|
फाइल तस्बिर

पर्सा : पेट्रोलियम पदार्थ बोकेर भारतको बरौनीबाट नेपालतर्फ आएका ६९ वटा ट्यांकर नेपाल-भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी) को भारतीय यार्डबाट छुटेका छन्। इण्डियन आयल कर्पोरेशन (आइओसी) ले भारततर्फको आइसिपीमा खटाएका मानिसले अनाधिकृत ढंगले ढुवानीकर्तासँग रकम असुल्न थालेपछि ६९ वटा पेट्रोलिय पदार्थ बोकेका ट्यांकर दुई दिनदेखि त्यहि रोकिएका थिए।

नेपाल आयल निगम वीरगन्ज शाखाका प्रमुख रामप्रसाद न्यौपानेको भरदिनको प्रयासपछि रोकिएका सबै ट्याँकर शनिबार छुटेका हुन्। यो पछिका ट्यांकर भने नेपाल आयल निगम अमलेखगञ्ज डिपोमा आइतबार नेपालका पेट्रोलियम ढुवानी कर्ता र भारतको काउन्टर पार्ट आइओसी दुवै पक्षसँग कुरा गरी भारतीय भूमिमा हुने समस्या हटाउने आश्वासनपछि सबै ट्यांकर छुटेको नेपाल आयल निगम वीरगन्ज शाखाका प्रमुख न्यौपानेले थाहाखबरलाई बताए।

आइओसीका प्रतिनीधिले भन्सार पास गराउँदा अनाधिकृत रकम लिन थालेपछि नेपाली ढुवानीकर्ताहरू आक्रोशित भएर त्यो खारेजीको मागमा उत्रिएका थिए। उनीहरूलाई आइतबार बरौनीमा आइओसीसँग नै कुरा गरी समस्या निरुपण गर्ने आश्वासन दिएपछि शनिबारको लागि ट्यांकर आयल निगमकै अगुवाइमा छुटाइएको कार्यालय प्रमुख न्यौपानेको तर्क छ।   

आइओसीले तोकेको मानिसले ट्यांकर पास गराउँदा कुनै गैर ढंगले रकम लिइराख्न नपर्ने आइओसीले आफ्नो प्रतिनिधिलाई दिएको पत्रमा उल्लेख गरिएको व्यवसायीहरूले बताए। तर, अनाधिकृत रूपमा प्रतिट्यांकर १ हजार रकम लिन थालेपछि नेपाली ढुवानीकर्ताले आइओसी र नेपाल आयल निगमका बीचमा व्यवसायीको समस्या समाधान गरिदिन आग्रह गरिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ पर्साका उपाध्यक्ष विनोद मानन्धरले बताए।

आइओसीको तर्फबाट भारततर्फका आइसिपीमा खटेका भुषन प्रसादले अति गरेपछि शुक्रबार र शनिबारका ट्यांकर छुटाउन नसकिएको संघका पर्सा उपाध्यक्ष मानन्धरले बताए।  

के कारणले अतिरिक्त रकम लिएको हो? भनी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोज दास, मध्यमाञ्चल पेट्रोलियम युवानी व्यवसायी संघ हेटौडाका अध्यक्ष दीपक शिवाकोटी र नेपाल आयल निगमको शाखा कार्यालय वीरगन्जका प्रमुख रामप्रसाद न्यौपानेसहितको टोली आइसिपीमा पुगी कुरा गर्दा आइओसीका प्रतिनीधिले उल्टै अभद्र व्यवहार गरेको व्यवसायीको दावी छ।

'आफूहरूका तर्फबाट केही नचलेपछि नेपाल आयल निगमलाई नै हाम्रो चलानीलगायतका कागज पत्र बुझाएर हिँडेका थियौं' एक ढुवानी व्यवसायीले भने 'चाँडो गाडी पास गराइदिए पछि खुसीले चालक तथा सहचालकले सय पचास दिनु अलग कुरा हो। तर मलाई यति नै चाहिन्छ भनी जबरजस्ती रकम लिनु ठीक होइन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.