|

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाईरसको चेकजाँचका लागि सहायता कक्ष स्थापना गरिएको भएपनि जिल्लाका अन्य नाकाहरुमा सहायता कक्ष सञ्चालन गरिएको छैन। जिल्लाको तल्लोसोराड क्षेत्रमा एक दर्जन घाटबाट आवतजावत गर्ने गरिएपनि स्वास्थ्य कक्षहरु सञ्चालनमा आउन सकेका छैनन्। 

जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका अधिकांश नागरिकहरुले विभिन्न घाटहरुबाट भारत आवतजावत गर्ने भएपनि सर्तकता भने अपनाइएको छैन। 

महाकाली नदी किनारका घाटहरुमा कोरोना चेकजाँचका लागि सहायता कक्षहरु सञ्चालन नगर्दा जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतमा समेत कोरोनाको संक्रमण देखिएकाले भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य कक्षहरु स्थापना गर्नुपर्ने भएपनि उपकरण, बजेट र स्वास्थ्यकर्मीहरुको अभावमा तल्लोसोराडका नाकाहरुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्न नसकिएको उनले बताए।

सम्बन्धित स्थानीय तहहरुसँग स्वास्थ्य सहायता कक्ष स्थापनाका लागि आग्रह गरिएको समेत भट्टले जानकारी दिए। महाकाली नदी किनारसँग जोडिएको नाकाहरुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्न नसकिए आवतजावत बन्द गर्नुपर्नेमा उनले जोड दिए। 

भारतसँग जोडिएका घाटहरुमा स्वास्थ्य सहायता कक्ष स्थापनाका लागि तत्काल केही गर्न नसकिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए। यो बिषयमा छलफल गर्न बाँकी नै रहेको उनले बताए। सीमा नाकाहरुमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले समेत जोड दिएका छन्। 

प्रशासनद्वारा भीडभाड नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरेको छ। कोरोना भाईरसको संक्रमण विश्वभरी फैलिरहेकाले अर्को सूचना नभए सम्मका लागि भेला हुन, विभिन्न उत्सवहरु मनाउन, होली खेल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीद्वारा हस्ताक्षरित सूचनामा कोरोना भाईरसको सम्भावित जोखिमको बाहनामा कालोबजारी र कृत्रिम अभाव सिर्जन गरेको पाइएमा कारवाही गरिने जनाइएको छ। यस्तै नेपाल भारत सीमा वारपार गर्दा स्वास्थ्य सहायता कक्षमा स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि एक सूचना जारी गर्दै होली पर्वमा भिडभाड नगर्न आग्रह गरेको छ। प्रशासनले आज  सार्वजनिक सुचना जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई जनचेतना मूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। 

नगरद्वारा सचेतना अपनाउन आग्रह 

जिल्लाको दशरथचन्द नगरपालिकाले कोरोना भाईरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ। नगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि मास्क लगाउन, साबुन पानीले राम्ररी हात धुन, साथीभाईहरुसंग हात नमिलाउन आग्रह गरेको छ।

नगरकार्यपालिकाको यही फागुन २० गते बसेको बैठकले नगरपालिका क्षेत्रभित्र कुनै किसिमका बार्षिकोत्सव, सेमीनार, सभासम्मेलन, महोत्सव र भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गर्ने निर्णय समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

नगरप्रमुख नरेन्द्रसिंह थापाले हस्ताक्ष गरेका विज्ञप्तीमा कोरोना भाईरसको संक्रमण छिटोछिटो भईरहेकाले यसबाट बच्नका लागि सचेतना अपनाउन आग्रह गरिएको छ। दशरथचन्द नगरपालिका भारतसंग सीमा जोडिएको नगरपालिका भएकाले झुलाघाट नाकामा नगरपालिकाको पहलमा यसअघि नै स्वास्थ्य सहायता कक्ष समेत सञ्चालनमा ल्याइएको छ।

नगरपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेर भारतबाट फर्किने नागरिकहरुको स्वास्थ्य परीक्षण समेत गरिरहेको छ। कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सीमा क्षेत्रमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको नगरपालिकाले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडी र दशरथचन्द नगरपालिकाले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.