|

बारा (बरियापुर) : बाराको बरियापुरस्थित पञ्चवर्षीय गढीमाई मेला सम्पन्न भएको ३ महिना बितिसक्दा पनि आम्दानी खर्चको हिसावकिताव सार्वजनिक नहुँदा मेलाको आम्दानी हिनामिना भएको आशंका गरिएको छ।

करोडौँ रुपैयाँको आर्थिक कारोवार र लाखौँ भक्तजनको उपस्थिति रहेको पञ्चवर्षीय गढीमाई मेला सम्पन्न भएको ३ महिना बितिसकेको छ। तर, मेलाको आम्दानी खर्चको विवरण सार्वजनिक गर्न सम्बन्धित निकायले आलटाल गरेका कारण स्थानीयले मन्दिरको आम्दानी गडबढ भएको आशंका गरेका छन्।

स्थानीय एवं नेकपाका जिल्ला सदस्य रामबाबु यादवले मेलाको आम्दानीमा तत्कालीन सुरक्षा निकायका प्रमुखसहित नगरपालिका पदाधिकारी र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच भागवण्डा भएको आरोप लगाए।

‘यिनीहरूले मेलाको आम्दानीको सबै  पैसा खाइसकेका छन्, २ रुपैयाँको सामान किनेर १० रुपैयाँको हिसाब देखाएका छन्, अब हिसाब गर्दा बेरुजु देखिन्छ। कसरी सार्वजनिक गर्ने समस्या छ’ यादवले भने ‘हिसाबकिताब सार्वजनिक गर्न ढिला हुनुमा  मुख्य दोषी सिडियो साब नै हुनुहुन्छ, उहाँ शुरुमा लोभलाभमा पर्नुभयो अहिले हिसाबकिताब सार्वजनिक होस् भन्ने उहाँको विचार छैन्।’

प्रमुख जिल्ला अधिकारमाथि आरोप लगाउदै उनले गढीमाई मेलाको  आम्दानीमा गडबड भएको दाबी गरे। तत्कालीन अवस्थामा मेलामा लाखौँ रुपैयाँ आम्दानी हुने देखेर मेला कसले लगाउने भन्ने विषयमा नगरपालिका र गढिमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच ठूलो जुहारी नै चलेको थियो।

विगतमा मेला लगाउँदै आएको समितिले मेला आफूले लगाउन पाउनुपर्ने र महागढीमाई नगरपालिकाले पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई टेकेर मेला स्थानीय तहले लगाउन पाउनुपर्ने भन्दै दुवै पक्षको जुहारी चलेको हो। आम्दानीको लोभले मेला लगाउन होडबाझीमै उत्रेका दुवै पक्ष अहिले हिसाबकिताब सार्वजनिक गर्न भने एकले अर्कालाई जिम्मेवारी पन्छाएका छन्।

पूर्वसंविधानसभा सदस्य तथा बरियारपुरका स्थानीय शिवचन्द्र कुशवाहाले मेलाको हिसाबकिताब गडबढी भएकोले दुवै पक्षबाट सार्वजनिक गर्न आलटाल भइरहेको बताए। ‘नगरपालिका र मन्दिर सञ्चालन तथा विकास समितिबीच भित्रीरूपमा रकम बाँडफाँडमा विवाद भएका कारण यिनीहरूले मेलाको आम्दानी  र खर्च सार्वजनिक गर्न खोजिरहेका छैनन्’ पूर्वसंविधानसभा सदस्य कुशवाहाले भने ‘यो जतिसक्दो छिटो सार्वजनिक गर्नुपछ। होइन भने धार्मिक स्थलप्रति भक्तजनको विश्वास मर्दै जान्छ, नगरपालिका र समिति पदाधिकारी विच राजनीतिक पुर्वाग्रह कारण हिसाबकिताब सार्वजनिक गर्न ढिलाई गर्न मिल्दैन्।’

प्रदेश-२ सरकारको बलमा मन्दिर विकास तथा सञ्चालन समिति अध्यक्ष बनेका रामचन्द्र साह तेली राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट समिति अध्यक्ष हुन्। राजनीतिक रूपमा महागढीमाई नगरपालिका नगरप्रमुख यादव नेपाली काग्रेसका हुन्। सामान्य रुपमा हेर्दा नगरपालिका र समितिबीच विवाद सामान्य देखिए पनि यो प्रदेश सरकार र स्थानीय सरकारबीचको आन्तरिक जुहारीका र भागवण्डा नमिलेका कारण सबै काम  ढिलाई  भएको बताउछन्, कुशवाहा।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साह तेलीले भने मेलामा नगरपालिकाले २ करोड रुपैयाँ लुटेको आरोप लगाए। ‘जसले मेला लुट्यो हिसाबकिताब पनि उसैले सार्वजनिक गर्छ, मेलाको आम्दानी खर्चको हिसाबकिताब उसैसँग छ। मैले कसरी सार्वजनिक गर्ने’ अध्यक्ष तेलीले भने ‘नगरपालिकाले हिसाबकिताब दिन्छ भने सार्वजनिक गर्ने हो। हामीसँग हिसाबकिताब छैन्। मेला नगरपालिकाले लगाएको हो। हिसाबकिताब पनि उसैले सार्वजनिक गर्छ।’

प्रत्येक ५/५ वर्षमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा  यसपटक भारतीय र नेपाली गरी झण्डै ७० लाख भक्तजनको मेलामा सहभागीता जनाएका थिए। मेला व्यवस्थापनका लागि महागढीमाई नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको थियो, जसमा ५० लाख खर्च भएको  नगरपालिकाले जनाएको छ। साथै जग्गा भाडाबापत ६५ लाख, मनोरञ्जनबापत १ करोड २२ लाख र मन्दिरमा चढेको भेटिबापत १७ लाख रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ।

‘मेलाको आम्दानी खर्चको हिसावकिताब सार्वजनिक गर्न मेला समितिलाई मैले भनेको छु। तर, उहाँहरूबाट क्लियर हिसाबकिताब आएको छैन। त्यहि कारण ढिला भएको हो’ महागढिमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले भने ‘मेला गराउने विषयमा धेरै खिचातानी थियो, बेग्लैबेग्लै दलका प्रतिनिधिहरू टिममा थिए, त्यहि भएर समस्या भएको हो, अब चैतभित्रका हिसाबकिताब सार्वजनिक गर्न मैले समितिलाई भनिसकेको छु, मेलाको आम्दानीबाट १ रुपैयाँ पनि मैले लिएको छैन्।’

यसअघि २०७१ सालमा भएको  पञ्चवर्षीय गढीमाई मेलामा सबै खर्च कटाएर समितिले झण्डै ७० लाख रुपैयाँ बचत गरेको थियो। तर, यसपटकको मेलामा भने आम्दानी भन्दा खर्च धेरै भएको नगरप्रमुख यादवले जनाएका छन्। ‘समितिबाट हिसाबकिताब सबै आएको छैन्। तर, हाम्रो अनुमानमा यसपटक मेलामा आम्दानी भन्दा बढी खर्च भएको अनुमान गरेका छौँ’ उनले  भने।

पञ्चवर्षीय गढीमाई मेला लगाउने विषयमा दुवै पक्षबीच चर्केको विवाद मिलाउन सहजीकरण गरेको बारा प्रशासनले मेलाको हिसाबकिताब सार्वजनिक गर्न पहल नगर्नुले अर्को थप आशंका उत्पन्न गरेको छ। बाराका प्रजिअ फडिन्द्रमणी पोखरेलले नगरपालिका र मन्दिर व्यवस्थापन समितिलाई हिसाबकिताब सार्वजनिक गर्न पटकपटक दवाव दिइरहेको बताए।

‘मैले नगरपालिका र मन्दिर व्यवस्थापन समितिका पदाधिकारीलाई  दिनैपिच्छे हिसाबकिताब सार्वजनिक गर्नोस् भनिरहेको छु। तर, उहाँहरू अब  एकले अर्कालाई देखाएर पन्छिरहनु भएको छ’ प्रजिअ पोखरेलले भने।

बली पूजाका लागि दक्षिण एसियाकै प्रसिद्ध धामिर्कस्थल गढीमाई मन्दिरमा पछिल्लो समय प्रदेश-२ सरकारले पनि विवाह मण्डल र मन्दिरको पुनः संरचनाहरू बनाउन १ करोड बजेट विनियोजन गरेको छ। तर, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा दुवै पक्षले आफूअनुकूल गरेका लगानी प्रभावकारी नभएको स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.