साहित्यले भावना बोल्‍न सक्‍नुपर्छ

|

काठमाडौं : प्राडा. विश्वम्भर प्याकुरेल अर्थविद्, गीतकार तथा पूर्व-राजदूत पनि हुन्। उनी श्रीलंकाको राजदूतबाट राजीनामा दिएर स्वदेश फिर्ता भएका थिए। अर्थशास्त्रीहरूको संगठन नेपाल आर्थिक संघको अध्यक्ष पनि भएका थिए। 'तिमीले भनेका सारा देव छोएर म किरिया खान कहाँ सक्छु र' उनले लेखेका चर्चित गीत स्वर सम्राट् नारायण गोपालले गाएका थिए। उनले लामो समय प्राध्यापन सेवा पनि गरेका थिए।  

उनै अर्थविद् प्याकुरेलसँग थाहाखबरकर्मी अतिन आचार्यले नेपालको राजनीति, अर्थ व्यवस्था र उनको साहित्यिक यात्रासम्बन्धी कुराकानी गरेका छन् :

विश्वको अर्थशास्त्रीय सिद्बान्त र समाज, साहित्यमा दख्खल राख्नुहुन्छ। हिजोआज केमा व्यस्त हुनुहुन्छ?

एउटा संस्था स्थापना गरेको छु। त्यसैमा व्यस्त छु। उक्त संस्थाले  नेपालको अर्थव्यवस्था र विश्वको अर्थ व्यवस्थालाई अध्ययन गर्छ। समसामयिक विषय अध्ययन गरेर सरकारलाई बेलाबेलामा सल्लाह र सुझाव दिने काम गर्ने गर्छ। जसमा हामी चारजना छौँ।

त्‍यो कस्तो संस्था हो?

गैरनाफामूलक संस्था हो। जसले सरकारले नीति बनाउने बेलामा सल्लाह सुझाव दिने गर्छ। नयाँ नयाँ विषयको अध्ययन गरेर समाज र मुलुकको लागि ऊर्जा दिने काम गरिरहेको छ।

कस्ता-कस्ता पुस्तक अध्ययन गर्नुहुन्छ?

प्राज्ञिक व्यक्ति भएकोले अध्ययन बढी नै गर्छु। मेरो रुचिमा रहेको भनेको अर्थ हो।

अचेल पढ्ने तरिका  पनि फरक हुँदै गएको हो?

अध्ययन गर्नलाई पुस्तक नै पढ्नुपर्छ भन्‍ने छैन। प्रविधिको विकाससँगै पढ्ने तौरतरिका पनि परिवर्तन हुँदै गएका छन्। अचेल ट्याव र कम्प्युटरमा बढी अध्ययन गर्छु।

पहिलोपटक पढेको पुस्तक कुन हो?

विश्वेश्वरप्रसाद कोइरालाको 'सुम्‍निमा' पढेको हुँ। उनको पुस्तकबाट मैले साहित्य र पुस्तकसँगको यात्राको सुरुवाती गरेको हुँ।

विश्वेश्वरप्रसाद कोइराला (बिपी) को सम्झना गर्नुभयो। उहाँलाई नेपाली साहित्यमा र राजनीतिलाई कसरी सम्झनुहुन्छ?

उहाँको साहित्य र राजनीति जनता केन्द्रित थियो। साहित्य र राजनीतिले सदा जनताको भावना बोल्‍नुपर्छ। जसरी साहित्यले जनताको भावना लेख्छ त्यस्तै राजनीति पनि त्यस्तै हो। बिपी कोइरालाको साहित्य र राजनीति पनि ठ्याक्कै त्यस्तै हो।

त्यसबेलादेखिको नेपाली साहित्य र राजनीति अहिलेसम्म जीवित छ। उहाँको लेखन उच्च कोटीको थियो। नेपाली साहित्यमा उहाँ जतिको खुराक दिने सायद अब कमै हुन्छन् होला। साहित्यमा मात्र नभनौँ राजनीतिमा पनि उहाँ जतिको कोही पनि हुँदैनन्। साहित्यमा सदा संवदेना हुनुपर्छ। त्यहीँ थियो। उहाँको हरेक कुरामा संवेदना थियो। उनी जहिले पनि नेपाली राजनीतिको जरुरी व्यक्तित्व हुन्। अझ उनी साहित्यमा शिखर पुरुष नै हुन्। मुलुकको लागि पथप्रदर्शक भन्दा पनि हुन्छ।

यहाँलाई सबैभन्दा मनपरेको पुस्तक कुन हो?

'सुम्‍निमा' नै मलाई सबैभन्दा धेरै मनपरेको पुस्तक हो। त्यसमा कथावस्तु र पात्रको भावना साच्चिकै उत्कृष्ट छ। उनको कल्पनाशीलता र सिर्जना उच्चकोटीको छ।

कुन समयमा बढी पढ्नुहुन्छ?

बिहानको समयमा पढ्ने गर्छु।

कस्तो पुस्तक पढ्नमा रुचि छ?

प्राज्ञिक क्षेत्रका पुस्तक बढी पढ्छु। रुचि पनि यसैमा छ।

अन्तिमपटक पढेको पुस्तक?

विश्व बैंकको आर्थिक सल्लाहकारको पुस्तक 'इकोनोमिक्स मिसेलिनी' पढेको हुँ। 

दोहोर्‍याएर पढेको पुस्तक?

धेरै पढ्नुपर्ने मानिस भएकोले धेरै पुस्तक पढेको छु। स्मरणमा रहेको अनसर्टन र मिक्स हुन्। यी सबै विदेशी लेखकका हुन्। मेरा लागि जीवनपयोगी पुस्तक यिनै हुन्।

पुस्तकले के दिने रहेछ?

केही त दिएको छ। साढे चार दशक पढेर र पढाएर समय बिताएँ। धेरै पनि दियो तर केही पाइनँ जस्तो लाग्छ। पुस्तकबाट रहस्यमय शक्ति आर्जन गरेँ। जुन हरेक मानिसले प्राप्त गर्छ। प्राप्त गरेको कुराहरु सबै भन्न पनि सकिँदैन।

अध्ययन गर्नको लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ?

प्राथमिकता के हो भनेर छुट्टयाउँछु। जब पढन बस्छु त्यसको लागि अगाडि जानकारी गराउँछु। मेरो लागि यति घण्टा व्यस्त भनेर परिवार तथा कार्यालयको साथीहरुलाई खबर गर्छु।

कुन उमेरमा बढी पुस्तक पढ्नुभयो?

३० वर्षदेखि ४५ वर्षको उमेरमा बढी पढेको छु। त्यसपछि बढी कम्प्युटरमा बसेर पढ्ने गरेको छु। चाहिने कुरा अहिले किताबमा भन्दा पनि बढी कम्प्युटरमा नै बढी छ। हरेक दिन पढेर नै समय बिताएको छु।

यात्राको क्रममा कत्तिको अध्ययन गर्नुहुन्छ?

विदेश भ्रमण धेरै यात्रा गरेको छु। तर, हवाई यात्रामा पढ्ने गरेको छैन। त्यसक्रममा म ल्यापटप र मोबाइलमा नोट गरेका कुरा हेर्ने गर्छु। नेपालमा गाडीमा हिँड्दा पढ्ने गरेको छु। पहिले पढ्नको लागि अगाडिको सिटमा बस्थे। हिजोआज पछाडिको सिटमा बसेर अध्ययन गर्छु। शरीरलाई पनि सजिलो किताब पनि दायाँबायाँ राख्‍न सजिलो हुन्छ। समयको प्रयोग कार्यालयमा मात्र होइन कि म गाडीमा बस्दा पनि गर्छु।

पुस्तकमा रुचि राख्‍ने  साथीहरूलाई कस्ता-कस्ता पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ?

मैले साथीहरूलाई सदा खोज अनुसन्धान गरिएको पुस्तक पढ्न सिफारिस गर्ने गरेको छु। गम्भीर ढंगले लेखिएका पुस्तक पढ्नुपर्छ भन्थेँ साथीहरूलाई।

टिभी कत्तिको हेर्नुहुन्छ?

समाचार च्यानल हेर्छु। अल जजिरा, सिएन, एन र बिबिसी न्युज हेर्छु। समसामयिक घटनामा आधारित समाचार नै हेर्छु। 

थोरै साहित्यका कुरा गरौँ साहित्य,गीत र संगीतमा रुची कसरी बढ्यो?

एकपटक कलेजमा राजा महेन्द्र आउने हुनुभयो। साहित्यको थोरै नसा लागेको थियो। राजा आउने भएपछि राजा आएको कार्यक्रममा गीत सुनाउन मन लाग्यो। गीत लेखेको थिएँ। त्यहीँ हो पहिलोपटक गीत गाएको। 

तपाईंले आफैँ लेखेर मनपरेको गीत कुनै छ?

छ। 'तिमीले भनेका सारा देव छोएरम कहाँ किरिया खान कहाँ सक्छु र' यो गीत लेखेर चर्चित भएपछि नेपाली गीत संगीत क्षेत्रमा अलिक दिन चर्चामा रहे। चर्चामा रहनको लागि भने कहिले पनि लेख्‍ने काम गरिनँ। जे गरेँ वा लेखेँ सबै सन्तुष्टको लागि नै गरे।

कति वर्षको उमेरदेखि कलम चलाउनुभयो?

साहित्यमा सानोदेखि धेरै थोरै रुचि थियो। घरको पारिवारिक चेत पनि राम्रो  थियो। १५-१६ वर्षको उमेरदेखि साहित्यमा फाट्टफुट्ट कलम  चलाउन थालेको थिएँ।

साहित्य, गीत र संगीतको मान्छे  तपाईंको प्रिय शब्द कुनै छ?

'नियतिकिनभने हरेक मानिससँग नियति हुन्छ।

साहित्यको क्षेत्रमा के कुराले तान्यो?

सबै मानिसमा प्यारो हुने भोक हुन्छ। प्यारो भएर बाँच्‍न मन छ भने साहित्यमा दख्‍खल हुनुपर्छ र साहित्य नै पढ्नुपर्छ भनेर म साहित्यमा पनि हात हालेको हुँ।

जीवन भनेको के रहेछ?

पढेर र पेसामा मैले सन्तुष्ट पाएको छु। तर, पढे, पेसा अपनाए, नाम र दाम कमाए सबै पाए अन्त्यमा मैले जीवन एकदमै रहस्यमय रहेछ।

अब थोरै राजनीतिका पनि कुरा गरौँ न। तपाईंले देखेको समयको राजनीति र अहिलेको राजनीति कत्तिको फरक पाउनुभएको ?

मैले देखेको समयमा निष्ठाको राजनीति,सिद्धान्तको र विचारको थियो। केही मानिसमा  साच्चिकै संघर्ष गरेर राजनीति गर्नुपर्छ भन्ने थियो। उपलब्धि पनि हुन्थ्यो। अहिले फरक भएको छ। अहिलेको राजनीति व्याख्या गर्न नसक्ने भएको छु। नेपालको राजनीतिले राजनीतिको परिभाषा र सिद्बान्त बदलिदिन्छ भन्‍ने भइसकेको छ।

आफ्ना समकालीनहरूलाई राजनीतिमा देख्दा तपाईंलाई चाहिँ राजनीति गर्न मन लागेन?

समकालीन साथीहरू मुख्य राजनीतिक दलका शीर्ष स्थान र पद सम्हालेर बसेका छन्। मेरो पारिवारिक वातावरण राजनीतिक नै थियो। विद्यार्थी समयमा राजनीति पनि गरेको थिएँ। राजनीति गर्ने मानिसले कुनैकुनै समयमा आन्दोलनमा सहभागी हुनैपर्छ। नेपालमा त्यहीँ भएको छ। विद्यार्थीकालीन राजनीतिमा नेतृत्व सम्हालेर बसेको मानिस हुँ।

आन्दोलनको क्रममा एकदिन प्रहरी हिरासतमा बसेको थिएँ। केही दिनको जेल बसाइले मेरो राजनीतिक जीवन सदाको लागि पूर्णविराम लाग्यो। नेपालमा जेलमा बसेका केही व्यक्ती राजनीतिमा सफल भएका छन। मलाई भने जेलको बसाइले राजनीतिदेखि टाढा बनाइदियो।

अहिलेका मानिस कुनै न कुनै राजनीतिक दलमा आबद्ब छन् नि?

राजनीति मुलुक सञ्चालन गर्ने सबैभन्दा राम्रो चाबी हो। राजनीति गर्नेले राम्रो सेवा र नेतृत्व दिनुपर्ने हो। लोभ लालसा भएकाहरू बढी भएकोले पनि यस्तो हुन सक्छ। नेतृत्वले कार्यकर्तालाई त्यागको भावना सिकाएका छैनन्। पार्टी बलियो बनाउने ध्यानमा छन। जनता बलियो बनाउने ध्यानमा नभएकोले यस्तो भएको हुन सक्छ। अशिक्षित र आर्थिक क्षेत्रमा आँखा लगाउने भएका व्यक्ति हुनुले पनि यस्तो भएको हो।

राजनीतिक दलका नेतृत्वहरू किन भ्रष्टचारमा मुछिन्छन्?

शिक्षाको कमी र सामान्य घर व्यवहार चलाउन सक्ने आर्थिक हैसियत नभएका नेताहरू भएकोले पनि यस्ता कार्यमा संलग्‍न हुन्छन्। क्षमता नभएका र अभिवृद्बि गर्न नचाहेका नेताहरू भएकोले पनि यस्तो घटनामा सरिक भएका छन्। कार्यकर्ता हुँदाको समयमा अधिक मात्रामा खर्च गर्छन्। पछि त्यही लागत उठाउनको लागि पनि सक्रिय हुन्छन्। नेपालमा सिद्बान्तको राजनीति नगर्नेहरू बढी छन् त्यसैले पनि यस्तो भएको हो। यो मुलुकमा थोरै अनुशासित भएका व्यक्तिहरू भएकोले नेपालको राजनीतिक दलको अस्तित्व छ।

अर्थशास्त्री भएको नाताले नेपालको अर्थ व्यवस्था कस्तो देख्‍नुहुन्छ?

नेपालको अर्थ व्यवस्था कसरी टिकेको छ त्यो अचम्मको जादु छ। केही जनताले राजश्व तिरेका छन्। केहीले तिरेका छैनन्। नेपालको वास्तविक अर्थतन्त्र ढुलमुले छ। दिगो नीति र योजना नभएको अर्थ नीतिले नेपाललाई अलमल्लमा परेको छ। दीर्घकालीन योजना ल्याउन सकेका छैनन्। विश्व अर्थ व्यवस्था टाट पल्टने अवस्थामा पुगेको छ। अरू देशले त्यसको प्रगति तीन वर्षमा गर्छन् भने नेपालले १० वर्षमा पनि गर्न सक्दैनन्।

खासमा अर्थतन्त्र के ले टिकेको रहेछ?

थोरै आशा गर्ने ठाउँ कृषिमा छ। नेपालको जलवायु अनुसारको कृषि प्रणाली छ। तर यसपटक राम्रो उत्पादन भएको छैन। वैदेशिक रेमिटयान्सबाट पनि चलेको छ। पाँचवटा मुलुकबाट आएको रेमिटयान्सले मुलुक चलेको छ। यदि पाँचवटा मुलुकमा केही भयो वैकल्पिक व्यवस्था खोजी गर्न सरकारले कुनै कदम चालेको छैन।

नेपालमा राजनीतिक आन्दोलन धेरै भयो। तर, पनि अर्थ व्यवस्था सुध्रिन नसक्नुको  कारण के होला?

मुख्य कुरा अर्थलाई प्राथमिकतामा नराखी राजनीतिलाई  राखेर यस्तो भएको हो। प्राकृतिक ढंगले नेपालको अर्थतन्त्र टिकेको छ। त्यो भनेको दैवीशक्ति वा नाटकीय हो। जुन कुरा नेपालमा आवश्यक छ त्यसैलाई हतियार बनाएर राजनीतिक आन्दोलन गरेका छन्। उद्योग सञ्चालन छैनन् भएका पनि सबै बन्द छन्। छिमेकी मुलुकसँग आर्थिक व्यवस्था सुधार्नको लागि पहल छैन। खुला सीमाको प्रयोग गरिएन तर नेपालमा राजनीतिक अभिष्ठ पूरा गर्नको लागि आन्दोलन भए।

वस्तु आयात र निर्यातमा प्रयोग गर्न सकिन्थ्यो। अर्को कुरा जलस्रोतको उपयोग गर्न सकिएन। राष्ट्रिय महत्वका विषयलाई सरकारले कहिले पनि महत्वका साथ लिएर काम गर्न सकेन त्यसैले पनि नेपालको अर्थ व्यवस्था खस्केको हो। ऊर्जा क्षेत्रमा काम हुन सकेको छैन विस्तारै पाइला चल्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.