|

काठमाडौ : लतिपुरस्थित शंखमूल घाटमा एउटा यस्तो मनोरम दृश्यका पार्क छन्। त्यो हो शंखपार्क। त्यहाँ पुग्‍ने जोकोहीलाई लाग्छ,‘आँहा! कति हरियाली, फूलेको फूलको सुगन्ध। सधैँ यहीँ बस्‍न पाए हुन्थ्यो।’ पार्कसँगैको जगत गुरु आश्रममा लेखिएको छ‘पार्क पुस्तकालय’। त्यसभित्र वेद,उपन्यास,साहित्यिक पुस्तक लगायतले कोठा भरिएका छन्। 

पुस्तकालय कक्षको भित्तामा टाँसिएका छन्,‘पुस्तकले हामीलाई कहिलै एक्लोपनको महसुस हुन दिँदैन, पुरानो कोट लगाउ,नयाँ पुस्तक किन,पुस्तक हिउँ फोड्ने बन्चरो बन्नैपर्छ,जसले हाम्रो आत्मामा जमेको समन्‍धलाई फोडोस्’

बिहीबार एकाएक पार्कमा घुम्‍न आएका आन्तरिक पर्यटक पुस्तकालय कक्षभित्र छिरे। आफ्नो रुचिको विषयमा लेखिएका पुस्तकको खोजी गरे। आफूलाई  मनपर्ने  पुस्तक पढ्न पाउँदा उनीहरू धेरै खुशी देखिन्थे। पुस्तकालयभित्र पुस्तक पढिरहेका कुपण्डोलकी सुजता कार्कीले  भन्छिन्,‘म दैनिक यही पार्कमा घुम्‍न आउँछु। पुस्तकालयमा छिरेर विभिन्न पुस्तक पढ्छु। मलाई आनन्द आउँछ। मैले पनि तीन-चारवटा पुस्तक ल्याएर राखेकी छु।’

तनाव भएको  बेला पुस्तकालयका पुस्तकहरू पढ्दा सबै तनावहरू विस्तारै कम हुँदै जानेउनको अनुभव रहेको छ। ‘मानिसहरू टेन्सन लिएको बेला शान्त वातावरणमा जान खोज्छन,’उनले उनले भनिन्,‘तीनै जाने ठाउँ हो शंखपार्क। यहाँ पुस्तकालय छ। पुस्तक पढ्दा ज्ञान र आनन्दको अनुभूति हुन्छ। सबै चिन्ताका कुराहरू आफैँ हराउँदै जान्छ।’

उनका अनुसार नेपालमा प्राविधिक विषयका पुस्तकहरू महँगो हुने गरेका छन्।  आर्थिक अवस्था कमजोर हुनेहरूले किनेर पढ्न सक्दैनन्। त्यसो त उनले ती आइटीका पुस्तकहरू पुस्तकालयमा राखेकी छन्। सबैले पढ्न पाउँछन्। पढ्ने विद्यार्थीहरूको लागि शान्त ठाउँ चाहिले बताउदै  आचार्य थप्छिन्, ‘उपत्यकामा यस्ता थुप्रै राम्रा पार्कहरू छन्। ती पार्कहरूमा यस्तै सरकारले पुस्तकालय खोलेमा पढ्ने विद्यार्थी,शिक्षित वृद्धवृद्धा आनन्दले बस्‍न र पढ्न पाउँथे।’

शंखपार्कमा पुग्‍ने जो कोहीले निःशुल्क पुस्तक पढ्न पाउने गरेका छन्। आन्तरिक तथा बाह्य पर्यटकलाई पुस्तकमार्फत ज्ञान दिलाउने उद्द‍ेश्यले २०७५ फागुन ७ गतेबाट यो पुस्तकालय सञ्चालनमा आएको हो।

पुस्तकालयमा भेटिएका शंखमूलकी दिपिका अर्यालले पार्कमा घुम्दै पुस्तक पढ्न पाउँदा धेरै खुशी लागेको बताउँछिन्। उनले भनिन्,‘शंखमूल पार्क सुन्दर र शान्त ठाउँमा भएकाले जो पनि घुम्‍न आउँछन्। पुस्तकालय पनि छ। उनीहरूले मज्जासँग पुस्तक पढ्न पाउँछन्। यो काम सराहनीय छ।’

पुस्तकालय भएमा एक्लोपनको महसुस नहुने उनको बुझाइ छ। ‘मान्छे एक्लै भएमा अल्छी लाग्छ,’उनले पुस्तकका पाना पल्टाउँदै भनिन्,‘पुस्तकालय छिरेपछि चाहेका पुस्तक पढ्न पाइन्छ। सबै दुःख पीडाहरू भुलिन्छ। त्यसैले म यहाँ आउने गरेको छु।’ शंखपार्कको जस्तै पुस्तकालय अन्य सार्वजनिक पार्कहरू खोलिनुपर्ने उनको तर्क छ।

को थिए पार्क खोल्ने व्यक्ति?

शंखपार्कको पुस्तकालय खोल्ने पहिलो अभियान्ता नवराज आचार्य हुन्। उनको अवधारणामा बिकु लामा, भुवनसिंह कुँवर र देवकी अभिलाषी मिलेर पार्क पुस्तकालय खोलेका हुन्।  

 

पेप्सीकोला टाउन प्लानिङका आचार्यले पार्कमा घुम्‍न आएका पर्यटकले पार्कको मनोरञ्जन लिँदै पुस्तकमार्फत विभिन्न ज्ञान सिकून् भनी पार्क पुस्तकालको स्थापना गरेको सुनाए। ‘पुस्तकालयबाट सामाजिक, सांस्कृतिक र ऐतिहासिक रूपले ज्ञान सिकिन्छ,’उनले भने,‘त्यसैले पहिलो पटक पार्क पुस्तकालयको स्थापना गरिएको हो।’ उनका अनुसार देश तथा विदेशीमा बस्‍ने व्यक्तिहरूको सहयोगमा धार्मिक, साहित्यिक, अंग्रेजी, बेद लगायतका पुस्तक राखिएको छ। 
पुस्तकालय खोल्ने सोच कसरी आयो?

अभियन्ता आचार्य इजरायल देशमा बस्दा त्यहाँ पार्कपिच्छे  पुस्तकालय देख्थे। नेपालमा पनि यस्ता थुप्रै पार्क छन्। नेपाल रहेको पार्कमा पनि पुस्तकालय खोल्दा बसिरहेको बेला किताब हेरेर पर्यटक मरोरञ्जन र ज्ञान सिकिन्छ भन्‍ने अवधारणा लिएर उनले पार्क खोल्ने सोच बनाएका हुन्।

‘१२ वर्षसम्म इजरायलमा बस्दा नेपाली पुस्तक झिकाएर पुस्तक बेचेको थिएँ,’ उनले विगतका कुराहरू सम्झिँदै भने, ‘त्यहाँबाट उठेको करिब २५ लाख रुपैयाँ अनाथ, असहायलाई पैसा दिएको छु। त्यसपछि पार्क पुस्तकालय खोल्ने सोच आएपछि पार्क खोलियो।’

सरकारले पनि यस्ता सार्वजनिक पार्कहरूमा पार्क पुस्तकालय खोल्नुपर्ने सुझाव दिन्छन्। उनले अन्य ठाउँमा सार्वजनिक पार्कहरूमा पुस्तकालय खोल्ने योजना  रहेको समेत भन्‍न छुट्टाएनन्।  

‘पुस्तकालयले संस्कृति जगेर्ना गरेको छ’

शंखमूलमा रहेको जगतगुरु आदर्श संस्कृत गुरुकुलका प्रधानाध्यापक तेज भट्टराईले पुस्तकालयले संस्कृति जगेर्ना गर्नमा सहयोग पुर्‍याएको बताउँछन्। ‘पुस्तकालयमा वेद, पुराण र महाभारतका पुस्तकहरू छन,’उनले भने,‘बाहिरका पर्यटकहरू यहाँ आएर मनोरञ्जन लिँदै पुस्तक पढ्छन्। पुस्तकमा भएको ज्ञान आर्जन गर्छन्। यसले हाम्रो कला,संस्कृति बचाउनमा ठूलो सहयोग पुर्‍याएको छ।’

उनले पुस्तकालयको संरक्षण र सरसफाइ पनि गर्दै आएको बताए। उनका अनुसार संस्कृत स्कुलमा पढ्ने विद्यार्थीहरू पनि पुस्तकालयमा पुस्तक हेर्न जान्छन्। दैनिक आन्तरिक र बाह्य पर्यटक १० देखि २० जनासम्म पुस्तकालयमा छिर्ने गर्छन्। अहिले भने कोरोना भाइरसको त्रासले पुस्तकालयमा कम पर्यटक छिर्ने गरेका छन्। 

कसरी रह्‍यो शंखमूल नाम?

प्रधानाध्यापक भट्टराईका अनुसार जगत गुरुको वाधार्पण भयो। त्योभन्दा अगाडि यो ठाउँ बगर थियो। गाँजा खाने लगायतका विकृति फैलिएको बजार थियो। ‘जब जगत गुरु आए मान्छेहरूको जमात बढ्यो,’उनले भने,‘त्यसले पछि जगत गुरुले शंखमूलको महात्मी भन्‍नुभयो। शंखेश्वर नाम गरेको एउटा राक्षसले तपस्या गरेर शिवको बरदान पाएको ठाउँ हो। जुन शंखसँग जोडिएकाले शंखमूल नामले चिनिएको सुनिन्छ। अर्को बागमतीलगायत अन्य तीन नदी जोडिएको संगम पनि हो।’

उनका अनुसार शंखभित्र पानी उम्रने ठाउँ छ। त्यही पानी उनीहरूले अहिले खाइरहेका छन्। शंखमूलको इतिहासका पुस्तक पनि त्यही पुस्तकालयमा हेर्न पाइने छ। यो शव जलाउने पुरानो घाट पनि हो। जगत नारायण मन्दिर पनि रहेको छ। पुस्तकालय बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म खुला रहनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.