएको राष्ट्रियता बोक्ने कचौरोमा आज थप चोट लागेकी छ।

हामीहरु सामान्य बाँच्न पनि घरिघरि नजान्ने मान्छे। छिमेकी मुलुकहरूसँग सरकारको कूटनीतिक गणित हामी जान्दैनौं। मात्र हामीले भोगेका व्यवहारिक सम्बन्ध नै हाम्रो धारणाको आधार हो। अब दिमागमा एउटा के धारणा बनेको छ भने देश दक्षिणको सिमानामा मात्र दुखेको रहेनछ, प्रत्येक दिन मितेरी पूलबाट भोटेकोशीमा पनि खस्दोरहेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.