सीमा बन्द हुने आधिकारिक जानकारी छैन : भारतीय एसएसबी

|

भद्रपुर : विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिरहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि छिमेकी राष्ट्र भारतसँगै झापाको काँकडभिट्टा, भद्रपुर, केचना, कुमरखोद र गौरीगञ्ज नाकामा उच्च सतर्कता अपनाइएको छ।

झापासँग जोडिएको ती नाकाहरूमा भारतबाट नेपाल प्रवेश गर्ने दुवै देशका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कोरोना भाइरससम्बन्धी सचेतना दिइरहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

नेपालमा मात्र नभई झापाका यी नाकासँग जोडिएको भारतको पश्चिम बङ्गालको पानीटंकी, गलगलिया, विहारको कादोगाँउ, डिगलबैंक र बैरिया नाकामा पनि भारतीय पक्षले नागरिकको स्वास्थ्य परीक्षण गर्दै कोरोना भाइरससम्बन्धी जनचेतना दिइरहेको जनाइएको छ।

काँकडभिट्टा र भद्रपुर नाकामा राखिएको हेल्थ डेस्कमा बसेका स्वास्थ्यकर्मीले भारतबाट नेपाल आउने नागरिकको ज्वरो नाप्ने ‘थर्मल गन’ प्रयोग गरी स्वास्थ्य जाँच गरिरहेका छन्।

काँकडभिट्टा नाकामा नेपाल भित्रिने नागरिक ठूलो संख्यामा भित्रिने गरेको स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीसँग एउटा मात्र थर्मल गन रहेकोले भीड व्यवस्थापनमा समस्या परेको छ।

पानीट्यांकी नाकाबाट भित्रिने नागरिकहरूले लाइनमा बसेर स्वास्थ्य जाँच गरिरहेका छन्। जाँचको क्रममा उच्च ज्वरो देखिएका भारतीय नागरिकलाई काँकडभिट्टाबाटै फिर्तासमेत गराउन थालिएको छ। यता भद्रपुरमा पनि त्यस्तै समस्या देखिएको छ। भद्रपुरमा पनि लाइनमा बसाएर एउटा थर्मल गन प्रयोग गरी स्वास्थ्य जाँच गरिँदैछ।

भद्रपुरसँग जोडिएको विहारको गलगलिया नाकामा एसएसबीसँगै बसेका स्वास्थ्यकर्मीले थर्मल गन प्रयोग गरेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। गलगलिया जाने पश्चिम बङ्गालतर्फ एसएसबी पोस्टमा चाहिँ बङ्गाल प्रहरीसहितको स्वास्थ्यकर्मी टोलीले थर्मल गन प्रयोग नगरी सचेतना मात्र दिइरहेको छ।

सीमा बन्द हुने आधिकारिक जानकारी छैन : भारतीय एसएसबी

कोरोना भाइरसका कारण छिमेकी राष्ट्र भारतले आइतबार मध्यरात १२ बजेदेखि नेपाल र भुटानको सीमा नाका बन्द गर्ने समाचार बाहिरिएपछि जनमासमा नाका ठप्प हुने हल्ला फैलिएको छ।

आइतबार रातीदेखि झापाको सबै सीमा नाका बन्द हुने हल्ला फैलिएपछि थाहाकर्मीसहितको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीसहितको टोली शनिवार दिउँसो भारतीय एसएसबीलाई बुझ्न गलगलिया पुगेका थिए।

एसएसबी ४१ बटालियन भातगाँउका कमान्डर अञ्जली राउतले भनिन्, ‘सीमा नाका बन्द गर्ने विषयमा हेड क्वाटर रानीडाँगाबाट कुनै आधिकारिक जानकारी आएको छैन।’

नाका बन्द गर्नु अघि नै यस्तो जानकारी आइसकेको हुनु पर्ने बताउँदै उनीले भनिन् ‘आधिकारिक जानकारी आएपछि हामीले नेपालतर्फको सुरक्षाकर्मीसँग तत्काल सहकार्य गरिहाल्छौँ।’

उता गलगलिया बजार जाने पश्चिम बङ्गाल तर्फको सडक खण्डमा कोरोना भाइरसकै लागि दुई दिनदेखि खटिएका खोरीबारी थानाका पुलिसले नेपालबाट भारतीय बजार किनमेल गर्ने जाने नागरिकलाई रोकेर आइतबारदेखि सीमा नाका बन्द हुने भ्रम फैलाइरहेको स्थानीय बताउँछन्।

‘विहारतर्फ जाँदा कसैले यस्तो बोलेको छैन,’ कुमार सुब्बाले भने, ‘तर बङ्गलातर्फको बाटो जाँदा पुलिसले रोकेर नाका बन्द हुन्छ, र भोलिदेखि नआउनु भनिरहेको छ।’

यता प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार आइतबारदेखि झापाको सीमा नाका बन्द हुने विषयमा कुनै लिखित तथा मौखिक जानकारी नआएको प्रस्टाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.