दुई घण्टामै काठमाडौं पुगिने

|

हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग (हेटौंडा–काठमाण्डौ छोटो सडक) अन्तर्गतको हेटौंडा भीमफेदी कुलेखानी सडक फराकिलो पार्न सुरु गरेको छ। बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाडौं जोड्ने सडकको स्तरोन्नतिसहित चौडा पार्न लागिएको हो।

भीमफेदीदेखि कुलेखानीसम्म १५ किलोमिटर सडकलाई २ वटा प्याकेज बनाई मर्मतको काम थालिएको हो। सो खण्ड निर्माणका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा सो निर्माण कम्पनीले ठेक्का पाएको छ।

यसैगरी देउरालीबाट कुलेखानी सम्मको ६ किलोमिटर सडक खण्ड निर्माणका लागि १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ। यी दुबै खण्ड  निर्माणका लागि गत माघ १० गते ठेक्का काम सम्झौता गरेर निर्माण सुरु गरिएको हो।

सडक स्तरोन्नतिको काम एक बर्षभीत्र सम्पन्न गर्नै गरी सम्झौता गरिएको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जानकारी दिएको छ। दुवै खण्ड निर्माणका लागि अलग अलग निर्माण कम्पनीहरुले ठेक्का पाएका छन्।

दुई घण्टामै काठमाडौं

यो सडकको मोड सुधार गर्नुका साथै सडकलाई ६ मिटर चौडा र कालोपत्रै समेत हुने भौतिक पूर्वाधार बिकास मन्त्रालयका ईन्जिनियर नबिन सिंहले जानकारी दिए। यो सडकको स्तरोन्नतीपछि प्रदेशका १२ जिल्लाहरुलाई राजधानी हेटौंडा आउन थप सहज हुने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए।

हेटौंडाबाट काठमाण्डौ जान पृथ्बी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–फाखेल–काठमाण्डौ सडक, हेटौंडा–कुलेखानी–महालक्ष्मीखोला–काठमाण्डौं सडक, हेटौंडा–भीमफेदी–ईपा–काठमाण्डौं सडक लगायतका रहेका छन्।

पृथ्वी राजमार्गस्तरिय भए पनि दूरीका हिसाबले टाढा रहेका कारण पनि यो सडक स्तरोन्नतिपछि यसले थप दूरी छोट्याउने मुख्यमन्त्री पौडेलले बताए। एकतर्फी सडकका रुपमा सञ्चालनमा रहेको यो सडक सुधारपछि धेरैको रोजाईमा यो सडक पर्ने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाँलले बताए।

उक्त काम सकिएपछि दुई घण्टामै काठमाडौँ–हेटौँडा आउजाउ गर्न सकिने मन्त्री फुयाँलको भनाई छ। यसलाई प्राथमिकतामा राखेर निर्माण सुरु गरिएपनि अन्य सडकहरुको पनि आगामी बर्षहरुमा स्तरोन्नति हुने मन्त्री फुयाँलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.