आफैंले फालेको फोहोर गन्हाएपछि नाक थुन्दै हिँड्छन्‌ कीर्तिपूरवासी

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हो। यतिमात्र नभई उच्च शिक्षाका लागि नेपालकै पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो। तर, अहिले कीर्तिपुरमा रहेको त्रिवि परिसर फोहोर फाल्ने 'डम्पिङ साइट' बन्दै गएको छ। त्रिवि व्यवस्थापनले फोहोरमैला व्यवस्थापन गर्न नसकेकै कारण केन्द्रीय विश्वविद्यालय परिसर शिक्षाकै केन्द्र हो भनि विश्वास गर्न मुस्किल पर्छ।

त्रिविको मूल गेटबाट छिर्नासाथ फोहोर खाँदिएका बोरा फालिएको देखिन्छ। विद्यार्थीहरू खेल्ने चौरको सतहभरि फोहोर छरिएको छ। केही ठाउँमा फुटेका बोत्तलको सिसाहरू भेटिइन्छ। त्रिविको मन्दिर परिसरदेखि जंगलको क्षेत्रसम्म फोहोर र झाडीले ढाकेको छ।। विद्यार्थी बस्ने होष्टल अगाडी त्यस्तै छ। विश्वका लागि थिङ्कट्याङ्क जन्माउने भनिएको विश्वविद्यालयमा फोहोर संकलन गर्ने डस्टबीन समेत राखिएको छैन। यस्तो लाग्छ : त्रिविको व्यवस्थापन विद्यार्थीलाई थिङ्कट्याङ्क बनाउने सोच्दासोच्दै ढलेको छ, त्यहाँ राजनीतिको छाताभित्र बसेका प्राध्यापक, विद्यार्थीदेखि कर्मचारीहरूले त्यहाँको फोहोरमा सुगन्ध महशुस गरिरहेका छन्‌ र विश्वविद्यालयको अन्तरकुन्तर व्यवस्थापनदेखि कार्यसम्पादनसम्म थप फोहोर पार्न चाहन्छन्‌।

नाक थुन्दै हिँड्छन सर्वसाधारण

त्रिवि परिसर क्षेत्र फोहोर फाल्ने अखडा बन्दै गएपछि विद्यार्थी र सो बाटो हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारण आक्रान्त बनेका छन। त्रिवि परिसरभित्र भेटिएकी कीर्तिपुरकी मनिषा महर्जनले फोहोरको दुर्गन्धले सँधै नाक थुनेर हिँड्न बाध्य भएको सुनाइन्‌।
उनले भनिन, ‘जहिले पनि म त्रिवि हुँदै ओहोरदोहोर गर्छु, घर जाने बाटो पनि यही हो, जताततै फोहोर फालिएको छ, दुर्गन्धले नाक थुनेर हिँड्नुपर्ने अवस्था छ, शिक्षा दिने मन्दिरभित्र यस्तो फोहोर? यहाँका जिम्मेवार मानिसहरूलाई लाज लाग्‍नुपर्ने हो, आफ्नो परिसर नै यस्तो हालतमा राख्नेहरूले विश्वविद्यालयलाई कुन हालतमा पुर्‍याएका होलान्‌? यसलाई विश्वविद्यालय भन्न पटक्कै सुहाएन।’ विद्यार्थीहरूले फोहोरको दुर्गन्धमा बसेर पढ्नु परेको बताउँदै तत्काल त्रिविले फोहोरमैला व्यवस्थापन गर्नुपर्ने सुझाइन्‌।

त्रिवि व्यवस्थापनलाई चासो नै छैन

त्रिभुवन विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले फोहोरको डङ्गुर नै भएपनि व्यवस्थापनले यसतर्फ कुनै चासो नदेखाउने गरेको बताए। नाम उल्लेख नगर्ने शर्तमा उनले भने,‘यहाँ सरसफाई गर्ने कर्मचारी पनि धेरै छन्‌, तर तलब पकाउने चिन्ता मात्रै राख्छन्‌, काम नै गर्दैनन्‌ भन्दा पनि हुन्छ, त्रिविले नै फोहोर व्यवस्थापन गर्नु भनेर अह्राउँदैन, बाहिर स्कुलका विद्यार्थीहरू पिकनिक आउँछन, फोहोर गर्छन, तर त्रिविले सफा गर्न लगाउँदैन।’ विश्वविद्यालयमा करिब १५ हजार कर्मचारी कार्यरत छन्।

त्रिभुवन विश्वविद्यालय करिब तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको छ। क्षेत्रफल धेरै भएकाले पनि फोहोर व्यवस्थापन गर्न नसकिएको विश्वविद्यालयका कर्मचारीहरू दाबी गर्छन्‌। तर के ! क्षेत्रफल धेरै भएका संसारका अन्य विश्वविद्यालयहरूले पनि आफ्नो परिसरलाई यस्तै दुर्गन्धित र 'डम्पिङ्गसाइट' जस्तो बनाएर छाड्छन्‌ त? भनि प्रश्न गर्दा उनीहरू मौनता साध्दै चुपचाप बस्छन्‌। अहिलेसम्म त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ९ सय ३१ वटा निजी क्याम्पस छन्‌।  त्रिविमा कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकि शंकायका विभागहरू छन। यसै शंकायमा विश्वविद्यालयले शिक्षा प्रदान गर्दै आएको छ। 

अहिले त्रिविको पुरूष छात्रबास (होष्टल) मा स्‍नातकोत्तर गर्दै गरेका करिब २०० विद्यार्थीहरू बस्दै आएका छन भने महिला विद्यार्थी करिब १६० जना छन्‌।

सूचना अधिकारीसँगै छैन सूचना

सरकारी निकायमा कुनै पनि सूचना जानकारी दिनका लागि सूचना अधिकारी तोकिएको हुन्छ। तर, त्रिभुवन विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्य अधिकारीले हाल विश्वविद्यालयमा कति विद्यार्थी अध्ययन गर्छन्‌ र सरसफाई गर्ने कामदारको संख्या कति छ भन्ने तथ्याङ्क समेत दिन सकेनन्‌। 

सूचना माग्दा निकै गैरजिम्मेवार शैली झल्किनेगरी उनले भने, ‘मलाई कति विद्यार्थी र सरसफाई गर्ने कर्मचारी छन भनी सूचना अपडेट छैन, अरुसँगै बुझ्नुस’ त्यसपछि अन्य त्रिविका पदाधिकारीहरूलाई फोन सम्पर्क गरी सूचना माग्दा यस विषयमा केही जानकारी नभएको भन्दै पन्छिए।

कीर्तिपूरवासी पनि कम रहेनछन्‌

त्रिभुवन विश्वविद्यालय कीर्तिपूर नगरपालिकाले चर्चेको क्षेत्रमा पर्छ। बल्खुतर्फ निस्कने कीर्तिपुरका बासिन्दा दिनहुँ विश्वविद्यालय परिसर हुँदै हिँड्ने गर्छन्‌। यसरी विश्वविद्यालय परिसरबाट हिँड्नेमध्ये मानिसको ध्यान गन्तव्यमा पुग्नु हुँदैन, बरू विश्वविद्यालयको खुला स्थानमा फोहोर फाल्ने गर्छन्‌। 

विश्वविद्यालयका प्राध्यापक कृष्ण आचार्यले फोहोर व्यवस्थापन गर्दै आएपनि अरूले मोटरसाइकल र गाडीबाट फोहोर फाल्ने गरेकाले त्रिवि परिसरभित्र फोहोर थुप्रिने समस्या आएको बताए।
‘हरेक दिन फोहोर टिप्ने मान्छे राखेका छौँ,’ उनले भने, ‘हप्ताको दुई पटक फोहोर उठाउने गाडी ल्याई फोहोर लाने व्यवस्था गरेका छौँ, तर मोटरसाईकल र गाडीमा आउने मान्छेले बोरा वा पोकाबाट फोहोर फालेर हैरान पारेका छन्‌।’

उनले गाडीमा फोहोर राख्दा रातभरी कुकुरले चारैतिर लथालिङ्ग बनाएकाले पनि अस्तव्यस्त देखिएको बताए। उनका अनुसार पहिले त्रिविबाट निस्किएको कागज वा प्लाष्टिकहरू जलाउने गरिएको थियो भने नजल्ने फोहोरहरूलाई गाडीमा हालेर पठाइन्थ्यो।

तर, त्यही वरिपरीका स्थानीयले फोहोर फालिदिँदा त्रिवि परिसर कहिल्यै सफा हुन पाउँदैन। ‘अब फोहोरमैला व्यवस्थापन गर्न सबैलाई जनचेतना जगाउने छौं, कुकुरले नभेट्नेगरी दरिलो किसिमका बोरामा फोहोर राखेर गाडीमा पठाउने छौँ,’ प्राध्यापक आचार्यले भने। 

विश्वविद्यालय परिसरको फोहोर उठाउने कीर्तिपूर नगरपालिकाको प्रतिबद्धता

त्रिवि परिसरमा थुप्रिँदै आएको फोहोर व्यवस्थापनका विषयमा थाहा खबरकर्मीले प्रश्‍न गरेपछि कीर्तिपुर नगरपालिकाका योजना शाखा प्रमुख बालकृष्ण महर्जनले अब निरन्तर फोहोर उठाउने बताए।
उनले भने, ‘हामीले नगरपालिका क्षेत्रभित्र निरन्तर फोहोर उठाएर व्यवस्थापन गर्दै आएका छौं, त्रिवि परिसरमा फोहोर छ भने हामी उठाउँछौँ।’ 

३८ केन्द्रीय विभागहरू रहेको विश्वविद्यालयअन्तर्गत ६० आंगिक क्याम्पस रहेका छन्। २०१६ सालमा स्थापना भएको विश्वविद्यालयलाई नाम भूतपूर्व राजा त्रिभुवनको नाममा नामकरण गरिएको हो। 

शिक्षा क्षेत्रमा मुलुककै प्रतिष्ठाको केन्द्र त्रिवि परिसरले अब मुहार फेर्छ कि फेर्दैन? त्यहाँका सरोकारवालाले आफ्नो अध्ययन र कार्यस्थल सफा गर्छन्‌ कि त्यत्तिकै छाड्लान्‌? के कीर्तिपूर महानगरले विश्वविद्यालय परिसरलाई नियमित सफा गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ला? यसको 'फलोअप स्टोरी' हामी अवश्य लेख्नेछौं।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.