काठमाडौ : शिशिर र गृष्म ऋतुको बीचमा आउने वसन्त ऋतुलाई यौवन र आशाको प्रतिक मानिन्छ। मनमोहिनी यो ऋतुमा उजाड वनपाखा हरिया हुन थाल्छन्, अनेकानेक फूलहरू उन्मक्त फक्रन्छन्, पृथ्वी र जलको थोरै सिञ्चन पाएका बोटविरूवाका हाँगाहरूमा प्रकृतिको प्राण भरिइन्छ।
हरिया र रङ्गिन रूखपातका हाँगामा उस्तै रङ्गीविरङ्गी चराहरूको चिरबिराहटले माधुर्य सङ्गीत फैलाइदिन्छ। जाडोको बिदाइपछि बिरूवाले फेर्ने पालुवा, प्रकृतिको हरियाली रूप, पारिलो घाम र अनेक रङ्गका फूलहरूको फक्राइले मन त चंगाजस्तै हुन्छ नै, पृथ्वी नै इन्द्रेणीहरूको संयोजनजस्तो देखिइन्छ।
कोइली वसन्तमै कुहु–कुहु गर्छन्, काफल पाक्यो चरीले मानिसहरूलाई वनपाखामा कन्दमूल खान बोलाउँछन्। पात्रो फेरिइन्छ, नवयौवनाहरूको हृदयमा प्रेमराग थप तरङ्गित हुन्छ, धरतीका वनस्पतिदेखि प्राणीहरूमा नयाँ र उत्साह र अठोट पलाउँछ। सबैभन्दा ठूलाे वसन्तबहार चाहिँ प्रकृतिमै देखिइन्छ।
हो, यही वसन्तबहारले यतिखेर काठमाडौंलाई पनि मनमोहक बनाइदिएको छ। हिउँदभरी कठ्याङ्ग्रिएर र मानिसहरूको अतिक्रमणमा परेर थोरै सजीवता मात्रै बाँकी रहेका वनस्पतिहरू पलाएर फक्रन थालेका छन्। फूलका बिरूवाहरू त रङ्गीन घुम्टोभित्र लजाइरहेकी बेहुलीजस्तै देखिइन्छन्।
काठमाडौंस्थित तिनकुनेदेखि विमानस्थलसम्मको सडकलाई वसन्त ऋतुले निकै कौशलता देखाएर सिंगारिदिएको छ। कलेज पढ्दै गरेका किशोरी, बाटो हिँड्दै गरेका बटुवा र यायावरहरूलाई मनमोहिनी वसन्तले हुरूक्कै पारिदिएजस्तो लाग्छ। हेरौं केही तस्बिरहरू:
तपाईंको ईमेल गोप्य राखिनेछ ।