नीतिगत अलमलकै बीचमा दाता बाहिरिँदै

|

दमक : झापाको दमक–३ मा निर्मित सामुदायिक विद्यालयका दुई भवन संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ।

झण्डै दुई दशक लामो सहायताको प्रक्रियाबाट अलग हुँदै गरेको उच्चायुक्तको कार्यालयले यी भवन हस्तान्तरण गरेसँगै सहायता कटौती चाँडै बन्द हुने संकेत गरेको छ। यसअघि नै कार्यालयले सन् २०२० देखि नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई सहायता बन्द गर्ने जनाइसकेको थियो।

त्यसैक्रममा आफ्नो जिम्मेवारीको आखिरी सहयोगका रुपमा दुईवटा भवन दुई विद्यालयले पाएका हुन्। चुलाचुली आधारभूत विद्यालयले ६८ लाख ८१ हजार तथा ढुकुरपानी माविले १ करोड २४ लाख रुपैयाँ लागतमा बनेका भवन पाए। तर उनीहरुलाई अब शिविरमा बाँकी रहेका सबै शरणार्थी समुदायका बालबालिका पढाउनुपर्ने जिम्मेवारी आएको छ।

भवनले मात्रै पुग्दैन

दमक–३ ढुकुरपानी मावि र सोही वडाको बेलडाँगीस्थित चुलाचुली आधारभूत विद्यालयले भवन पाएका हुन्। एक/एक भवन र शौचालय पाएका यी विद्यालयले अब शिविरमा बाँकी रहेका सबै भुटानी शरणार्थी विद्यार्थीहरूलाई अध्ययन गराउनु पर्दछ।

शरणार्थी शिविरका विद्यार्थीहरूलाई विगतदेखि नै अध्ययन गराउँदै आएको ढुकुरपानी माविका प्रअ कृष्णप्रसाद भण्डारी भन्छन्, ‘हामीले विगतमा नीतिगत अस्पष्टता हुँदाहुँदै पनि शरणार्थी  अभिभावकका विद्यार्थीलाई पढाएकै हौं, त्यो हाम्रो एउटा मानवीय जिम्मेवारी थियो तर अब नीतिगत रुपमानै दाताहरु बाहिरिँदैछन् भने हामीलाई एक/एक भवन थप दिएर मात्रै हुँदैन, दिगो समाधान खोजिनुपर्छ।’

संघीय सरकारले कुनै निर्णय नगर्ने र प्रष्ट कानुनसमेत नआएको समयमा अब ती विद्यार्थीहरुको संरक्षक स्थानीय सरकार बन्नुपर्ने भएको छ। तर, स्थानीय सरकार पनि संघीय सरकारको बाटो पर्खिएर बसेको छ।

शरणार्थी समुदायका सबै विद्यार्थीहरु स्थानीय विद्यालयमा पठनपाठन गराउन पहिलो समस्या शिक्षक दरबन्दीको रहेको बताउँछिन्, नगरपालिका उपप्रमुख तथा शिक्षा समिति संयोजक गीता अधिकारी। उनले भनिन्, ‘हामीले कम्तीमा १९ जना थप शिक्षक दरबन्दी मागेका छौं तर यसबारे कुनै निर्णय भएको छैन।’

नगरप्रमुख रोमनाथ ओलीले मानवीयताका आधारमा शरणार्थी समुदायका बालकालिकाहरूलाई  शिक्षाको अवसरबाट वञ्चित नगराइने बताए। तर, शिक्षक दरबन्दी, पूर्वाधार तथा शरणार्थी समस्याको दिगो समाधान स्थानीय सरकारको मात्र निर्णयका आधारमा हुन नसक्ने उनको भनाइ छ।

अत्यासमा शरणार्थी

तेस्रो देश पुनर्स्थापनासँगै ठूलो संख्यामा भुटानी शरणार्थीहरु विभिन्न सात मुलुक पुगे। कुनै बेला १ लाख ३० हजारको संख्यामा रहेका भुटानी शरणार्थीमध्ये अहिले ६ हजार ३ सय शरणार्थी मात्र झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शिविरमा रहेका छन्।

सन् १९९२ देखि सहयोग गर्दै आएका दाताहरु १८ वर्ष पछि बाहिरिँदै गर्दा शरणार्थीहरुमा अत्यासको अवस्था छ।

भुटानी शरणार्थी शिविर बेलडाँगीका शिविर सचिव कृष्ण लिङ्देन भन्छन्, ‘भुटानले लखेटेका हामीलाई नेपालले झण्डै २० वर्ष संरक्षण गर्‍यो तर अब हामी शरणार्थीको जीवन र भविष्‍य के हुने कुनै निश्चित छैन।’

शरणार्थी बालबालिकाहरुले विद्यालय पढ्न पाउने अवस्था बने पनि शिविरका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, आफन्तविहीन शरणार्थीहरूको अवस्था भने झनै दयनीय रहेको उनी बताउँछन्।

दाता भन्छन् : माया मार्दैनौं

उच्चायुक्त नेपाल कार्यालयकी प्रमुख क्यारोलिन स्पोनित वर्माले शरणार्थीहरुका लागि मुख्य सहायता कटौती गरिए पनि नेपाल सरकारमार्फत अन्य प्रकारका सहयोग गर्न सकिने विकल्प खुला रहेको बताउँछिन्। तर, विद्यालय हस्तान्तरणका क्रममा उनले अब शरणार्थीहरूले कस्तो सहायता पाउँछन् भनेर खुलाइनन्। बरु उनले विद्यालयहरूले विना भेदभाव पढाउनेछन् भन्ने आशा प्रकट गरिन्।

शरणार्थीहरूलाई शैक्षिक सहायता प्रदान गर्दै आएको कारिटास नेपाल दमकका प्रवन्धक देवेन्द्र पोखरेलले भने शरणार्थी शिविर तथा प्रभावित क्षेत्रमा पनि कारिटासले सहयोग गर्दै आएको बताएका छन्।

तिनै कार्यक्रममध्ये उपयुक्त कुनै कार्यक्रम शिविरका लागि पनि ल्याउन सकिने उनको भनाइ छ। तर, यसको आवश्यक नीति तथा निर्देशन भने नेपाल सरकारबाट आउन जरुरी रहेको उनको भनाइ छ।

यसरी बन्द भए विद्यालय

सन् २००७ मा भुटानी शरणार्थीको तेस्रो देश पुनर्स्थापना सुरु हुनुअघि झापा मोरङमा सात शिविर थिए। तीनवटा झापा दमकको बलेडाँगीमा बाँकी खुदुनावारी, टिमाई र गोलधाप र एउटा मोरङको पथरीमा।

यीमध्ये बेलडाँगीमा ४, खुदुनावारीमा २ र अरूमा १/१ गरी ८ ओटा मुख्य विद्यालय थिए। ती मुख्य विद्यालयमार्फत ३७ वटा इकाइका रुपमा रहेका शैक्षिक संस्थामा विद्यार्थी अध्ययनरत थिए।

ती विद्यालयमा सन् २००३ मा ४० हजार २ सय ६२ विद्यार्थी भए पनि पुनर्स्‍थापनाको प्रक्रिया थालनीसम्म आइपुग्दा ३० हजारमा झर्‍यो। सन् १९९२ देखि भुटानी शरणार्थीहरूलाई शैक्षिक सहायता उपलब्‍ध गराउँदै आएको कारीटास नेपाल, दमक कार्यालयका अनुसार पुनर्स्थापना प्रक्रियाले एक लाखभन्दा बढी शरणार्थी विभिन्न मुलुक पुगेपछि सहायतामा कटौती भयो।

बाँकी रहे, बेलडाँगीका त्रिरत्न सेकेण्डरी, पञ्चावटी र पथरी शनिश्चरेको न्यु होराइजन एकेडेमी। न्यु होराइजन पनि २०७५ सम्म सञ्चालन यसमा गत शैक्षिक शत्रको अन्त्य सम्ममा कक्षा ४ सम्ममा ११८ विद्यार्थी थिए।

यो विद्यालय बन्द भएपछि पथरीशनिश्चरे शिविर विद्यालयविहीन बन्यो। विद्यार्थीहरू तितरवितर भए, नजिककैका विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा भर्ना भए।

बेलडाँगीको त्रिरत्नमा सन् २०१८ को मार्च (शैक्षिक शत्र अन्त्यको महिना, चैत) मा बन्द हुँदा कक्षा ९ मा ५६ जना विद्यार्थी थिए। बाँकी कक्षा त्यसअघि नै क्रमिक कटौती हुँदै आएका थिए। त्यस वर्ष कक्षा १० को परीक्षापछि विद्यालय बन्द गरिएको थियो।

ती विद्यार्थी दमक-३ ढुकुरपानी माविमा पुगे। १२ वर्षअघि रहेका ३७ वटा शैक्षिक संस्थामध्ये अहिले बेलडाँगी शिविरको पञ्चावटी विद्यालय मात्र बाँकी रहेको छ। यस विद्यालयमा कक्षा नर्सरी देखि ८ कक्षा सम्ममा अहिले ७९७ विद्यार्थी अध्ययनरत छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.