|

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्‍ने दाउका साथ जिल्ला दौडाहमा रहेका शेखर कोइरालाई पार्टी प्रवक्‍ता विश्वप्रकाश शर्माले फोन गरी प्रशिक्षण कार्यक्रम नगर्न भनेका छन्।  

कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका शेखर आज शुक्रबार गोरखामा पार्टीको संशोधित विधान तथा नियमावलीमा थप भएका नयाँ प्रावधानको विषयमा गोरखा कांग्रेसले आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन पुगेका थिए। कांग्रेसले गत फागुन २१ गते सूचना जारी गरी कोरोना भाइरसको लागि सचेतना आवश्यक रहेकोले पार्टीको प्रशिक्षण लगायतका कार्यक्रम स्थगित गर्ने बताएको थियो।  

प्रवक्‍ता शर्माले सभापति शेरबहादुर देउवाको निर्देशनमा शेखरलाई गोरखामा भइरहेको कार्यक्रम स्थगित गरेर काठमाडौं फर्कन आग्रह गरेको देउवानिकट स्रोतले जानकारी दियो। देउवानिकट स्रोतले भन्यो, ‘आगामी महाधिवेशनमा पनि शेरबहादुर दाइ सभापतिको लागि चुनाव लड्ने तयारीमा हुनुहुन्छ। उता  शेखर दाइ पनि त्यसैको तयारीमा हुनुहुन्छ। अहिले कुनै कार्यक्रम नगर्ने भनेर पार्टीले भनेको बेला उहाँ सक्रिए भएपछि कार्यक्रम नगर्न भनिएको हो।’

प्रवक्‍ता शर्माले भने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट सचेतना जगाउने विषयमा पार्टीले गरेको निर्णय केन्द्रीय नेताले नै ख्याल नगरेकोले सम्झाएको बताए। ‘डब्लुएचओले पनि सतर्क रहन भनेको छ। नेपाल सरकारले पनि यसरी कार्यक्रम नगर्न भनेको छ। अर्काे कुरा पार्टीले पनि भेला सम्मेलन नगर्न भनेर भनेको छ,’ थाहाखबरसँग कुराकानी गर्दै शर्माले भने, ‘उहाँ गोरखा गइहाल्नुभएछ। मैले उहाँलाई फोन गरेर डाक्टरसाप कार्यक्रम गइहाल्नुभयो। पार्टीले गरेको निर्णय थाहा  पाउनु भएन छ। कोरोनाको बारेमा केही बोलेर आउनु होला भनेको हुँ।’ 

जवाफमा कोइरालाले ‘हुन्छ विश्वप्रकाशजी म कोरोनाबारे बोल्छु यहाँ कार्यक्रम सानो हो,’ भनेको शर्माले बताए। शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने कसैले प्रशिक्षण कार्यक्रम रोकेर काठमाडौं फर्कन नभनेको बताए।

उनले भने, ‘कहीँ कतैबाट उहाँलाई काठमाडौ फर्कनु भन्ने निर्देशन आएको छैन। पार्टी प्रवक्ताले डा शेखर कोइरालालाई फोन गरेर तपाईंले जिल्लाका साथीहरूलाई कोरोना भाइरसबाट बच्‍ने उपायहरू पनि बताइदिनुहोला भन्नुभएको हो। मेडिकल डाक्टरसमेत रहनुभएका कोइरालाले अहिले पार्टीको कुराभन्दा पनि कोरोना रोग लाग्नबाट कसरी बच्ने भन्ने विषयमा केन्द्रित हुनुभएको छ।’

तर, शेखर केन्द्रीय सभापति बन्ने उद्देश्यले जिल्ला दौडाहमा छन्। उनी बिहीबार कास्कीको कार्यक्रम सकेर शुक्रबार गोरखा आएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.