|

धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ मिलनटारमा कानूनअनुसार उमेर नपुगेकी किशोरीको विवाह दिउँसो रोकिएपनि राती सुटुक्क बेहुलाको घर पठाएको खुलेको छ। 

१८ वर्षीया सपना सुवेदीको बुधबार परिवारले विवाह गरिदिन लागेपछि आमा समूहको दवावमा रोकिएको थियो, प्रहरीले बुधबार दिउँसो जन्तीलाई बाटोबाटै फर्काइदिएको थियो। तर राती फेरि दुलहा पक्षका मानिसहरू किशोरीको घरमा आई उनलाई बेहुली बनाएर लगेका हुन्‌‌। 

उमेर नपुग्दै किशोरीको विवाह हुन लागेको भन्दै महिला अधिकारकर्मीहरूले सूचना दिएपछि दिउँसो विवाह रोकिएपनि राती भने किशोरीलाई अन्माएर पठाइएको हो।

किशोरी सपना सुवेदीसँग गल्छी गाउँपालिका–६, वाहुनपलाङका कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराजको बुधवार सामाजिक परम्परा अनुसार विवाह हुँदै थियो। दुवैपक्षका अभिभावकले उनीहरूको विवाहको तयारी केही दिनदेखि गरिरहेका थिए।

आफन्त, छरछिमेक,गाउँघरका इष्टमित्र सबैजना जम्मा भएर बुधबार बेहुलाको स्वागतको तयारीमा जुटेका थिए। बेहुलीको घरबाट एक किलोमिटर नजिकै आइपुगेको जन्ती गन्तव्य पुग्न नपाउँदै रोकिन पुग्यो, बाजा गाजासहित बेहुली लिन आएका बेहुला रनभुल्ल भए, आफन्तहरू गर्ने, कसो गर्ने भन्ने अन्यौलमा परे।

बेहुलाको घरमा रत्यौली शुरु भईसकेको थियो भने बेहुली पक्ष जन्तीको स्वागतका लागि भोज तयार पारेर बाटो कुरिरहेको थियो। एक्कासी विवाह भाँडिएको खबरले दुवै पक्ष अप्ठेरोमा परे।  

गजुरी–६, मिलनटार निवासी ध्रुव सुवेदीले २० बर्ष नपुगेकि छोरीको विवाह गर्न लागेको भन्दै गाउँका महिलाअधिकारकर्मीहरूले प्रहरीलाई खबर गरेर विवाह रोक्न लगाएका थिए। महिला समूहको आग्रहपछि इलाका प्रहरी कार्यालय गजुरीले प्रहरी पठाएर बिहे रोक्न निर्देशन दिएको थियो। 

बेहुली लिन गएका जन्ती गजुरी गाउँपालिकाको आदमघाटस्थित शशस्त्र प्रहरीको ब्यारेक अघि रोकिए। बेहुलापक्षलाई बैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरीले अगाडी बढ्न रोकेपछि विवाह रोकिएको थियो। 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरीक्षक जनक बस्नेतका अनुसार स्थानीय आमा समूहले उमेर नपुगेकी किशोरीको विवाह हुन लागेको भनेपछि यो बिषयमा बुझ्न प्रहरी खटिएको थियो। ‘उमेर नपुगि विवाह गर्दा कानून लाग्छ भनेर हामीले बेहुला र बेहुली पक्षलाई अनुरोध गरेका हौं,’ बस्नेतले बताए। 

बेहुलीका आफन्त र माइती पक्षलाई भेटेर प्रहरीले विवाह रोक्न आदेश दिएपछि दुलाहा लिएर गएका जन्ती आदमघाटस्थित शसस्त्र प्रहरी वेसक्याम्प अघिबाट फर्किन बाध्य भएको थियो। विवाह रोकिएपछि तनावमा परेको दुवै पक्षले बुधवार राती सुटुक्क बेहुलीलाई बेहुलाको घर पुर्‍याएर भित्र्याएका छन्‌। 

आमा समूहले बेहुलीको उमेर २० बर्ष नपुगेको दावी गरेको छ भने सुवेदी परिवारले भने गाउँका केही मान्छेले आफूहरूको बेइज्जत गर्न झुटो आरोप लगाएर विवाह भाँड्न खोजेको आरोप लगाएका छन्। बेहुली बनेकी सपनाको उमेर २० बर्ष पुग्न २ महिना बाँकी रहेको सुवेदी परिवारले जिकिर गरेको छ। 

यसैगरी बालविवाह गरेको आरोपमा नीलकण्ठ नगरपालिका वडा नम्बर ६ का १६ वर्षीया बालिका र १७ बर्षका बालक बिरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता भएको छ।

उनीहरूले फागुन २ गते भागेर विवाह गरेकोले उनीहरू दुबै जना बालक भएका कारण विवाह गर्न नमिल्ने भएकोले बालविवाह सम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रुपक खड्काले जानाकारी दिए।

बालिकालाई महिला सुरक्षा घरमा राखिएको छ भने बालकलाई प्रहरीले न्यायिक हिरासतमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.