|

सोलुखुम्बु : महाकुलुङ चक्रपथ (रिङरोड) सडक निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ।

गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भईरहेको उक्त रिङरोडको काम १० प्रतिशत मात्रै बाँकी रहेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिए। अनुगमनका क्रममा गुणस्तरीय काम भएको उनको प्रतिक्रिया छ। 

अध्यक्ष किराँतीका अनुसार गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको रिङरोडले गाउँपालिकाको पाँचवटै वडा केन्द्रलाई छुने छ। जसको दुरी ४१ किलोमिटर रहेको छ। २०७४ फागुन देखी निर्माण सुरु भएको रिङ रोड सम्पन्न गर्न १० करोड रूपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म करिब ७ करोड ५० लाख रूपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ।

सडकको निरीक्षणपश्चात अबको दुई महिनाभित्र गौरवको आयोजनामध्ये एउटा आयोजना रिङरोड निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष किराँतीले बताए। बाह्रै महिना सञ्चालन हुने दावी गरिएको रिङरोड निर्माण भएपछि गाउँपालिका केन्द्र आउँदा पाँच घण्टासम्म हिँड्नुपर्ने नागरिकको बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिएको छ।
स्थानीय तहको निर्वाचनका बेला गरिएको प्रतिवद्धताअनुसार नै काम भईरहेको भन्दै महाकुलुङबासीले स्थानीय सरकारलाई धन्यवाद दिएका छन्। जनचाहना अनुसारको काम भईरहेको भन्दै संघीयताको आभास भएको उनीहरुको भनाई छ। 

महाकुलुङ गाउँपालिकालाई सदरमुकाम सल्लेरीदेखी भौगोलिक रुपमा निक्कै टाढा एवम् विकट गाउँपालिकाको रुपमा लिइन्छ। स्थानीय तहको निर्वाचनका बेला सडक पहुँच नपुगेको यस गाउँपालिकामा डेढ बर्षदेखी हिउँदको समयमा सदरमुकाम सहित राजधानीसम्म सीधा सडक सञ्चालनमा रहेको छ। गाउँपालिका जानको लागि दुधकोशी नदी पार गर्नुपर्ने भएकाले हिउँदको समयमा ह्युम पाईप राखेर सवारी सञ्चालन गरिन्छ। 

सडक पहुँच पुग्नुका साथै सरकारी सेवा लिन सातुसामल बोकेर जिल्ला सदरमुकाम सल्लेरी पुग्नुपर्ने बाध्यता स्थानीय सरकार गठन भएसँगै अन्त्य भएको वडा नम्बर ५ निवासी तारा कुलुङले बताइन्। दुई दिनको पैदल यात्रा पछि सदरमुकाम पुग्ने महाकुलुङबासी अहिले एकै दिनमा सदरमुकामसम्म पुगेर काम सकेर घर पुग्छन्।

भरिया तथा खच्चडको भरमा व्यापार व्यवसाय गर्ने स्थानीयले समेत गाडी मार्फत सामान ढुवानी गर्दा निक्कै सहज र सरल पर्ने बताउँछन्। केहि दिनअघि मात्रै यस गाउँपालिकाले १५ शैयाको महाकुलुङ प्राथमिक अस्पताल उद्घाटन गरेको छ। प्रदेश एकका मूख्यमन्त्री शेरधन राईले उक्त अस्पतालको उद्घाटन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.