जुटभन्दा फुटको इतिहास लामो, नेता भन्छन् : अब अन्तिम हो

|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच शनिबार साँझ एकीकरण गर्ने सहमति भयो। एकीकृत पार्टमा तीनजना अध्यक्ष रहने गरी हस्ताक्षर गरेपछि नेताहरुले सँगै डिनर गरे।

राप्रपाका अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपतिशमशेर जवरा र प्रकाशचन्द्र लोहनी एकता महाधिवेशन नभएसम्म एकीकृत पार्टीको अध्यक्ष रहने गरी एकताको सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको हो। एकता महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति दुईपार्टीबीच भएको छ।

पञ्‍चायती शासनको गर्भबीच जन्मिएर जाजावादी पृष्ठभूमिमा हुर्किएको राप्रपा जुट्ने-फुट्ने कुनै नौलो कुरा पनि होइन। कुनै बेला देशकै तेस्रो शक्तिकारुपमा सत्ता साझेदारीमा निर्णायक राप्रपा अहिले फरक फरक समूहमा छिन्‍न भिन्‍न भएको अवस्थामा एकताको यो सहमतिले समर्थकहरुको कआशाको त्यान्द्रोलाई केही बलियो बनाइदिएको छ। एकताको सहमति भइरहँदा राप्रपासँग फुटको लामै श्रृंखला छ। 

जुटभन्दा फुट श्रृंखला धेरै

राप्रपा (हलो) र राप्रपा (गाई) २०४७ साल जेठ १५ गते निर्वाचन आयोगमा दर्ता भएका थिए। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वमा राप्रपा (गाई) र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वमा राप्रपा(हलो) निर्वाचन आयोगमा दर्ता भएका हुन्।

पार्टी स्थापनाको केही समयमै दुवैबीच एकता भयो। पार्टीको नाम राप्रपा नेपाल राखियो। तर, त्यो एकता लामो समय टिक्नै सकेन। २०४७ देखि २०६१ सालसम्म राप्रपा चार पटक टुक्रियो।

२०६१ सालमा सूर्यबहादुर थापाले ठूलै टिम लिएर राष्ट्रिय जनशक्ति पार्टीको गठन गरे। २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको कदमलाई समर्थन गर्ने राप्रपाभित्रको बलियो समूहले कमल थापा नेतृत्वमा २०६१ पुस २६ राप्रपाको विशेष भेलामार्फत राप्रपा नेपाल गठन गरे। 

कुनै बेलाको शक्तिशाली र सत्ताको खेलमा निर्णायक राप्रपा २०६२ सम्म चार टुक्रा भयो। सूर्यबहादुर थापा, पशुपति शमशेर जबरा, लोकेन्द्र बहादुर चन्द र कमल थापाको नेतृत्वमा अलग अलग चारवटा पार्टी भने। पूर्वपञ्‍चहरुको राप्रपा चार टुक्रा भएपछि यसका समर्थक पनि छिन्‍नभिन्‍न भए।

२०६२/०६३ को आन्दोलनपछि पशुपति शमशेर नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको राजपाले गणतन्त्र र धर्मनिरपेक्षता जस्ता विषय स्वीकार गरे।

तर कमल थापा नेतृत्वको राप्रपा नेपालले संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रको मुद्दा अघि सार्दै २०६४ को संविधानसभाको निर्वाचनमा सहभागी भयो। निर्वाचनमा तीन पार्टीको जम्मा १७ सिट भयो। फेरि शक्तिशाली बन्‍ने भन्दै फुटेका राप्रपा मिल्ने तयारी भयो।

मुलुकमा फेरि प्रजातन्त्रवादी शक्तिको एकता आवश्यक भएको भन्दै उनीहरुले एकताको कोसिस गरे। तीनवटै राप्रपाबीच एकताका प्रयास भए। तर त्यसले सार्थक रुप लिन पाएन। त्यसपछि विचार मिल्नेको एकता भन्दै राप्रपासँग मिलेर राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी निर्माण भयो।

चारजना अध्यक्ष

यो पार्टीमा आलोपालो गर्ने गरी सूर्यबहादुर थापा, पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, राजेश्‍वरर देवकोटा र डा.प्रकाशचन्द्र लोहनी अध्यक्ष हुने व्यवस्था भयो। त्यस एकताबाट राप्रपाले गणतन्त्रलाई स्वीकार गर्ने सहमत भएकोमा असहमत रहेका कमल थापाले आफ्नो नेतृत्वमा राप्रपा नेपाललाई अलग्गै उभ्याए।

२०७० को निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा देशमा चौथो ठूलो राजनीतिक दल बन्यो। अन्य राप्रपाहरु सीमित सिटमा खुम्चिए। फेरि २०७३ मा राप्रपा नेपाल र राप्रपाबीच एकता भएर एउटै राष्ट्रिय प्रजातन्त्र पार्टी बन्यो। तर, त्यो एकता पनि धेरै टिकेन। २०७३ चैत्रमा डा.प्रकाशचन्द्र लोहनीले राप्रपाबाट बाहिरिँदै एकीकृत राप्रपा (राष्ट्रवादी) नामको नयाँ दल गठन गरे। 

त्यस्तै राष्ट्रघाती संविधान संशोधन गर्नुपर्ने भन्दै २०७४ साउन २२ गते पशुपति शमशेर राणाले पनि राप्रपा (प्रजातान्त्रिक) नामक पार्टी गठन गरे। यता कमल थापाले संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रको मुद्दालाई निरन्तर उठाइरहे। यो फुटकाबीचमा लोहनी र राणाले नेतृत्व गरेका दुई पार्टीबीच एकता भयो। जसको नाम राखियो राप्रपा (संयुक्त)।

एकतापछि गाई कि हलो?

अहिले आएर हिजो छिन्‍नभिन्‍न भएका राप्रपाका गुट फेरि एकै ठाउँ आइपुगेका छन्। अघिल्लो निर्वाचनमा जनताबाट अस्वीकृत भएपछि निराश बनेका कमल थापा राप्रपाका सबै शक्तिबीच एकता चाहन्थे। पुन: शक्तिमा आएर हिन्दुराज्य र राजतन्त्रको मुद्दालाई जनस्तरसम्म लैजानका लागि उनलाई पार्टी एकता बाध्यकारी बनेको हो। 

राप्रपाका दुई समूहबीच महाधिवेशन नहुँदासम्मका लागि तीनजना नै अध्यक्ष रहने सहमति भएको छ। नेकपामा दुई अध्यक्ष रहेका बेला राप्रपा (संयुक्त) र राप्रपाले तीन अध्यक्ष राखेर पार्टी एकताको समझदारी गरिसकेका छन्। मधेस केन्द्रित राजपा नेपालले अध्यक्ष धेरै भएपछि आलोपालोबाट नेतृत्व चलाइरहेको छ। राप्रपा पनि राजपाकै मोडलमा पुगेको छ। तर एकतालाई अन्तिम रुप दिन बाँकी रहेको नेताहरु बताउँछन्। पार्टीको चिन्ह हलो हुने कि गाई भन्‍नेमा अझै सहमति जुटेको छैन।

‘हलो या गाई के हुने भन्‍नेबारे ६ महिना भित्र टुंगो लाग्छ,’ राप्रपाका सह-प्रवत्ता मोहन श्रेष्ठले भने, ‘यसको टुंगो कार्यसम्पादन समिति र केन्द्रीय समितिले गर्छ। सम्पादन समिति र केन्द्रीय समितिले टुंगो लगाएपछि डेढ वर्षपछि हुने महाधिवेशनमा सार्वजनिक हुन्छ।’

तर, राप्रपा संयुक्तका नेता विक्रम पाण्डे भने अब राप्रपाको चुनाव चिन्ह हलो हुने बताउँछन्। ‘यसलाई औपचारिकता दिन बाँकी नै छ,’ पाण्डेले थाहा खबरसँग भने, ‘यसबारे छलफल र सहमति भइसकेको छ। हाम्रो पार्टीको चिन्ह हलो नै हुन्छ।’ 

अब फुट्दैन त पार्टी? 

राप्रपाका नेताहरु अब पार्टी कहिल्यै नफुट्ने बताउँछन्। ‘अब त लाजै भइसक्यो। नेताहरु एक भइसक्नु भएको छ। अब फुट्ने कुरा अन्तिम भइसक्यो’ राप्रपाका सह-प्रवत्ता श्रेष्ठ भन्छन्, ‘पार्टी व्यवस्थापन गर्न नसक्दा पछि परेको हो। जनताले पत्याएको तर, नेता एक ठाउँ नहुँदा पछि परेको हो। अब त्यस्तो हुँदैन।’ 

त्यस्तै राप्रपा संयुक्तका नेता पाण्डे पनि राप्रपा फुट्ने कुरा अब अन्तिम भइसकेको बताउँछन्। ‘विचार मिल्ने घटकसँग एकता हुन्छ, अब राप्रपा फुट्ने कुरा त छोड्दिनुस्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.