'बिदा बसे छोराछोरीलाई के खुवाउने?'

|

काठमाडौं : मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवस’ मनाइँदैछ। महिलाहरू आज अफिसको जागिरबाट बिदा पाएर घर परिवारसँग नारी दिवस मनाइरहेका छन। तर, मजदुरी गर्ने महिलाहरूका लागि नारी दिवस छैन। नारी दिवस नहुने ती एक महिला हुन् तारा केसी।

जडीबुटीमा बस्दै आएकी रामेछापका केसी आइतबार रानीपोखरीमा इँटा बोक्दै थिइन्। उनलाई नारी दिवसले खान दिँदैन, लाउन दिँदैन। त्यसो त उनी मजदुरी गर्न बाध्य छिन। ‘आज श्रमिक महिला दिवस भन्ने सुनेकी थिएँ,’उनले डोकोमा इँटा बोक्दै भनिन्,‘तर, हामीजस्ता मजदुरी गर्नेहरूका लागि होइन। ठूला वर्गका लागि हो। हामी आज बिदा बस्याैँ भने हाम्रा छोराछोरीलाई के खुवाउने?' 

उनले घर परिवार धान्नकै लागि रात बिहान नभनी काम गर्नुपरेको सुनाइन। दिवसभन्दा पैसाको महत्व देखाउँदै उनी भन्छिन्,‘आज बिदा लिएर बसियो भने ६ सय ५० रुपैयाँ घाटा हुन्छ। काम गरिनँ  घर चल्‍दैन।’ त्यस्तैगरी अर्का महिला पनि रानीपोखरीमै इँटा बोकिरहेकी थिइन्। उनी हुन स्वयम्भूकी एलिसा थापा मगर।

सिन्धुली घर भएकी मगरलाई पनि आज श्रमिक महिला दिवस लागेको छैन। ‘मलाई श्रमिक महिला दिवस लागेको छैन,’उनले भनिन्,‘घर परिवारमा खर्च धान्नको लागि नै श्रमिक दिवस नलागेको हो। दिवस लाग्यो भने त घरखर्च कसरी चलाउने? उनले इँटा बोक्नुको पनि कारण छ। उनी सिटीइभिटीबाट व्युटीपार्लरको तालिम लिएर प्रमाणपत्रसमेत पाइसकेकी छिन्।

तर, उनीसँग पार्लर खोल्ने पैसा नभएकै कारणले सीप पाएको प्रमाणपत्र घरमै थन्काउनुपरेको छ। मगरले भनिन्,‘व्युटीपार्लरको तालिम लिइसकेको छु। प्रमाणपत्र पनि पाएँ। तर, पार्लर खोल्न पैसा छैन। त्यसैले यही कामबाट पनि सहयोग मिल्छ कि भन्ने लागेर काम गर्दै आएकी छु।’ उनले पैसाको जोहो गरिसकेपछि पार्लर नै खोल्ने सोच बनाएको बताइन्।

‘मलाई यो काम गर्ने पटक्कै मन छैन,’ संघर्ष र दुःखका कुरा सुनाउँदै उनी भन्छिन्,‘अब ऋण खोजेर भए पनि पार्लर खोलेर बस्छु।’ यी दुई महिला मात्र नभई अरू महिला कामदारहरू पनि रानीपोखरीमा काम गरिरहेका थिए। कुनै महिला गिट्टी कुटिरहेका थिए त कोही महिला माटो मुछ्‍दै थिए। कोही इँटा बोक्नमै व्यस्त देखिन्थे। 

रानीपोखरी पुनर्निर्माण ७५ प्रतिशत सकियो

ऐतिहासिक रानीपोखरी पुनर्निर्माणको काम ७५ प्रतिशत सकिएको छ। रानीपोखरी निर्माणमा खटिएका कामदार देवरत्न महर्जनका अनुसार पुनर्निर्माणको काम ७५ प्रतिशत सकिएको छ। उनले भने,‘वैशाखसम्म रानी पोखरी पुनर्निर्माणको काम सक्ने लक्ष्य लिएर काम गरिरहेका छौँ। तीव्र गतिमा काम भइरहेको छ।’

उनका अनुसार अब रानीपोखरी पुलको काम २५ फिट बनाउन बाँकी छ। मन्दिर बनाउन बाँकी छ। अहिले पोखरी वालको काम अन्तिम चरणमा पुगेको छ। पोखरी पुनर्निर्माणमा अहिले महिला र पुरुष गरी करिब ६० जना कामदार खटिएका छन्।

रानीपोखरीको इतिहास हेर्ने हो भने प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई  शोकबाट मुक्त गराउन १९२७ मा पोखरी निर्माण गराएको उल्लेख छ। ०७२ सालको भूकम्पले रानीपोखरीमा क्षति पुर्‍याएको थियो। अहिले करिब १३ करोड लागतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको काम गरिरहेको छ। २०७५ सालबाटै पुनर्निर्माणको काम थालिएको थियो। 

फोटो : शिला तिम्सिना

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.