नेता भन्छन् : उहाँ पार्टीभित्र आफैँमा शक्तिशाली र स्थिर हुनुहुन्छ
नेता भन्छन् : उहाँ पार्टीभित्र आफैँमा शक्तिशाली र स्थिर हुनुहुन्छ
काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो समयमा आन्तरिक विवादको चपेटामा छ। पार्टीभित्रको गतिविधिको विषयमा मुख्यतया प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मतभेद देखिँदै आएको छ।
यद्यपि, केही दिनदेखि प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि अस्पताल छन्। दुई ठूला पार्टी तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन् नेता माधवकुमार नेपाल।
अहिले प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएको पार्टीभित्रको आन्तरिक विवाद मिलाउन पनि नेपाल सक्रिय भएर मध्यमार्गीको भूमिका निर्वाह गरिरहे।
पार्टी भित्र गुटगत हिसाबले पनि नेपाल शक्तिशाली देखिएका छन्। त्यसो त तत्कालीन एमालेभित्र प्रधानमन्त्री ओलीको खास मान्छेको रूपमा रहेका नेता नेपाल पार्टीभित्र एकतापछि अध्यक्ष दाहालतिर ढल्किएको भन्दै ओली पक्ष चिढिएको छ।
पार्टीभित्र तीव्र विवाद चलिरहदाँ मध्यमार्गी भूमिकाबाट नेता नेपाल अध्यक्ष दाहालनिवास खुमलटार र प्रधानमन्त्री ओलीनिवास बालुवाटार दौडमा सक्रिय भइरहे। तर, पार्टी एकतापछि पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पनि आफ्नै गुटमा दरिलो बनाउन सक्रिय भएर लागेको केन्द्रीय कमिटीको बैठकबाट छताछुल्ल भयो।
त्यसो त अध्यक्ष दाहाल पनि मौन बसेका छैनन्। उनी पनि पार्टीभित्र आफूलाई शक्तिमा ल्याउनमै केन्द्रित छन्। पार्टीभित्र कार्यकारी भूमिका पाएलगत्तै केही सक्रिय देखिएका अध्यक्ष दाहाल पछिल्लो समय धेरै खुलेका छैनन्।
तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपाल पनि पछिल्लो समय अध्यक्ष दाहालनजिक भएको आरोप लागिरहे पनि नेता नेपालको रणनीतिबारे खुल्न नसकेको उनी निकटका नेता नै बताउँछन्।
यद्यपि,ओलीको कार्य असतुष्टिकै कारणले अध्यक्ष दाहालसँग नेता नेपाल नजिकिएको भन्नेहरूको संख्यामा कमी छैन। बालुवाटार र खुमलटारको दौडमा रहेका नेता नेपालको आफ्नै स्वार्थ लुकेको आरोप उनीमाथि लाग्न सुरु भएको छ।
ओलीसँगको सम्बन्ध
तत्तकालीन एमाले खेमाका झलनाथ खनाल र वामदेव गौतम पनि पार्टीभित्र ओलीसँग सन्तुष्ट छैनन्। पार्टीभित्रको पछिल्लो विवादास्पद निर्णयमा प्रधानमन्त्री ओली कमजोर नै भएको देखिँदै आएका छन्।
पार्टीभित्रका आफू निकटका नेताहरू सम्मलित भैँसेपाटी भेलापछि झस्किएका छन्। फलतः ओली स्वयंले आफूविरुद्ध सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका थिए। भैँसेपाटी भेलाकै रणनीतिअनुसार गौतमलाई राष्ट्रियसभा हुँदै प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने पक्षमा अध्यक्ष दाहाल पक्ष थियो।
राष्ट्रियसभामा गौतमलाई लाने विषयमै प्रधानमन्त्री ओली तगारो बनेपछि गौतम थप चिढिएका छन्। पार्टीभित्र शक्ति केन्द्रको ध्याउन्नमा रहेका नेताहरूबीच तानातानको अवस्था छ। गौतमलाई प्रत्यक्षतर्फ निर्वाचन पराजित भएपछि शक्तिमा ल्याउनकै लागि पार्टीको विधान संशोधन गरेर उपाध्यक्ष बनाइएको छ। जुन निर्णयमा ओली सकारात्मक भएका थिए।
पछिल्लो समयमा नेता नेपाल प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच देखिएको फरक मतलाई मिलाउने कसरतको कारणले बालुवाटार र खुमलटारको दौडमा सक्रिय भएको नेकपा स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्।
‘पार्टीभित्रको आन्तरिक छलफलको क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच केही दूरी बढेको देखिन्छ। त्यही विवाद समाधान गर्ने पक्षमा नेता नेपाल सक्रिय हुनुभएको हो। त्यसमा हामीले धेरै कुला बङ्याउन आवश्यक छैन’ उनले भने।
वामदेव गौतम प्रकरणबाट नेता नेपालसँग प्रधानमन्त्री ओली पछिल्लो समय सम्बन्धमा चिसोपना आएको नेकपा नेताहरू बताउँछन्। ‘भैँसेपाटी भेलाबाट ओली नेतासँग चिढिएको भए पनि तत्कालै उनी दाहाल पक्षमा फर्कने अवस्था नभएको छैन’ उनीनिकट एक नेताले भने, ‘पार्टीभित्र गुटगत हिसाबमा हेर्दा पनि पहिलो शक्तिशाली नेताका रूपमा उहाँ नै हुनुहुन्छ।’
दाहालतर्फ ढल्केकै हुन् त नेता नेपाल?
नेता नेपाललाई अध्यक्ष दाहालपट्टि ढल्किएको आरोप लागिरहे पनि पार्टीभित्र उनको अवस्था स्थिर रहेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन्।
‘पार्टीभित्र आन्तरिक रूपमा कलह सुरु भएपछि त्यसलाई निखार ल्याउन उहाँ सक्रिय हुनुभएको हो। तर, उहाँले ओली पक्षबाट दाहाल पक्षतिर ढल्किएको भन्ने होइन’ उनले थाहाखबरसँग भने, ‘पार्टीभित्र शक्तिशाली हुनुहुन्छ। समस्या समाधानमा लाग्नुभएको मात्रै हो। पार्टीभित्र गुटगत हिसाबले ओली र दाहाल पक्ष भनेर हामीले भन्न हुँदैन।’
पार्टीभित्रको विवादको विषयलाई समाधान ल्याउनका लागि मात्रै नेता नेपाल बालुवाटर र खुमलटारको दौडमा रहेको नेकपाको केन्द्रीय सदस्य शेरबहादुर तामाङ बताउँछन्। ‘पार्टीभित्र देखिएको समस्या समाधान गर्ने पक्षमा उहाँ केन्द्रीय हुनुभएको हो। तर, बाहिर आएजस्तो हल्ला वास्तविक होइन’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।